0
गंगाधर पराजुली
पोखरा, २० माघ÷गोल्डेन न्युज
नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत कास्की जिल्लामा हुन बाँकी रहेका क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनमा कांग्रेसभित्र बसेर सत्ता र स्वार्थ पूरा गरेकाहरु र अन्यका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।विशेषगरि कास्की क्षेत्र नं. १ र ४ मा सत्ता र स्वार्थका लागि प्रतिस्पर्धा देखिएको र सोही अनुरुप गुट निर्माण भएको बताइन्छ । क्षेत्र नं. १ मा सरकारी सुविधा लिइरहेका सांसद यज्ञबहादुर थापा, अर्का सांसद जीवन परियारका साथै थापा र परियारकै जोडबलमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष बन्न सफल भएका प्रकाशमोहन खनालले अन्य नेता कार्यकर्तालाई अवसरबाट बञ्चित गर्ने खेल खेलिरहेका छन् । यस्तै क्षेत्र नं. ४ मा कास्की कांग्रेसमा झण्डै २ दशक नेतृत्व गरेर सबै किसिमको सुविधा भोग गरेका शुक्रराज शर्माले आफ्नो परिवार भित्र कांग्रेसको राजनीति सीमित गर्न खोजेका छन् । विगतमा शर्माको साथमा कांग्रेसका सबैजसो नेता कार्यकर्ता रहेपनि उनले कार्यकर्ताको घेरा साघुँरो बनाउँदै ३÷४ जना आफन्तबाट नै पार्टी चलाउन खोजेका छन् । यसपटकको अधिवेशनमा शर्माको प्रभाव कम भएकोमात्र नभइ उनले पार्टीका लागि उर्जाशील र योगदान दिएका त्यागी कार्यकर्तालाई पाखा लगाउँदै आफ्नै पौडेल परिवार र नातागोतालाई मात्र अवसर दिने प्रपञ्च रचिरहेका छन् । क्षेत्र नं. १ मा पनि सांसद थापा र परियारले साँघुरो घेरा बनाएर आफू निकटका लाईमात्र पार्टीको विभिन्न भूमिकामा ल्याउने कसरत गरिरहेका छन् । केही समय अघि स्थानीय कांग्रेस युवाहरु बाटै हत्या गरिएका युवा नेता रामजी पौडेल बादलकी धर्मपत्नी चन्द्रादेवी पौडेललाई समेत थापा र परियारको गुटले समेट्न नसकेपछि उनी आफै महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा गरेकी छन् । 
क्षेत्र नं. १ मा सांसदद्वय थापा र परियारले सांसद विकास कोष अन्तर्गत प्राप्त गर्ने करोडौं रुपैयाँ र पोखरा उपत्यका नगर विकास समितिको स्रोत साधन दुरुपयोग गर्दै त्यस क्षेत्रका नेता कार्यकर्तालाई आफ्नो दवाव र प्रभावमा पार्न खोजेका छन् । उनीहरुले खनाललाई त्यस क्षेत्रको नेतृत्व दिएको पार्टीलाई सधैं आफ्नो पञ्जाभित्र पार्ने रणनीतिमा लागेका छन् । यसैगरी क्षेत्र नं. ४ मा शुक्रराजले आफ्नो पुरानो रवाफ देखाउँदै आफूलाई साथ दिन कार्यकर्तालाई चेतावनी दिएका छन् । आफूलाई असहयोग गरेमा कास्की कांग्रेसका केही नेतालाई पाखा लगाए जस्तो कांग्रेसको राजनीतिबाट पाखा लगाइदिने धम्की दिंदै शर्माले आफ्नै भतिजा पोषनाथ शर्मालाई त्यस क्षेत्रको नेतृत्व दिन चाहना गरेका छन् । पोषनाथ पनि कार्यकर्ताहरु माझ निरीह जस्तै देखिएर सरकारी कार्यालय धाउने, कार्यकर्ताको काम गर्ने नाममा फाइदा लिने र पछिल्लो पटक राम्रो सरकारी तलव भत्ता प्राप्त गर्ने गरिबसंग विश्वेश्वर कार्यक्रमको कास्की जिल्ला संयोजक छन् । यसैगरी क्षेत्र नं. २ मा सांसद शारदा पौडेल र अन्य नेता कार्यकर्ताबीच त्यस्तै प्रतिस्पर्धा देखिएको छ । यहि माघ २२ गते शुक्रबार हुने क्षेत्रीय अधिवेशनका लागि विभिन्न गुट उपगुट तयार गरि पार्टीमा हालीमुहाली गर्ने रणनीति अनुसार क्षेत्र नं. १ मा सांसद थापा सहित केहीलाई महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनाउने तय भएको छ । जस अनुसार कोपिला रानाभाट, रसकुमारी गुरुङ, गिरीराज गौतम, सुदिपमोहन भट्टराई, दुर्गा रेग्मी, ऋषि सुवेदी, श्रीकृष्ण लामिछाने लगायत छन् । सांसदद्वय थापा र परियारले पार्टीका केही इमान्दार कार्यकर्तालाई समेत महाधिवेशन प्रतिनिधि बनाउने सूचीमा राखेर क्षेत्रको नेतृत्व खनाललाई दिने रणनीति बनाएपछि महाधिवेशन प्रतिनिधिमा तय गरिएका कतिपयले भने असन्तुष्टि प्रकट गरिरहेका छन् । पोखराको लेकसाइड र चाउथे स्थित छुट्टा–छुट्टै होटलमा बसेर रणनीति बनाएपछि बुधबार सांसद थापाको घर विजयपुरमा आफ्नो समूहको नामावली तयार गरिएको बताइन्छ । तर यस बारेमा उनीहरुले केही बताउन चाहेनन् । थापा र परियारको योजना १०÷१२ जना मात्र सामेल भएर बनाएको कारण त्यसलाई विफल तुल्याउनुपर्ने भन्दै केही नेता कार्याकर्ताले अभियान शुरु गरेका छन् । थापा सभापति रहेको पार्टीको जिल्ला कार्यसमितिका सदस्य कमलनाथ कुँवरले थापा र परियारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि प्रकट गर्दै क्षेत्रीय सभापतिको उम्मेदवारी घोषणा गरेका छन् भने थापालाई सांसदमा जिताउन त्यस क्षेत्रमा पार्टीको नेतृत्व गरेका पुराना कांग्रेस नेता वीर्जमान गुरुङ पनि एक कार्यकाल क्षेत्रीय सभापति दोहो¥याउने पक्षमा छन् । पार्टीमा निष्ठापूर्वक काम गरेपनि थापा र परियारले गुरुङलाई कुनै अवसर दिलाउन प्रयास गरेनन् । तर पोखरा र काठमाडौं अनि नेता र मन्त्रीको घर–घरमा धाएर नगर विकासको अध्यक्ष बनाएक खनाललाई फेरि पार्टीको क्षेत्रीय सभापति बनाउने योजनाको स्थानीय कांग्रेस कार्यकर्ताले विरोध समेत गरेका छन् । यसैगरी क्षेत्र नं. ४ मा शुक्रराजले आफ्नै भतिजा पोषनाथलाई फेरि क्षेत्रीय सभापति बनाउन प्रयास गरेपछि त्यस क्षेत्रमा पनि असन्तुष्टि बढेको छ । पोषनाथ १०औं महाधिवेशनमा पनि त्यस क्षेत्रको सभापति थिए । ११औं महाधिवेशमा पार्टीको जिल्ला सचिव बनेर १२औं महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका उनी फेरि ओरालो लागेर क्षेत्रीय सभापति बन्ने ध्याउन्नमा छन्। शुक्रराजले आफू जिल्लाको नेतृत्व गर्न चाहेपछि आफ्ना अनुयायीलाई विभिन्न क्षेत्रको नेतृत्व सुम्पन खोज्नेक्रममा पोषनाथलाई क्षेत्र नं. ४ को जिम्मा लगाउन खोजिएको हो । शुक्रराजको कार्यशैलीको चर्को विरोध उनकै समर्थकहरुबाट भइरहेको छ । मंगलबार पार्टी कार्यालयमा उनकै टीमभित्र प्रभावशाली मानिएका भेषराज पराजुलीले पार्टीमा वषौंदेखि लागेका कार्यकर्ताको राजनीतिक मृत्यु गर्ने तहसम्म पुगेको भन्दै शुक्रराज र पोषनाथको चर्को आलोचना गरेका थिए । पराजुली पनि क्षेत्र नं. ४ को सभापतिका दावेदार हुन् । शुक्रराजको कार्यशैलीकै कारण क्षेत्र नं.४ का युवा विष्णुबहादुर क्षेत्रीले पनि क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । शर्माभित्रको टीममा असन्तुष्टि बढ्दै गयो भने त्यसको फाइदा पार्टीमा वरिष्ठ नेता रहेका शेरबहादुर देउवा समर्थकलाई पुग्ने निश्चित छ । देउवा पक्षले क्षेत्र नं. ४ मा मनोज गुरुङलाई सभापतिको उम्मेदवार बनाउने तयारी गरेको छ तर अन्तिम अवस्थासम्म पनि उम्मेदवार हेरफेर हुन सक्ने बताइन्छ । क्षेत्रीय अधिवेशनका लागि क्षेत्र नं. ३ मा शोभाचन्द्र बरालको नाम समेत फेरि नेतृत्व लिने सूचीमा आइरहेको छ । हुन त उनले आफू पुनःसभापति बन्ने सार्वजनिक घोषणा भने गरेका छैन्न् । शोभाचन्द्र बाहेक पुण्डरी बरालले पनि क्षेत्रीय सभापतिमा उम्मेदवारीको घोषणा गरेका छन् । पुण्डरीले एक विज्ञप्ति जारी गरि आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा २०३६ सालदेखि आफूले नेपाल विद्यार्थी संघको राजनीतिक यात्रा प्रारम्भसँगै त्यसयता भएका विभिन्न राजनीतिक परिवर्तनहरुको अग्रमोर्चामा रहेर सहभागी भएका कारण १६ वर्षको कलिलो उमेरदेखि २०६२÷०६३ को लोकतन्त्र प्राप्तिको आन्दोलनसम्म आइपुग्दा पटक पटक जेल, नेल र अनेकन अत्याचार, दमन र थिचोमिचोलाई चिर्दै आएको उल्लेख छ । ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद प्रति क्रियाशील रहँदै पार्टीको मूल्य, मान्यता र आदर्शलाई शिरोधार्य गर्दै, बीर सहिदहरुप्रतिको समर्पणलाई उच्च सम्मान गर्दै, अग्रजहरुको आदर्शलाई मूल मर्म मान्दै, युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप संगठनलाई थप उचाईमा पु¥याउनका लागि नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा कास्की क्षेत्र नं. ३ बाट क्षेत्रीय सभापति पदको लागि उम्मेदवारी घोषणा गर्दछु’, उनले विज्ञप्तिमा भनेका छन् ।
यस बाहेक पार्टीका वर्तमान जिल्ला सदस्य विजय आचार्य र विष्णु पौडेल पनि क्षेत्रीय सभापतिको उम्मेदवार बन्ने बताइन्छ । आचार्य त्यस क्षेत्रका नेता देवराज चालिसे निकट मान्निछन् । 
क्षेत्र नं. २ मा भने वर्तमान सभापति माधवप्रसाद बाँस्तोला मधुले पुनः सोही पदमा उम्मेदवारी दिने भएका छन् । बाँस्तोलासंग पुष्पेन्द्र पाण्डेले प्रतिस्पर्धा गर्ने निश्चित छ । एउटै गुटमा रहेका शुक्रराज र शारदाबीचको मनमुटाव बढ्दै गएपछि क्षेत्र नं. २ को सभापतिमा शुक्रराजले माधवलाई र शारदाले पुष्पेन्द्रलाई समर्थन गरेको बताइन्छ । माघ २२ गते हुने क्षेत्रीय अधिवेशनबाट नै महाधिवेशन प्रतिनिधि समेत चयन हुने भएपछि सबै क्षेत्रबाट महाधिवेशन प्रतिनिधि का आकांक्षीहरुले चुनावी प्रचार आ–आफ्नै शैलीमा शुरु गरेका छन् । क्षेत्र नं. १ बाट कांग्रेस नेता तारानाथ रानाभाट, कृष्ण केसी, तिलक रानाभाट, नन्दप्रसाद तिवारी, मुरारी शर्मा, वीरबहादुर बुढाथोकी, सकुन्तला गुरुङ, प्रभाश्री गुरुङ, बुद्धिमान गुरुङ, चिनु रानाभाट, दीपेन्द्र ढकाल लगायतका नेता महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी देखिएका छन् । यस क्षेत्रबाट महिलाहरु तारा अधिकारी, विन्दु सुवेदी पनि आकांक्षी छन् । यसैगरी क्षेत्र नं. २ मा शारदा पौडेल, सीता गुरुङ, लक्ष्मी पाण्डे, खिमकुमारी बराल महिलाको तर्फबाट र गुरु बराल, कृष्ण कार्की, ऋषि काफ्ले, बाबुराम आचार्य, पुलेन्द्रमान श्रेष्ठ, किशोरदत्त बराल, पदमसिंह गुरुङ,  निर्मल कर्माचार्य, डा. परमेश्वर पोखरेल, यज्ञेश्वर पोखरेल, राजेन्द्र पराजुली, डम्बरजंग गुरुङ लगायतकाहरु खुल्ला तर्फबाट महाधिवेशन प्रतिनिधिको दौडधूपमा लागेका छन् । यस्तै क्षेत्र नं. ३ मा महाधिवेशन प्रतिनिधि बन्न चाहनेको संख्या अझ धेरै छ । क्षेत्रीय सभापति बन्न नपाएमा शोभाचन्द्र बराल पनि महाधिवेशन प्रतिनिधि बन्न इच्छुक छन् । यस बाहेक रामजी कुँवर, शोभियतबहादुर अधिकारी, देवराज चालिसे, डा. रामचन्द्र पोखरेल, राजेन्द्रनीधि कोइराला, सुन्दरविजय कोइराला, वीरेन्द्रनारायण विजुक्छे, नरेशशंकर पालिखे, विष्णुहरि बराल, पुरुषोत्तम पराजुली लगायतकाहरु महाधिवेशन प्रतिनिधि बन्न चाहेका छन् । यस क्षेत्रमा युवाको प्रतिनिधित्व गर्दै पोखराका युवा दीपेन्द्र मर्सानीले महाधिवेशन प्रतिनिधि या क्षेत्रको महत्वपूर्ण भूमिका लिन दौडधूप गरिरहेका छन् । महिलातर्फ सकुन्तला कोइराला, वृन्दा राना, रजनी केसी र सुनयना पालिखेको दौडधूपनि पनि तीव्र छ । सकुन्तला अहिले पनि कांग्रेसको जिल्ला कार्यसमितिमा रहेकी छन् ।यसैगरी क्षेत्र नं. ४ मा खेमराज पौडेल, महादेव गुरुङ, रामचन्द्र त्रिपाठी, अग्निधर पराजुली, दिवसमान प्रधानाङ्ग, सिकन्दरकुमार गुरुङ, दीपक गुरुङ, हरिप्रसाद शर्मा लामिछाने, भीमबहादुर राना, खम्वासिंह गुरुङ लगायतले शुक्रराज विरोधी खेमाको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा तयारी गरेका छन् भने  शुक्रराज शर्माको समूहले उनीसहित खुशीमान गुरुङ, भेषराज पराजुली,  रामप्रसाद अधिकारी, देवेन्द्र शेरचन, राजबहादुर गुरुङ लगायतलाई उम्मेदवार बनाउने भएको छ । त्यस क्षेत्रबाट हरिमाया गुरुङ, गौमती थापा लगायतले महिलातर्फबाट उम्मेदवारी दिने भएका छन् । माघ २५ गते हुने जिल्ला अधिवेशनका लागि सभापति पदमा  शुक्रराज शर्मा, कृष्ण केसी, गुरु बराल र कृष्ण केसीको नाम चर्चामा छ । यसमध्ये २ या ३ जनाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।



Post a Comment

 
Top