0
गोल्डेन न्यूज संवाददाता
सबै क्षेत्रबाट चर्को दवावपछि पोखराका यातायात ब्यवसायी वीच सहमति भएको छ । स्थानीय प्रशासनको समन्वयमा बिहीवार चार वुँदे सहमति भएपछि नयाँ र पुराना समितिका गाडी निर्वाद चल्ने भएका छन् । नयाँ र पुराना यातायात ब्यवसायी बीच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको समन्वयमा प्रमुख दलका जिल्ला स्थित नेता एबं सर्वपक्षीय छलफलपछि चार वँुदे सहमति भएको हो । सहमति अनुसार पुराना ब्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिने र नयाँ विन्ध्यवासिनी वस ब्यवसायी समितिलाई निर्वाद सवारी सञ्चालन गर्न दिने उल्लेख छ । नयाँ समितिले अहिले सञ्चालन गरिरहेको रुटमा बस चलाउन पाउने र तीन दिन भित्र यातायात कार्यालयले रुट पहिचान गरी अन्य रुटमा पनि सञ्चालन गर्न दिने सहमतिमा उल्लेख छ । त्यस्तै आन्दोलनका क्रममा पक्राउ परेका पुराना बस ब्यवसायी समितिका प्रतिनिधिहरुलाई रिहा गर्ने सहमति भएको छ । यसैगरी पोखरामा थप गाडी सञ्चालन गर्न मिल्ने नमिल्ने अध्ययनको लागि कार्यदल गठन गर्ने र सो कार्यदलले दिएको सुझावको आधारमा अघि बढ्ने सहमति भएको छ । सबै क्षेत्रको दवाव र सल्लाह अनुसार पुराना ब्यवसायी नयाँ समितिका गाडी सञ्चालन गर्न दिने सहमतिमा पुगेका हुन् । पोखरा नगर क्षेत्रभित्र सञ्चालन हुने गरी नयाँ समितिले रुट अनुमति पाएर सञ्चालनमा आएपछि पुराना ब्यवसायी आन्दोलित भएका थिए । उनीहरुले गरेको आन्दोलनका कारण बिहीवार पोखरा सहित गण्डकी अञ्चलभर सार्वजनिक सवारी ठप्प हुदा यात्रुले सास्ती खेप्नुपरेको थियो । सहमति पछि नयाँ विन्ध्यवासिनी बस ब्यवसायी समितिका सचिव रामचन्द्र अधिकारीले सिण्डिकेट तोड्न सफल भएको र नयाँ समितिको अस्तित्व कायम राखेको बताए । पोखरा बस ब्यवसायी समितिका अध्यक्ष रमेश गिरीले सञ्चालनमा आएका वसलाई निर्वाद चल्न दिएपनि अन्य बस थप गर्ने वा नगर्ने भन्ने कुरा अध्ययन पछि मात्र्र तय हुने बताए ।



Post a Comment

 
Top