0
गोल्डेन न्यूज संवाददाता
प्रथम गुरुङ फिल्मस् अवार्डको तयारी पुरा भएको छ । आयोजक जक्शन डटकमले आगामी फागुन १५ गते पोखरामा हुने अवार्डका सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । यसअगाडि दुई दिनसम्म हुने भनिएको अवार्ड वितरण कार्यक्रम अब एक दिनमात्रै हुने पनि उसले जनाएको छ । गुरुङ फिल्म एशोसियसनको संरक्षकत्वमा जक्शन डटकमले अवार्ड कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम शनिबार विहान ११ बजेदेखि संचालन हुने जक्सन डटकमका प्रमुख कार्यकारी अधिकृत भुपालकुमार गुरुङले जानकारी दिए । ‘हामीले अवार्ड कार्यक्रममा एउटा लाईफटाईम अचिभमेन्ट अवार्ड सहित ६९ वटा शीर्षकमा अवार्ड वितरण गर्नेछौँ ।’ गुरुङले भने–‘कार्यक्रमका लागि आवश्यक तयारी सबै पुरा भैसकेको छ ।’ अवार्ड कार्यक्रमलाई गृहमन्त्री शक्तिकुमार बस्नेत प्रमुख अतिथिको रुपमा उपस्थित हुने आयोजकले बताएको छ । कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, अभिनेता राजेश हमाल, विजय लामा, दयाहाङ राई, अभिनेत्री रेखा थापा, झरना थापा, नम्रता श्रेष्ठ, दिया मास्के, निर्देशक भूषण दाहाल, रामबाबु गुरुङ लगायत विशेष अतिथिको रुपमा रहने व्यवस्थापक अरुण गिरीले जानकारी दिए। ‘पहिलोपटक हुन लागेको अवार्ड कार्यक्रम भएकोले हामीले अवार्डमा सहभागि सम्पूर्ण चलचित्रलाई नोमिनेशनमा राखेर निर्णय गरेका छौँ ।’ गिरीले भने–‘निर्णायकहरुले गरेको निर्णय त्यहि दिन सार्वजनिक गरिनेछ ।’ त्यस्तै पपुलर फिल्म, अभिनेता र अभिनेत्री छनौटका लागि खुला गरिएको भोटिङको अन्तिम नतिजा पनि सोहि दिन सार्वजनिक गरिने आयोजकले बताएको छ । ‘पपुलर अवार्ड’का लागि २१ वटा फिल्म, १५ जना अभिनेता र ११ जना अभिनेत्री मनोनयनमा परेका छन् । अवार्ड यतिबेला गुरुङ फिल्मकर्मीहरुमाझ निकै चर्चाको विषय बनेको छ । पहिलोपटक हुन लागेको ‘गुरुङ चलचित्र अवार्ड’कै लागि कलाकारहरुले विभिन्न खाले तयारी गरिरहेका छन् । कतिपय कलाकारहरुले अवार्डको दिनमा आफ्नो प्रस्तुति राख्नका लागि यतिबेला रिहर्सल गरिरहेका छन् । विशेष गरि  अभिनेता अभिनेत्रीहरुलाई अवार्ड हुने दिनको पर्खाई अझै बढि देखिन्छ । रेड कार्पेटमा पोज दिनुसँगै अवार्ड आफ्नो पोल्टामा पार्ने सपना साँचेका फिल्मकर्मीहरु अवार्डका लागि निकै  उत्साहित छन् ।

Post a Comment

 
Top