0
गोल्डेन न्यूज संवाददाता
स्थानीयलाई सहज तरिकाले कृषिजन्य सामाग्री संकलनका लागि कास्कीको भदौरे तामागी गाविस वडा नं. १ देउरालीमा बहुउद्देश्यीय सामुदायिक भवन तथा कृषि संकलन केन्द्र स्थापना गरिएको छ । तीन जिल्लाको संमग स्थल मानिने पञ्चासे क्षेत्रमा पहिलो पटक कृषि संकलन केन्द्रको स्थापना गरिएको हो । भवनको जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रमेश कोइरालाले उद्घाटन गरे । जिल्ला कृषि विकास कार्यालय कास्कीको ५ लाख ६२ हजार, यु.एस.सि., क्यानाडा, एसिया–पिस कार्यक्रमबाट २ लाख ५० हजार र हरियो वन कार्यक्रमबाट ३ लाख, हिरालाल गुरुङबाट ३ हजार र श्रमदान १ लाख गरि कुल १२ लाख १५ हजारको लागतमा निर्माण गरिएको भवन निर्माण समितिका संयोजक आस बहादुर गुरुङले जानकारी दिए । पञ्चासे कृषि विकास समिति, भदौरे १,२ र ३, पञ्चधाम कृषि विकास सहकारी संस्था र माछापुछ्रे विकास संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्थानीयहरुले उत्पादित तरकारीको उचित बजार र ढुवानीमा समस्या रहेको गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कोइरालाले यस क्षेत्रमा कृषिजन्य उत्पादन बढाएर संकलन केन्द्रको भरपुर उपयोग गर्न स्थानीयलाई आग्रह गरे । कृषकलाई जिल्ला कृषिले गर्न सक्ने सहयोग गर्ने उनले सो अवसरमा प्रतिवद्धता व्यक्त गरे। भवन निर्माण समितिका संयोजक आसबहादुर गुरुङले यस क्षेत्रमा बहुउद्देश्यीय अरु भवन पनि आवश्यक रहेको बताए। पञ्चधाम कृषि विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मी गुरुङले छरिएर रहेको पुँजीलाई एकत्रित गरि कृषि क्षेत्रमा लगानी गर्न सहकारी लागिपरेको जानकारी दिए। सल्यान, भदौरे १,२ र ३ मा उत्पादन गरिएको कृषिजन्य सामग्री संकलनको रुपमा यो भवनलाई उपयोग गरिने छ । केहि वर्षपहिले सम्म पोखराबाट तरकारी किनेर खाने कृषकहरु अहिले आफ्नै गाउँमा विषादीरहित तकारी उत्पादन गर्न थालेका छन् । भकारो व्यवस्थापन कार्यक्रमले तरकारी उत्पादनमा वृद्धि समेत भएको कृषक तारा गुरुङले बताए । पञ्चासे कृषि विकास समितिका अध्यक्ष खिमकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ«े विकास संघका कार्यकारी निर्देशक दिल बहादुर भट्टराई, भदौरे क्लवका पूर्व अध्यक्ष आइन्दल गुरुङ, पिस कार्यक्रमका कार्यक्रम संयोजक गुणकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

Post a Comment

 
Top