0
गोल्डेन न्यूज संवाददाता
नेपालमा जलवायु परिवर्तनको जोखिमलाई मध्यनजर गरी विकास योजना तर्जुमा प्रक्रिया मूल प्रवाहीकरण गर्न स्थानीय विकास योजना प्रक्रियामा संलग्न रहने योजनाकारहरुमा क्षमता अभिबृद्धि तालिम पोखरामा जारी रहेको छ । तालिमको तेस्रो दिन विहिवार जलवायु परिवर्तनको हिसावले संकटासन्नता विश्लेषण सम्वन्धी विषयमा केन्द्रित रहेर प्रशिक्षण दिईएको थियो भने यसअघि जलवायु परिवर्तन र यसले पारेका असरहरु, अनुकुलनताका उपायहरु लगायतका विषयमा प्रशिक्षण दिईएको थियो । तालिममा सैद्धान्तिक ज्ञानसँगै सहभागितामा पनि जोड दिएको छ । तालिमको चौथो दिन शुक्रवार जलवायु परिवर्तनका अनुकुलन योजनाको अनुगमन र मूल्यांकन लगायतका विषयमा प्रशिक्षण दिइने र पाँचौं दिन शनिवार जलवायु संकटासन्नताको विश्लेषण गर्ने र अनुकुलन योजनाको तर्जुमा अभ्यासको निमित्त कास्कीको ढिकुरपोखरी ३ र ४ नम्वर वडाको फिल्ड अवलोकन गर्ने बताईएको छ । फागुन ११ गते मंगलवारदेखि शुरु भएको तालिम १६ गतेसम्म सञ्चालन हुनेछ । उक्त तालिममा जिल्लाका स्थानीय निकायका योजना निर्माणमा कार्यरत अधिकारीहरु, विषयगत कार्यालयका अधिकृत एवं प्रतिनिधिहरु, संचारकर्मी, स्थानीय गैरसरकारी संस्था एवं नागरिक समाजका प्रतिनिधिहरु तथा गा.वि.स प्रतिनिधिहरु समेत गरी २६ जनाको सहभागिता रहेको छ ।
जलवायु परिवर्तन, यसले विभिन्न विषयगत क्षेत्रहरुमा पारेको असर एवं प्रभावहरु, संकटासन्नताको विश्लेषण, जलवायुमैत्री योजना तर्जुमा र स्थानीय  विकास योजनामा मूल प्रवाहीकरण गर्नका लागि आवश्यक ज्ञान तथा सीप हासिल गर्ने तालिमको उद्देश्य रहेको छ । तालिमको मुख्य सहजकर्ताको रुपमा रुपान्तरण नेपालको कार्यक्रम तथा सेवा व्यवस्थापक सोहनलाल श्रेष्ठ रहेका छन् भने यस तालिमको टोली नेता बलबहादुर शाही र कृषि तालिम निर्देशनालयका तालिम अधिकृत दिपक भट्टराईले सहजीकरण गरेका छन् । नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय, विकास आयोजनाहरुमा जलवायु परिवर्तन जोखिम व्यवस्थापन मूलप्रवाहीकरणको आयोजना र जिल्ला विकास समिति, कास्कीको संयोजनमा तालिम सञ्चालन भएको हो । नेपाल सरकारसँगको समन्वयमा परियोजनाका गतिविधिहरुको कार्यान्वयन रुपान्तरण नेपालको नेतृत्वमा सामुहिक अभियान, गा.वि.स राष्ट्रिय महासंघ नेपाल र नेपाल वातावरण पत्रकार समूहले गरिरहेका छन् । यस्तै जिल्ला स्तरीय तालिमको पहिलो चरणमा मध्यमाञ्चल र पूर्वाञ्चल जिल्लाका ३१ वटा जिल्लामा सम्पन्न भईसकेको छ भने दोस्रो चरणमा आगामी डिसेम्वरसम्ममा ३० वटा जिल्लामा तालिम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।






Post a Comment

 
Top