0
देवराज विश्वकर्मा
नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवा पार्टी नेपाली कांग्रेस यतिबेला आफ्नो तेह्रौं महाधिवेशनको सिलसिलामा छ । नेपाली कांग्रेसको इतिहास निकै लामो छ । त्यो इतिहासको विरासत जोगाउने या गुमाउने दोसाँधमा नेपाली कांग्रेस छ । नेपालको लोकतन्त्रको इतिहास आफैमा धेरै लामो छैन । जहानियाँ राणा शासनको अन्त्यका लागि लडिएको लडाइ‘ नै नेपालको प्रजातान्त्रिक वा लोकतान्त्रिक आन्दोलनको शुरुवात हो । नेपाली कांग्रेसको इतिहास मूल्यांकनको कसीमा घोटिनुपर्ने भइसकेको छ । उसले जस अपजसको भागिदार बन्नुपर्ने भइसकेको छ । नेपाली कांग्रेसले के भन्यो र के गर्दैछ भनेर जाँच्नुपर्ने अवस्था बनिसकेको छ ।
एकीकृत नेपालको व्यवस्थित शासन व्यवस्थाको शुरुवात नहुँदै राज्यको बागडोर आफ्नो हातमा लिएको शाहवंशीय राजतन्त्रको आन्तरिक खटपटका कारणले राणाहरुले राज्यसत्ता आफ्नो हातमा लिए र १०४ वर्षसम्म एकछत्र शासन गरे । त्यो शासन व्यवस्था जनताको हितमा भएन भनेर भारतमा अंग्रेज हटाओ आन्दोलनबाट प्रभावित बनेका युवाहरुको अगुवाइमा नेपाली कांग्रेस स्थापना गरियो र कांग्रेसको अगुवाइमा नेपालमा हतियारबन्द आन्दोलन शुरु भयो । राज्यमा एउटा परिवारको हालीमुहाली भएको, जनताले अधिकार नपाएको, अध्ययन गर्ने, सभासंगठन गर्ने, बिरोध गर्ने अवस्था नभएको, चुन्ने चुनिने अधिकार नभएको, जनताको जिउधनको सुरक्षा नभएको, जनताको उन्नति प्रगतिको ढोका चौतर्फी रुपमा बन्द भएको कारणले आन्दोलनको शुरुवात भएको थियो, कांग्रेसको अगुवाइमा । त्यो समाज साँच्चै बन्द थियो । जनताले दुःख गर्थे, दरवारमा बसेर राणाहरुले मोजमस्ती गर्थे । त्यस्तो समाज व्यवस्थाको अन्त्य अपरिहार्य थियो र नेपाली कांग्रेसले त्यो अभियानको अगुवाइ ग¥यो । देशमा बहुदलीय प्रजातन्त्र बहाली हुनुपर्दछ । दलीय व्यवस्थाले मात्र जनताको भावना समेट्न सक्छ । विभिन्न वर्ग, समुदाय, पेशा, जाति, धर्म, क्षेत्र, लिंग आदिको भावनाको प्रतिनिधित्व दलीय व्यवस्थाले मात्र गर्न सक्छ भन्ने अभियानको थालनीकर्ताका हैसियतले नेपाली कांग्रेसले २००७ सालको ऐतिहासिक जनक्रान्तिको सफलताको बिन्दुसम्म पुर्रुयाउने काम गर्रुयो ।
नेपाली समाज निकै पछौटे अवस्थामा छ र सामन्ती समाज व्यवस्थाको अन्त्य त्यसको प्रमुख चुनौती थियो । नेपाली कांग्रेसले तत्कालीन अवस्थामा भनेको थियो– ‘जग्गा कसको जोत्नेको घर कसको पोत्नेको’, जात भनेको महिला र पुरुष मात्र हो भनेर नेपाली कांग्रेसले नारा दिएको थियो । राणाहरुले बिर्ता दिन्थे आफ्ना आसेपासेहरुलाई । त्यो बिर्ताको अन्त्यको शंखघोष थियो राणाबिरुद्धको आन्दोलन । त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्रुयो । सम्वत् १९९७ सालपछि नेपालका चार सपूतहरुले राणाहरुको शासन अन्त्यका लागि आफ्नो जीवन आहुति दिए । त्यही रगतको आक्रोशमा देश आन्दोलित बन्यो । १०४ वर्षसम्मको एकछत्र शासन व्यवस्थाको अन्त्य भयो । नागरिक अधिकारको व्यवस्था पनि भयो र शैक्षिक जागरणको महाअभियान २००७ सालको क्रान्तिले थालनी ग¥यो ।
नेपाली कांग्रेसले राणा शासन त ढाल्यो, त्यसको स्थानमा अर्को त्यस्तै प्रकारको शासन व्यवस्था जारी नै रह्यो । सामन्ती वर्ग, अभिजात वर्गको हालीमुहाली जारी नै रह्यो । नेपाली कांग्रेसले नेपाली समाजको आमूल रुपान्तरणका लागि अघि सारेका उसका आदर्शप्रति ऊ कति सचेत छ ? यो उसले आफ्ना मान्यता बिर्सिसक्यो नेपाली कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो आदर्श ठान्छ । नेपाली कांग्रेसको सिद्धान्त यिनै तीन चिज हुन् । ती आदर्शलाई मियो मानेर नेपाली समाजको समृद्धि हासिल गर्नु हो । २००७ सालपछि २०१७ सालसम्म २०४६ सालदेखि २०६२र०६३ सम्म कुनै न कुनै रुपमा नेपाली कांग्रेसको नेतृत्व देशले पाएको छ । उसको आदर्श अनुसारका व्यवहार भए कि भएनन् । यो विमर्श आज हुनु आवश्यक छ ।
२००७ सालपछि नेपाली कांग्रेसले सत्ता सम्हाल्ने अवसर पाएपछि नै देशको राष्ट्रियता सबैभन्दा कमजोर बन्यो । कोशी–गण्डकीजस्ता सम्झौता यसै अवधिमा भए र यसै अवधिमा छिमेकी भारतले सबैभन्दा धेरै हस्तक्षेप नेपाली राष्ट्रियतामाथि ग¥यो । जब राष्ट्रको सार्वभौमिकता, अखण्डता संरक्षित हुँदैन तब राष्ट्रियता कमजोर हुन्छ । नेपाली कांग्रेसले नेपाल राष्ट्रको राष्ट्रियता बलियो र समृद्ध बनाउने विषयमा कस्तो भूमिका निर्वाह गर्रुयो ? नेपाली कांग्रेसले राष्ट्रियता बलियो बनाउनुपर्नेमा किन अनेक खालका सन्धि सम्झौता गर्दै कमजोर बनाउने धृष्टता ग¥यो ? कोशी, गण्डकी, महाकालीका साथै अनेकौं असमान सन्धिसम्झौता कांग्रेसको नेतृत्वमा गरियो र ती सम्झौताको कारणले नेपालको राष्ट्रियता निकै कमजोर बन्यो । नीति त्यस्तो हुँदाहुँदै पनि कांग्रेसका नेताहरुको नियत त्यस्तो नहोला तर उनीहरुले गरेको वैदेशिक सम्बन्धका कारणले नेपालको राष्ट्रियता कमजोर बनेको कुराप्रति कांग्रेस किन बेखबर छ ?
अर्को प्रजातन्त्र उसको आदर्श हो । पहिले प्रजातन्त्र भनिन्थ्यो पछि परिवर्तित परिस्थितिमा प्रजातन्त्रको ठाउँमा लोकतन्त्र भनियो । शब्दमा लोकतन्त्र भन्ने तर व्यवहारमा अत्यन्त पिछडिएको अवस्था छ । लोकतन्त्रमा सीमान्तकृत, पछाडि पारिएका जाति वर्गका लागि किन व्यवस्था हुन सकेन, गर्न सकेन । नेपाली कांग्रेसले लोकतन्त्रको सही प्रयोग किन गर्न सकेन ? लोकतन्त्र भनेको बहुमतको शासन व्यवस्था मात्र होइन । बलियाहरुले निर्धाहरुलाई शासन गर्ने व्यवस्था लोकतन्त्र होइन । लोकतन्त्रमा निर्धाहरुलाई विशेष सुविधा दिएर बलिया सरह उभ्याउने कुरा हो । सकारात्मक विभेदमार्फत निर्धाहरुलाई अगाडि ल्याउने कुरा लोकतन्त्रको प्राथमिक दायित्व हो । लोकतन्त्रको साँचो अर्थमा कांग्रेसले आफ्नै आन्तरिक जीवनमा त लागु गर्न सकेन भने उसले समाज व्यवस्थामा लोकतन्त्रको लागु गर्ने त धेरै पर छ । लोकतन्त्रको परिभाषा अझै कांग्रेसले साँच्चै दिनसकेको छैन । नेपालका गरिबहरुलाई, सीमान्तकृत वर्गलाई अगाडि ल्याउने विषयमा कांग्रेसले के–के भूमिका निर्वाह ग¥यो ? के–के सामाजिक सुधारका अभियान सञ्चालन ग¥यो कांग्रेसले ? सामाजिक कुरीति, कुसंस्कार, असमानता, विभेद लगायतका विषयमा कांग्रेसले के–के सुधारका कदम चलायो ? यो विमर्श आज हुन जरुरी छ ।
अर्को आदर्श समाजवाद हो । समाजवाद भनेको वर्ग, जाति र लिंगको आधारमा भेदभाव नगरिने समुन्नत समाज व्यवस्थाको नाम हो । समाजवाद भनेको सीप अनुसारको काम र आवश्यकता अनुसारको माम दिने राज्य व्यवस्थाको नाम हो समाजवाद । समाजवाद भनेको समुन्नत राज्यप्रणाली हो । जहाँ सबै मानिसले राज्यका लागि योगदान दिनुपर्छ । एकले सबैका लागि र सबैले एकका लागि भन्ने व्यवस्थाको नाम हो समाजवाद । समानता यसको गुदी हो । राज्य सबभन्दा प्रभावकारी हुने व्यवस्थाको नाम हो– समाजवाद । अफसोच नेपाली कांग्रेसले आफ्नो आदर्शको उपहास गरेको छ । २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछि सरकारमा पुगेको कांग्रेसले लाखौंलाख जनतालाई रोजगारी दिनुपर्ने, काम र मामको व्यवस्था गर्नुपर्ने, अनेकौं उद्योगधन्दा, कलकारखाना स्थापना गर्नुपर्ने, मित्रराष्ट्रहरुले नेपालको विकासका लागि स्थापना गरिदिएका उद्योग धन्दालाई कौडीको मूल्यमा बेचेर हजारौं जनताको गास खोस्ने काम गरेको छ । निजीकरण गरी देशलाई टाट पल्टाउने अवस्थामा पु¥याएको छ । कांग्रेसकै पालादेखि भ्रष्टाचारलाई संस्थागत गर्ने काम भएको छ ।
नेपाली कांग्रेसले १३औं महाधिवेशनको आयोजना गरिरहँदा उसको छलफल कहिंंकतै नीतिमा भएको देखिन्न । केवल कुन सभापति बन्छ वा बनाउनुपर्छ भन्ने कुराले के कांग्रेसलाई सपार्ला ? यो यक्ष प्रश्न हो । स्वतन्त्र समीक्षकहरुले भनिरहेका छन्– कांग्रेस सिद्धान्त र व्यवहारमा निकै टाढा भएका कारणले मुलुकले यो समस्या भोगिरहेको छ । आशा गरौं यो महाधिवेशनबाट कांग्रेसले आफूलाई सुधार्ने छ या समापनको यात्रा थाल्नेछ रोजाइ उसकै हातमा छ ।



Post a Comment

 
Top