0
वासुदेव पौडेल
विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेग लेखनाथ नगरपालिका–१८ (साविक भरतपोखरी–६) स्थित कुर्लिङ र यस आसपासको क्षेत्र धार्मिक पर्यटन र पदयात्राको पर्याप्त सम्भावना बोकेर पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ । प्राचीनकालमा ताल रहेको र तालकोबीचमा बराहको मन्दिर रहेको जनविश्वासका आधारमा धार्मिकरूपले यस क्षेत्रलाई पवित्र तीर्थस्थलका रूपमा लिइन्छ । वर्षभर नै पानी बग्ने सुरौदी खोलाको किनारको केही उच्चभागमा रहेको यो स्थल वरपर प्राचीनकालमा ताल रहेको र पछि ताल फुटेर समथर भूभाग बनेको जनविश्वास कायमै रहेको स्थानीयवासी कमलराज चापागाइँले बताए । बुढापाकाको भनाइअनुसार कुर्लिङको डाँडा वरपर तालले ढाकिएको उल्लेख गर्दै उहाँले कालान्तरमा यहाँको ताल फुट्न गई वरपरको भूभाग समथर भूमिमा परिणत भएको हो  वरपरको भूभागमा खेतीका लागि उर्वर माटो भएका कारण पनि ताल रहेको अनुमान गर्न सकिने उनको भनाइ छ । जनविश्वासअनुसार यहाँस्थित बराहको पोखराको तालबराही र तनहँु ढोरफिर्दिस्थित ढोरबराहीको सम्बन्ध रहेको छ । यहाँस्थित बराहको तालबराही र ढोरबराही दिदीबहिनीको सम्बन्ध रहेको र ताल फुटेसँगै यहीँबाट तालबराही र ढोरबराही छुट्टिएर गएको विश्वासका आधारमा यो स्थललाई महत्वपूर्ण धार्मिक तीर्थस्थल मान्ने गरिएको चापागाइँको भनाइ छ । यहाँको धार्मिक विश्वासलाई कायमै राख्न स्थानीयवासीको सक्रियतामा हाल बराहको मन्दिर निर्माण गरिएको छ । स्थानीयवासी रमेश महतका अनुसार विगत लामो समयदेखि नै यहाँ पूजाआजा गर्ने गरिएकोमा गत वर्षदेखि चैते दशैंमा बलिसहित पूजा गर्न सुरु गरिएको छ ।

यहाँस्थित सुरौदी खोलाका कारण प्राकृतिक जलाशयमा पौडीको मज्जा लिनुका साथै वरपरको वन जङ्गलका कारण वन्यजन्तु र चराचरको अवलोकनका लागि पनि यो स्थल पर्यटकीय रूपमा पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए । व्यावसायिक कृषिको पर्याप्त सम्भावना रहेको यो क्षेत्रमा बाटो र सुरौदी खोलामा पक्की पुल निर्माण गर्नसके व्यावसायिक कृषिकै माध्यमबाट यहाँ धेरै व्यक्ति स्वरोजगार बन्नसक्ने सम्भावना रहेको महतले बताए ।

हिउँदको समयमा तनहुँको दुलेगाँैंडाबाट घारी बगर, चवादी, धामिकुना, वर्षा, कुर्लिङ हुँदै स्याङ्जाको प्यूरी दोभानसम्म बस सञ्चालन हुने भएका कारण यहाँ उत्पादित वस्तुले सहजरूपमा बजार पाएका छन् । वर्षातको समयमा भने सुरौदी खोला बढ्ने र पुलको अभावका कारण उत्पादित वस्तु बजार पु¥याउन असहज भएको स्थानीयवासीको दुःखेसो छ । सुरौदी खोला विभिन्न समयमा स्थान परिवर्तन गरी बग्ने भएका कारण यस आसपासको धेरै खेतीयोग्य भूभाग बगरमा परिणत भएको स्थानीयवासी गुरूप्रसाद पौडेल बताउछन् । खोलालाई एउटै मार्गमा हिँडाउन नसक्दा धेरै उब्जाउयोग्य जमिन यहाँका स्थानीयवासीले गुमाउनुपरेको उहाँले बताए । सुरौदी खोलामा पक्की पुल निर्माण गरी खोलालाई एउटै मार्गमा बग्ने गरी व्यवस्थित गराउनसके वरपरको उब्जाउ जमिन अधिकतम उपयोग गर्न सकिने पौडेलको भनाइ छ । कुर्लिङ बराहको पूर्व तर्फ छहरा, उत्तरमा पहरे, दराङसिङ, दक्षिणमा मुडेपानी र पश्चिममा बगुवा पर्दछ । यहाँ धान, मकै, गहुँ, मुसुरो, गहुँ, तोरीलगायत तरकारीजन्य वस्तु राम्रो उत्पादन हुन्छ । पिंँडालु, आलुलगायतका यहाँ उत्पादन हुने वस्तुको बजारमा निकै माग हुने गरेको छ । बाह्रै महिना पानी बग्ने सुरौदी खोला माछापालन व्यवसायका लागि पनि महत्वपूर्णस्थल हो । वरिपरि जङ्गलका कारण पशुपालन पनि यहाँको राम्रो सम्भावना बोकेको व्यवसाय हो । प्रचारप्रसारको अभाव तथा सडकजन्य पूर्वाधारको विकास हुन नसकेकै कारण धार्मिक पर्यटन, व्यावसायिक कृषि, जल, पर्यटन, प्राकृतिक दृश्यावलोकनलगायतका सम्भावना बोकेको योस्थल ओझेलमा परेको स्थानीयवासीको गुनासो छ । पदयात्राको महत्वपूर्ण सम्भावना बोकेको यस क्षेत्रसम्म भरतपोखरीको चिरगादीबाट बरमाझथर, लाङ्दी, छहरा हुँदै कुर्लिङलाई पदमार्गबाट जोड्न सकिन्छ । त्यस्तै, गगनगौँडाबाट आपुभञ्ज्याङ, मनियलडाँडा, बरपौवा, चवादी हँुदै कुर्लिङसम्मको एकदिने पदमार्गको पनि विकास गर्न सकिन्छ । तनहुूँको दुलेगौडाबाट घारी, धामिकुना, चवादी, वर्षा हँुदै कुर्लिङ र त्यहाँबाट स्याङजाको प्यूरी दोभानसम्म पनि पदमार्गको विकास तथा विस्तार गर्न सकिने सम्भावना रहेको छ । स्थानीयवासी समाजसेवी तोकनाथ पौडेलका अनुसार ‘सुरौदी खोलामा पक्की पुल बन्न नसक्दा कुर्लिङलगायतका स्थान लामो समयदेखि ओझेलमा पर्दै आएका हुन् ।’

देशका विभिन्न स्थानका झरना तथा छहराले चर्चा पाएपनि यहाँस्थित मनमोहक छहरा अझैसम्म पनि ओझेलमा परेको छ । स्वदेशी तथा विदेशी पर्यटकका लागि दर्शनीय यहाँको छहरालाई राम्रो पदमार्ग र बाटो निर्माण गरी एउटा महत्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा स्थापित गर्न सकिने उनले बताए । धाार्मिक पर्यटन, पदयात्रा, जलबिहार र वन्यजन्तु तथा चराचरको अवलोकनका लागि महत्वपूर्ण गन्तव्य हुनसक्ने कुर्लिङ बराह र यस आसपासको क्षेत्रको विकासका लागि सरकारी पक्षको चासो बढ्नुपर्ने उनको भनाइ छ । रासस

Post a Comment

 
Top