0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय नाकाबन्दीले नेपालमा गम्भीर मानवीय संकट उत्पन्न भएको बताएकी छिन् । पोखरामा आयोजित विश्व शान्तिपूजामा सहभागि हुने क्रममा बुधवार उनले भूकम्प र पछिल्लो समयको नाकाबन्दीले नेपाली जनजीवन असहज, अशान्त र कष्टपूर्ण बनेको बताईन् । ‘गत बैशाख १२ गतेको विनासकारी भूकम्प र पछिल्लो समयमा देखिएको सिमा अबरोधले नेपाली जनजीवन असहज, अशान्त र कष्टपूर्ण भई गम्भीर मानवीय संकट समेत उत्पन्न भएको छ ।’ राष्ट्रपति भण्डारीले भनिन् ।उनले भगवान गौतम बुद्धको शिक्षा र विश्व शान्तिपूजाको सन्देशले समस्त मानव जातिमा सामाजिक सद्भाव तथा मैत्रीपूर्ण भावनाको सञ्चार हुनुको साथै शान्त, सहज र सुखद् अबस्थाको सिर्जना हुने अपेक्षा ब्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा निर्माण गरिएको स्व. दावा नोर्बु शेर्पा, कुमार खड्ग विक्रम शाह र डा.हर्क गुरुङको प्रतिमा अनावरण समेत गरिन् । उनले संग्रालयको पनि अवलोकन गरिन् । राष्ट्रपति भण्डारी संग्रहालय परिसरमा आयोजना गरिएको विश्वशान्ति पूजामा समेत सहभागी भएकी थिइन् । उनी राष्ट्रपति भएपछि भण्डारी पहिलो पटक पोखरा आएकी हुन् । हेलिकोप्टर मार्फत पोखरा आएकी उनी बुधवारनै काठमाडांै फर्किईन् । कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले पोखरालाई जोडेर बुद्ध सर्किट निर्माण गर्न सके नेपालमा बौद्धमार्गीहरु भित्र्याउन सकिने र पर्यटन प्रबद्र्धनमा समेत सघाउ पुग्ने बताए । माघ १८ गतेदेखि सुरु भएको पूजा माघ २१ गतेसम्म चल्नेछ ।

Post a Comment

 
Top