0
गोल्डेन न्यूज संवाददाता
सरकारी अधिकारीहरुको लाचारी र गैरजिम्मेवारपनका कारण मंगलबार दिनभर पोखरामा सार्वजनिक सवारीका साधन चल्न नसक्दा सर्वसाधारणले सास्ती खेप्नु प¥यो । पोखरामा नयाँ बस सेवा संचालन गर्न लागेको विन्ध्यवासिनी बस व्यवसायी समितिका नयाँ बस संचालन गर्नका लागि सुरक्षा तथा प्रशासनिक अधिकारीहरुले उपयुक्त वातावरण दिन नसकेको र  पहिलेदेखि सिण्डिकेटको माध्यमबाट बस सेवा संचालन गर्दै आएका व्यवसायीको बस सडक किनारामा थन्क्याउँदा पनि सरकारी अधिकारी निरीह बनेकोले पोखरा क्षेत्रमा बस सेवा बन्द भयो । जका कारण सर्वसाधारणले समस्या भोग्नु परेको हो । नेपालको संविधानमा नेपाली नागरिकले आफ्नो पेशा र व्यवसाय स्वतन्त्रपूर्वक संचालन गर्न पाउने व्यवस्था रहेपनि त्यसलाई सरकारी सुरक्षा तथा प्रशासनिक अधिकारीले कार्यान्वयनमा ल्याउन नसक्दा यस्तो समस्या उत्पन्न भएको हो । कास्की जिल्लास्थित सुरक्षा र प्रशासनिक अधिकारी अर्थात प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको मात्र जिल्ला प्रमुखहरु नरहेर पश्चिमाञ्चल क्षेत्र स्तरीय प्रशासक, प्रहरी नायव महानिरीक्षक, पृतनापति समेत छन् । यस बाहेक सरोकारवाला गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय समेत पोखरामै छ । तर ति सबै कार्यालयका प्रमुख तथा सरकारी अधिकारीहरुको निरीहता र लाचारी पनले पोखराको यातायात व्यवस्था अस्तव्यस्त बन्दै गएको छ ।     
पोखरामा संचालनमा आउने भनिएका विन्ध्यवासिनी बस व्यवसायी समितिका गाडीहरु १० दिन अघि संचालन गर्दा सरकारी तथा प्रशासनिक अधिकारीले फाल्गुन २७ पछि संचालन गर्ने आश्वासन दिएर रोक लगाएका थिए । तर उक्त समितिले सरकारी आश्वासनलाई प्रतिक्षा गर्दै बस चलाउन खोज्दा थप निर्देशन नआएपछि मंगलबार आफ्ना गाडी सडकमा निकालेको भएपनि यात्रुलाई सेवा दिन भने पाएनन् । बरु उल्टै पुराना यातायात व्यवसायीको शिकार नयाँ बसहरु बन्न पुगे ।  
विन्ध्यवासिनी बस ब्यवसायी समिति अन्तर्गतका गाडी संचालनको क्रममा अवरोध गरेका पुराना ब्यवसायीले मंगलवार दिउसो आफ्ना सवारी पनि थन्क्याए । नयाँ बस संचालनको विरोधमा आन्दोलन घोषणा गरेका उनीहरुले मंगलवार पोखराको छोरेपाटनमा विन्ध्यवासिनी समितिका तीन वटा बस तोड्फोड् समेत गरे । उनीहरुले ग१ख ५९७१, ग१ख ५९७२ र ग१ख ५९७३ नम्बरको बस तोडफोड गरेका हुन् । बस तोडफोडमा संलग्न भएको आरोपमा पोखरा बस ब्यवसायी समितिका कोषाध्यक्ष पवित्रमणि अधिकारी र सह–सचिव देविप्रसाद कुईकेललाई प्रहरीले पक्राउ गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि यातायात ब्यबस्था विभागको पत्रका आधारमा यातायात ब्यवस्था कार्यालय गण्डकीले माघ १८ गते नयाँ समितिलाई बस सञ्चालनको रुट ईजाजत प्रदान गरेको थियो । माघ २२ गते बस संचालनको सुरुवात गरेपनि पुराना व्यवसायीको अबरोधपछि प्रशासनको आग्रहमा रोकिएको बस मंगलवार पुनः सञ्चालनमा ल्याउन खोज्दा विवाद चर्किएको हो । यो बीचमा प्रशासनले समस्या समाधानको उचित विकल्प निकाल्न नसक्दा पोखराको यातायात पुनः अस्तब्यस्त भएको हो । पुराना व्यवसायीले पोखरामा थप नयाँ बसको आवश्यकता नरहेको र भएका समितिलेनै यात्रुमैत्री सुविधा दिंदै आएको भन्दै नयाँ समितिको रुट इजाजत खारेज गर्न माग गरेका छन् । तर नयाँ समितिले आफूले इजाजत पाएको रुटमा बस संचालन गर्न पाउनुपर्ने अडान लिंदै आएका छन् ।
मंगलबार बिहान ९ वजेदेखि नै बसहरु संचालनमा ल्याउने तयारी गरेका नयाँ बस व्यवसायीहरुलाई प्रशासनले ११ बजे वार्तामा बोलाएको थियो । वार्तापछि मात्र गाडी संचालन गर्ने भन्दै प्रशासनले बोलाएपछि व्यवसायीहरु वार्तामा गएको समितिका अध्यक्ष समबहादुर गुरुङले जानकारी दिए । ‘हामी वार्ता भन्दै प्रशासनमा गयौं, उनीहरु वार्तामा आउँदै आएनन्’ समितिका अध्यक्ष गुरुङले भने । उनले भने–‘हामीलाई पूराना साथीहरुले सौतेनी व्यवहार गरे । प्रशासनले बोलाएको वैठकमा गईयो तर निर्णय केही भएन ।’
संस्थाका सचिव रामचन्द्र अधिकारीले प्रसाशन कै अवरोधका कारण पोखरामा विन्ध्यवासिनी वस समितिका गाडीहरु चल्न नसकेको बताए । सोमबार बिहान समितिको कार्यालय सृजनाचोकबाट तीनमध्ये दुईवटा गाडी निकालेर नयाँ बजारमा पु¥याइ भव्य पूजा समेत गरेको उनले जानकारी दिए । ‘आज अब जे भयो भयो पोखरामा नयाँ गाडी चलाउँछौं यसमा सबै पोखरेलीले हामीलाई सहयोग गर्नेछन’–उनले भने ।  सिण्डिकेटले हामी व्यवसायीलाई मर्कामा प¥यो अधिकारीले गुनासो गरे । नयाँबजारमा लगेर पूजा गरेपछि फेरी सुरक्षाकर्मीले नै गाडीलाई स्कर्टिङ गरेर समितिको कार्यालय सृजनाचोकमा लगेर सुरक्षा दिईरहेका छन् । समितिका गाडी माथि हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा दिएको प्रशासनले बताएको भएपनि गाडी तोड्फोड भएरै छाड्यो। प्रशासनले गाडीको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो । 
यता पोखरा वस व्यवसायी समितिका अध्यक्ष रमेश गिरीले पोखरा बिगार्न नहुने बताउँदै पोखराको सुन्दरतालाई नयाँ वस व्यवसायी समितिका साथीहरुले ख्याल नगरेको आरोप लगाए । उनले वार्ता सकारात्मक नभएकोले यसबाट तत्काल निकास निस्कन नसक्ने बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले व्यवसायीहरुलाई एक आपसमा मिल्न भन्दै यातायात व्यवस्था कार्यालयमा पठाएको बताए । रुट इजाजत पाएर एक दिन सवारी चलाउन नपाउँदै पुराना वस व्यवसायीहरुले गण्डकी अञ्चल यातायात बन्दको घोषणा गरेपछि प्रशासनले केही दिन सवारी साधनहरु रोक्न नयाँ वस व्यवसायीहरुलाई आग्रह गरेको थियो । व्यवसायीहरुले सर्वपक्षीय भेला भन्दै प्रशासनले वैठक बोलाउला भन्दै समय कुरेको १० दिन बितिसक्दा समेत वास्ता नगरेपछि बाध्य भएर बस चलाउन व्यवसायीहरुले जमर्को गरेका थिए । यता, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले प्रतिस्पर्धी बजारलाई कुण्ठित गरी व्यवसायीहरुले गरेको सिण्डिकेट उपभोक्ताको हितमा नभएको बताएका छन् । उनले उपभोक्ताका अधिकारलाई सुरक्षित गर्न सिण्डिकेट अन्त्य गर्न प्रशासनले कदम चाल्नु पर्ने बताए । 
यसैबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले सोमवार विज्ञप्ति प्रकाशित गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । समितिले मंगलबारदेखि यही फाल्गुन १० गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । घोषित कार्यक्रममा जक्काजाम, यातायात कार्यालय घेराउ, गण्डकी अञ्चलमा यातायात हड्ताल लगायत छन् ।

Post a Comment

 
Top