0
गोल्डेन न्यूज संवाददाता
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र फूलबारी क्लब पोखरा–११, फूलबारीको आयोजनामा शुक्रबार भएको मधुमेह तथा मृगौलासम्बन्धी निःशुल्क रक्त परीक्षणमा पाँच सय ६४ जनाको निःशुल्क परीक्षण गरिएको छ। क्लबको रजत वर्ष महोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल मधुमेही समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद बरालले सर्वसाधारणलाई स्वाथ्य सम्बन्धी सचेतना जगाउने कार्य सरकारको भएको उल्लेख गरे। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बरालले सरकारले गर्नुपर्ने काम विभिन्न संघ, संस्थासँग मिलेर युआरएलले गरेको भन्दै प्रशंसा गरे। टोलटोलमा निःशुल्क शिविर हुनु र अन्य परीक्षणमा पनि उल्लेख छुटको व्यवस्था रहेकाले मौकाको सदुपयोग गर्ने सबैलाई आग्रह गरे। पश्चिमाञ्चलका सह–क्षेत्रीय प्रशासन दिवाकर बास्तोलाले स्वस्थ नागरिकले मात्र समुन्नत देश बनाउनसक्ने भएकाले स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने विचार राखे। ग्रान्डी इन्टरनेशनल हस्पिटलका मृगौला रोग विशेषज्ञ डा. विष्णु पहारीले वेलैमा उपचार गरिए मृगौला रोग पूर्ण रुपमा निको हुनसक्ने जानकारी दिँदै अधिकांश नेपाली अवस्था चिन्ताजनक भएपछिमात्र चिकित्सक कहाँ आउने गरेको उल्लेख गरे। उनले भने–‘वेलैमा उपचार गराए मृगौला पूर्व अवस्थामा आउन सक्छ। पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग केन्द्रका निर्देशक वरिष्ठ फिजिसियन डा मुकुन्दप्रसाद आचार्यले जीवनशैली र खानपानमा ध्यान पु¥याए धेरै रोगबाट बाच्न सकिने उल्लेख गरे। युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले हालसम्म युआरएलका निःशुल्क शिविरमा साढे सात हजार बढीले सेवा लिएको जानकारी दिए। उनले यो वर्ष ‘मधुमेह वर्ष’ का रुपमा १७ शिविर भइसकेको र आगामी वर्ष संस्थाले कुनै अर्काे रोगबारे निःशुल्क सेवा दिने बताए। उनले भने–‘सामाजिक उत्तरदायित्व वोध गरी सर्वसाधारणले सस्तोमा स्तरीय सेवा दिन आगामी सालबाट कुनै अर्काे रोगबारे निःशुल्क शिविर गरिनेछ।’ कार्यक्रममा फूलबारी क्लबका पूर्व अध्यक्ष मोहन बास्तोलाले पनि बोलेका थिए। क्लबका अध्यक्ष टुबराज बाँस्तोला ‘विशाल’को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य नवराज बास्तोला र सञ्चालन सचिव हरिप्रसाद बाँस्तोलाले गरेका थिए।


Post a Comment

 
Top