0
नेपाली आकाशमा फेरि २ वटा दुःखद् दुर्घटना भएको छ । बुधबार तारा एयरको विमान म्याग्दीको दाना गाविसको सोलीघोप्टे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो भने शुक्रबार काष्ठमाण्डपको विमान कालिकोटको चिलखयामा दुर्घटना भयो । पोखराबाट जोमसोमका लागि उडेको ९–एएचएच विमान बुधबार सम्पर्कवहीन भएको थियो । खोजी गर्दै जाँदा सोलीघोप्टे डाँडोमा आगो लागेर डढेको अवस्थामा विमान भेटियो । दुर्घटनामा विमानमा चालक दलका तीन सदस्य र दुई बालबालिकासहित सबै २३ यात्रुको निधन भएको छ । यस्तै कालीकोटमा काष्ठमाण्डप एयरको विमान दुुर्घटना हुँदा चालक दलका २ सदस्यको मृत्यु भयो भने ९ जना यात्रु घाइते भए । नेपाली आकाशमा यसभन्दा अगाडि पनि यस्ता कैयन् दुर्घटनाहरु भएका छन् । बुधबार र शुक्रबार भएको विमान दुर्घटनासँगै नेपालमा विमान दुर्घटनाका करिब ७१ वटा घटना भएको छ । तारा र काष्ठमाण्डप एयरको विमान दुर्घटनाले नेपालमा हवाई सुरक्षामात्र होइन, विमानस्थलको जाँचमाथि प्रश्नचिन्ह खडा गरेको छ । विमान दुर्घटना हुने आकाशमध्ये नेपाली आकाश प्रमुखमध्येमा पर्दछ । पछिल्लो समय हवाईयात्राका लागि नेपाली आकाश, विमान तथा विमानस्थलहरु निकै असुरक्षित रहेको अन्तर्राष्ट्रिय प्रतिवेदनहरुले औँल्याएका छन् । नेपाली आकाशको सुरक्षाबारे चुनौती बढिरहेका बेला बुधबार अर्को एउटा दुर्घटना भएको छ । नेपालमा विमान दुर्घटनाबाट हालसम्म स्वदेशी र विदेशी गरी झन्डै ६५० जनाको निधन भइसकेको छ । २०४९ सालमा लगातार दुई ठूला जहाज दुर्घटनामा परेका थिए । साउन २६ गते नुवाकोटको घोप्टेभिरमा थाई एयरवेजको बोइङ दुर्घटनामा ११३ जना र असोज १२ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको बोइङ दुर्घटनामा १६७ जनाले ज्यान गुमाएका थिए । त्यसयता पनि नेपाली कम्पनीका विमान तथा हेलिकोप्टर दुर्घटनामा परिरहेका छन् । यस वर्ष पनि तीन हेलिकोप्टर÷विमान दुर्घटनामा परे । विमान दुर्घटना हुँदा तत्कालै कारण पत्ता लाग्न नसक्ने भन्दै छानबिन र अध्ययनका लागि समिति गठन गर्ने र त्यस्ता समितिहरुले दुर्घटना भएको महिनौँपछि प्रतिवेदन सार्वजनिक गर्दछन् । प्रतिवेदनहरुले औँल्याएका विषयहरुमाथि गम्भीरतापूर्वक चर्चा र बहस गरिएको पाइँदैन । भौगोलिक अवस्थाका कारण नेपालमा धेरै जहाज दुर्घटना हुने गरे पनि मुख्य कारणचाहिँ मानवीय त्रुटि नै मानिएको छ । विमान कम्पनीहरुले यात्रुहरुका लागि सहज सुविधाभन्दा कमाउ धन्दामा ध्यान केन्द्रित गरिरहेका छन् । क्षमताभन्दा बढी यात्रु वा सामान राखेर उडाउने, मौसम र पाटपूर्जाहरुको राम्रोसँग चेकजाँच नगरी विमान उडाउने, इन्धन बचतका लागि रूट परिवर्तन गर्ने, खराब मौसममा विमान उडाउन अनुमति दिनेजस्ता कमजोरीका कारण नेपाली जहाजहरु बारम्बार दुर्घटनामा पर्ने गरेका छन् । नेपालको भौगोलिक बनावट, जहाज उडेपछि अचानक परिवर्तन हुने मौसम र अव्यवस्थित विमानस्थलका कारण धेरै जहाज दुर्घटनामा पर्ने गरेका छन् । दुर्घटना न्यूनीकरण गर्नका लागि हरेक दुर्घटनाहरुको ढिलै भए पनि सार्वजनिक प्रतिवेदनलाई आधार बनाई छलफल र बहस गर्नु आवश्यक छ । बढ्दो व्यावसायिकताका कारण विमान कम्पनीहरु सेवासुविधाको प्रतिस्पर्धाभन्दा आर्थिक आम्दानीमा बढी प्रतिस्पर्धी देखिएकाले त्यस्ता व्यवसायीहरुमाथि कारबाही गर्नुपर्दछ । दुर्घटनापछि उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन विमान चालक र सर्वसाधारणमाझ स्पष्ट पार्नुपर्दछ । गन्तव्यमा जसरी पनि पुग्नुपर्छ भन्ने मानसिकताको अन्त्य गरी सुरक्षित र भरपर्दो सेवाको विकासका लागि सम्बन्धित निकायले बारम्बार हवाई क्षेत्रको अनुगमन र अनुसन्धान गर्नुपर्छ । नेपाली आकाशमा भइरहने विमान दुर्घटनामा ठूलो मानवीय क्षति हुनुका साथै समग्र पर्यटन र आर्थिक विकासमा समेत प्रत्यक्ष असर पनि पर्दछ । कुनै पनि दुर्घटना जानेर हुने होइन, कतिपय अवस्थामा चाहेर पनि रोक्न सकिँदैन । तर, त्यसलाई न्यूनीकरण गर्न सजग हुन सकिन्छ । आगामी दिनमा विमान दुर्घटनाको कहालीलाग्दो घटना रोक्नतर्फ सबैले ध्यान दिनु जरूरी छ ।









Post a Comment

 
Top