0
भारतीय नाकावन्दीले इन्धन आयात ठप्प भएपछि सुस्ताएको ट्राफिक कार्वाही र राजश्व संकलनमा केहि सुधार आएको छ । नाकाबन्दीपछि इन्धन नपाउदा घटेको सवारी पछिल्लो समयमा बढ्न थालेका छन् । चालु आर्थिक बर्षको एक महिनामा ५ हजार भन्दा बढी सवारी कार्बाहीबाट १६ लाख भन्दा बढी राजश्व संकलन गरेको कास्की प्रहरीले नाकाबन्दी सुरु भएपछि कार्तिक महिनामा जम्मा ३ सय ५० सवारी कारवाहीबाट एक लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरी कार्यालय कास्कीले गत साउन महिनामा ५१ सय सवारी कार्वाहीबाट १६ लाख १६ हजार रुपैयाँ तथा भदौमा ४४ सय सवारी कार्वाहीबाट १४ लाख २९ हजार रुपैया राजश्व संकलन गरेको थियो । नाकावन्दी सुरु भएको असोज महिनामा १९ सय सवारी कार्वाही मार्फत ६ लाख ७९ हजार राजश्व संकलन भएको कास्कीमा कार्तिक महिनामा मात्रै तीन सय ५० सवारी कार्वाहीमा परे । कार्तिकमा नाकावन्दीले ईन्धन आयत ठप्प भएपछि सडक सुनसान भएको थियो । नेपालीहरुको ठूला चाडहरु दशैं र तिहारमा पनि एकाध सवारी सञ्चालनमा आए । सडकमा गुड्ने सवारीको संख्या घटेपछि ट्राफिकको सक्रियतामा पनि कमी आएको थियो । नाका नखुलेपनि बिभिन्न माध्यम र स्थानबाट इन्धन आउन थालेपछि मंसिरदेखि सवारी संख्यामा केहि बृद्धि भयो । जसको कारण सो महिना २४ सय सवारी कार्वाहीबाट ८ लाख १२ हजार रुपैयाँ राजश्व संकलन भयो । पुसमा ४३ सय सवारी कार्वाहीबाट १५ लाख ३१ हजार रुपैयाँ संकलन गरेको कास्की ट्राफिकले माघमा ४१ सय सवारी मार्फत १३ लाख २७ हजार राजश्व अशुली गरेको छ । पछिल्लो सात महिनामा कास्कीमा सवारी कारवाही मार्फत ७५ लाख ४४ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । चालु आर्थिक बर्षमा वितेको सात महिनामा ४ सय ९० सवारी मापसे कारवाहीमा परेका छन् । जसबाट ४ लाख ९० हजार रुपैयाँ राजश्व संकलन भएको छ । इन्धन अभावले सडकमा गुड्ने सवारी संख्यामा कमी आएकाले कार्तिक महिनामा ट्राफिक कारवाहीमा कमी आएको ट्राफिक प्रहरी निरीक्षक श्यामु अर्यालले  जानकारी दिए । सवारी साधनको सीमितताको कारण एउटै सवारीमा क्षमता भन्दा बढी यात्रु चढाउदा पनि ट्राफिक प्रहरीले कारवाही गर्न सक्ने अबस्था थिएन । बाध्यात्मक परिस्थितिमा सावधानी अपनाएर सवारी चलाउन आग्रह गरेको ट्राफिक प्रहरीले सवारी साधन बढ्न थालेपछि भने कडाई गर्न सुरु गरेको छ ।

Post a Comment

 
Top