0
गोल्डेन न्यूज संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तीन वर्षभित्रै पुरा हुने दाबी गरेका छन् । उनले शिलान्यासको भोलिपल्टैदेखि काम सुरु हुने र तीन वर्ष्भित्र पुरा गर्ने लक्ष्य अनुसार अघि बढ्ने उल्लेख गरे । पोखरा–१४ स्थित स्वागत नगर चाउथेमा स्वागतम पार्टी प्यालेसको बुधबार शुभारम्भ समारोहमा बोल्दै मन्त्री पोखरेलले पोखरा विमानस्थल शिलान्यास आफ्नै कार्यकालमा हुनेमा खुशी व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै शिलान्यास गर्ने बताए । ‘म मन्त्री रहिरहेँ भने तीन वर्ष्भित्र विमानस्थल बन्छ’ –उनले भने– ‘शिलान्यासपछि एक वर्षसम्म डिजाईन गर्न समय चाहिँदैन, भोलिपल्टैदेखि काम सुरु हुन्छ । उनले चीनका तर्फबाट नै अहिले ऋण सम्झौतामा कुरा अड्केको समेत खुलाए । ‘लोन फम्र्याट एग्रिमेन्ट हुन सकेको छैन । मन्त्री पोखरेलले भने– ‘त्यो एग्रिमेन्ट भएको एक हप्तामै शिलान्यास हुन्छ । उनले पहिले फागुन १३ र पछि फागु्न १६ मै शिलान्यास गर्ने मिति तय गरेपनि यसकै कारण रोकिएको प्रष्ट पारे । प्रधानमन्त्री ओली चीन भ्रमणका क्रममा यो सहितका ठुलो आयोजनामा हस्ताक्षर गर्ने चिनीयाँ रणनीति रहेको बुझिएको छ । मन्त्री पोखरेलले पोखरा अहिले पर्यटनको दोस्रो राजधानी बनिरहेका बेला पहिलो राजधानी बन्ने क्रममा रहेको पनि बताए । व्यवसायिक सहकार्य गर्दै अघि बढ्दा उद्यमशीलताको विकास हुने भन्दै उनले लगानी गर्ने बेला मिलेजस्तै लाभका बेलामा पनि फुट नआओस् भन्दै सचेत गराए । विशेष अतिथि नेपाली काँग्रेस कास्की क्षेत्र नं. २ की सांसद शारदा पौडेलले विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यका लागि त्यस भेगमै सुविधासम्पन्न पार्टी प्यालेस बनेकाले सबैको सहयोगमा व्यवसाय फस्टाउने बताईन् । संचालक लिला लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा अनिता थापा लगायतले बोलेकी थिईन् । विमानस्थल क्षेत्र पोखरा १४ मा बजार विस्तारसँगै सुविधा सम्पन्न पार्टी प्यालेस सञ्चालनमा आएको हो । पोखरा १३ र १४ निवासी नौ जना उद्यमशील महिला, होटल, क्याटरिङ तथा निर्माण व्यवसायीहरु मिलेर एक करोड लगानीमा पार्टी प्यालेस चलाएका हुन् । संचालकहरु लिला लामिछाने, सुरेन्द्र केसी, सुर्यबहादुर बानियाँ, क्या. धर्मलाल गुरुङ, कमल खनाल, कुसाङ गुरुङ, अनिता थापा, चित्रा थापा र सुनिता थापाको लगानी छ । दुई हल रहेको पार्टी प्यालेसमा एकै पटक ६ सय जनालाई खुवाउन सकिने सञ्चालक कमल खनालले बताए । ‘प्रशस्त पार्किङ, खुल्ला स्थान, कन्फरेन्स हल, रेष्टुरेण्ट पनि भएकाले अर्डरअनुसारको खानाको व्यवस्था हुनेछ’– उनले भने– ‘भुकम्प प्रतिरोधी संरचनाले आपत विपतमा ओत लाग्ने ठाउँ पनि हुन्छ । विमानस्थल निर्माण क्रममा कामदारहरुलाई खाने बस्ने सुविधा समेत प्रदान गर्न सक्छौं ।’


Post a Comment

 
Top