0
विष्णुहरि पौडेल
कास्की लेखनाथका कृषक सूर्य प्रसाद लामिछाने अहिले व्यवसाय प्रवद्र्धनमा जुटेका छन् । विगत लामो समयदेखि मौरीपालन व्यवसाय अंगालेका लामिछाने शुरुमा त वैदेशिक रोजगारका लागि जाने सोंच बनाएका थिए । सँगै घर जोडिएका छिमेकीको घरमा मौरीको मह खाँदै गर्दा उनमा पनि मौरी पाल्ने सोंच आयो । वि.सं. २०६३ सालमा २ घार मौरी किनेर  मैरी पालन व्यवसाय शुरु गरे उनले । लेखनाथको वडा नं. ९ लामास्वाँरामा वि.सं. २०३९ सालमा जन्मिएका थिए लामिछाने । उनको परिवेश हेर्दा वेगनास तालसँगै जोडिएकोले होटल व्यवसाय तिर लाग्नुपर्ने थियो तर उनमा एकाएक मौरी पालन गर्ने इच्छा जागेर आयो । उनी अहिले सफल मौरी व्यवसायी बनेका छन्। मौरी व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि उनको सोंच आधुनिक घार निर्माण तथा पेशालाई व्यवसायिकरण गर्ने तर्फ गयो । अहिले उनीसँग अत्यधुनिक १०० बढी मौरीघारहरु रहेका छन् । मौरीजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनका लागि ५ जनालाई रोजगारी समेत प्रदान गरेका छन् उनले । हाल ७०० बढी घारहरु वार्षिक रुपमा विक्री वितरण हुँदै आएको लामिछाने बताउँछन् । १ वर्षमा ३०÷३५ लाख रुपैयाँको कारोबार गर्दा १२ लाख रुपैंया मुनाफा कमाउन सफल भएको उनी दावी गर्छन् । शुरुमा जग्गा भाडामा लिएर बेगनास ताल वसपार्क नजिकै मौरी पालन गरेका लामिछानेले अहिले जग्गा किनेर आफ्नै जग्गामा मौरी पालन व्यवसाय संचालन गरेका छन् । बाल्यकालमै पिता गुमाएका लामिछानेले अहिले श्रीमती दुई छोरा छोरी र बुढी आमासहित ५ जनाको परिवार सजिलै पाल्न सफल छन् । पत्रकार भेटघाटका क्रममा शरीरभरि मौरी लिएर आङै सिरिङ्ग हुने गरी उपस्थित लामिछानेले मौरी पालन सम्बन्धी तालिम समेत दिन सक्ने भैसकेका छन् । मौरीसँगै रमाउने खेल्ने लामिछाने विषादी रहित वातावरण मौरीका लागि महत्वपूर्ण रहने बताउँछन् । लामिछानेले मौरीलाई सहयोग गर्ने ‘सेडोस्कर्पियन’ नामक परजीवि समेत पालेका छन् । व्यवसाय प्रवद्र्धनका लागि लामिछानेले जर्मन, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, भियतनाम, चीन र भारतका विभिन्न ठाउँमा भ्रमण गरी थप ज्ञान हाँसिल तथा व्यवसायको प्रचार–प्रसार गरी सकेका छन् । मौरीको एकता र सहकार्य हाम्रा नेताले बुझ्न सके देशकै मुहार फेरिने लामिछाने बताउछन् । हाल वेगनास मौरीघार नामको फर्मबाट आफ्नो व्यापार व्यवसायलाई प्रबद्र्धन गर्दै आएका छन् उनले । मौरीलाई नै साथी बनाएका लामिछानेले सबै मौरी आफ्ना कामदार तथा सहयोगी भएको बताउँछन् । उनको अद्भूत कला तथा क्षमता प्रदर्शन गरी विश्व कीर्तिमान नै कायम गर्न सक्ने बताउँछन् छिमेकी त्रिलोचन लामिछाने । शुरुमा परम्परागत मुढेघारबाट शुरु गरेका परिश्रमी उद्यमी लामिछानेले एपिसेरेना जातका मौरीहरु पालेर उदाहरणीय कार्य गरेका छन् । मौरीपालन सम्बन्धमा अहिलेसम्म उनले खासै उल्लेखनीय सहयोग सरकारी तवरबाट पाएका भने छैनन् । आफ्नै मेहेनतले गरेको उनको यो प्रयास कृषि क्षेत्रमा नै उल्लेखनीय छ । सूर्यप्रसाद लामिछाने जस्ता कृषकको हौसला बढाउन सकिएमा समग्र कृषि क्षेत्रमा लाग्नेहरु उत्साहित बन्न सक्छन् ।








Post a Comment

 
Top