0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। मंगलबार ७८ वर्षको उमेरमा महाराजगन्जस्थित आफ्नै निवासमा निधन भएका पूर्वप्रधानमन्त्री कोइरालाको बुधवार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको हो। कोइरालाको पार्थिव शरीरमा उनका भतिजाद्वय अतुल कोइराला र शुधाम्सु कोइरालाले दागबत्ति दिएका हुन्। कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। स्वर्गीय कोइरालाको सम्मानमा नेपाली सेना एक टुकडीले राष्ट्रिय धुनसहित अन्तिम सलामी अर्पण गर्नका साथै १३ तोपको सलामी दिएको थियो। कोइरालाको अन्तिम श्रद्धान्जली दिन विभिन्न दलका नेताहरू आर्यघाट पुगेका थिए। कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिन सभामुख ओनसरी घर्ती मगर, पूर्व प्रधानमन्त्री एवम् एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा नेता लोकेन्द्र वहादुर चन्द, वर्तमान सरकारका उपप्रधानमन्त्रीहरु, मन्त्री, विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधिहरु पशुपति आर्यघाट पुगेका थिए। त्यसअघि दिउँसो सवा दुई बजे दशरथ रङ्गशालाबाट सुरु भएको शवयात्रा  अन्तिम संस्कारका लागि थापाथली, सिंहदरबार, पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइएको थियो। दशरथ रङ्गशालाबाट नेपाली सेनाको लु १ ग १४५ नम्बरको भ्यानमा कोइरालाको पार्थिव शरीरलाई राखी शवयात्रा गराइएको थियो।  शवयात्रामा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिँह र कृष्ण सिटौलागायत पार्टीका नेता तथा कार्यकर्ता, स्व कोइरालाका भाइ अशोक कोइराला, भतिजाद्वय अतुल कोइराला र सुधाम्सु कोइराला, शुभचिन्तक तथा सर्वासाधरणको उल्लेखनीय उपस्थिति रहेको थियो।  मंगलबार राति १२ः५० बजे निधन भएका कोइरालालाई सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। उनको अन्त्येष्टि राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार नै गरिएको छ।



Post a Comment

 
Top