0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा नीति तथा कार्यक्रमबारे छलफल सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कावा सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा आज भएको बैठकमा आसन्न १३ औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको मस्यौदा पेस भएको छ । महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम तयार पार्न काँग्रेसले नेता पौडेलको संयोजकत्वमा ३५ सदस्यीय नीति तथा कार्यक्रम प्रस्ताव समिति गठन गरेको थियो । समितिका तर्फबाट बैठकमा प्रस्तुत मस्यौदामा बैठकले दुई दिन छलफल गरी पारित गर्ने जनाएको छ । आजको बैठकमा अधिकांश पदाधिकारी एवम् सदस्यले मस्यौदामाथि आफ्ना धारणा राख्नुभएको थियो । मस्यौदामा संविधान कार्यान्वयन, तराई(मधेस आन्दोलन, समसमायिक राजनीति लगायत अन्य विषयलाई समेटिएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताए । मस्यौदामा तराईमा उठेका आन्दोलनलाई स्वशासन, आत्मसम्मान र पहिचानको संज्ञाका रूपमा उल्लेख गरिएको छ । मस्यौदामा तराई–मधेसको जनजीवन सुधारका लागि हुलाकी सडक निर्माण गर्ने, रेल्वे लाइनको स्थापना गर्ने, ग्रामीण सडकको सुधार गर्ने, उत्तर–दक्षिण लिङ्क रोड निर्माण गर्ने र नदी नियन्त्रण अनि वन व्यवस्थापन र पर्यावरण सुधार गर्नुपर्ने उल्लेख छ । त्यस्तै आफ्नै नेतृत्वको सरकारको सक्रियतामा नेपालको संविधान जारी गरेको काँग्रेसले संविधान कार्यान्वयनमा पनि नेतृत्व प्रदान गर्ने सङ्कल्प गरेको छ । काँग्रेसले भविष्यमा आउने राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने दूरदृष्टि, आँट र सङ्कल्पका साथ भावी कार्यनीति, नेतृत्व चयन र सङ्गठन निर्माणको कार्यदिशा निर्धारण गर्ने उल्लेख गरेको छ । संविधान कार्यान्वयनको नेतृत्व लिन काँग्रेस अलिकति पनि उदासीन रहँदा संविधानमा उल्लेख गरिएका लोकतान्त्रिक धाराको अपव्याख्या हुने र मुलुकलाई अलोकतान्त्रिक दिशातिर धकेल्ने प्रयास हुन सक्छ भन्ने आशङ्का गर्दै संविधान कार्यान्वयनका लागि दृढता र सङ्कल्प प्रदर्शन गर्ने नीति प्रस्ताव गरिएको केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए। पार्टीले सीमाङ्कन, नामाङ्कन, प्रशासनिक व्यवस्थापनदेखि स्रोत साधनको पहिचान, परिचालन र उपयोगसम्बन्धी ऐन, नियम र नीति निर्माणलगायतका बाँकी महत्वपूर्ण विषयको टुङ्गो लगाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जनाएको छ । मस्यौदामा प्रजातान्त्रिक समाजवादको आदर्शलाई चरितार्थ गर्ने र बिपीले खडा गरेको धरातलमा अडिएर राष्ट्र हितलाई जोड दिई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्ने काँग्रेसको नीति हुने जनाइएको छ ।  काँग्रेसले आर्थिक पुनरोत्थानका लागि कृषि, पर्यटन, ऊर्जा र मानव क्षमता विकासलाई अभियानका रूपमा प्राथमिकताका साथ अगाडि बढाउने जनाएको छ । त्यस्तै भारत र चीनसँग विश्वसनीय र मैत्रीपूर्ण, सहयोगात्मक सम्बन्धको सन्तुलित र सहकार्य गर्नु नेपालको परराष्ट्र नीतिको सर्वाधिक उच्च प्राथमिकता रहने मस्यौदामा उल्लेख छ । काँग्रेसले नेपालको आर्थिक ,सामाजिक राजनीतिक रुपान्तरण गर्ने, समाजिक न्याय  र आर्थिक वृद्धिबीचको सन्तुलन कायम गर्ने खाद्य सुरक्षा, ऊर्जा सुरक्षा जस्ता आधारभूत कुरा पूरा गर्ने मूल नीति हुने जनाएको छ । त्यस्तै स्वास्थ्य, शिक्षा र खानेपानीलाई आधारभूत आवश्यकता मान्ने, आत्मनिर्भरता उन्मुख अर्थनीति अँगाल्ने तथा ज्ञान र प्रविधि विकास सहितको दिगो विकासमा जोड दिने मुख्य नीति रहने मस्यौदामा उल्लेख  छ । बैठकमा आगामी महाधिवेशन मा विद्युतीय निर्वाचन प्रयोग गर्नेबारेमा समेत छलफल हुनाका साथै सो मतदानका बारेमा व्यावहारिक प्रयोग देखाइएको थियो । काँग्रेसको अर्काे बैठक यही फागुन १३ गते बिहान ११ बजे बस्ने पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए । केन्द्रीय समितिमा एक सय २५ सदस्यीय  माग ः काँग्रेस महासमिति सदस्य एवम् महाधिवेशन प्रतिनिधिले एक सभापति, तीन उपसभापति, तीन महामन्त्री, सात सहमहामन्त्री, एक कोषाध्यक्षसहित एक सय २५ सदस्यीय कार्यसमिति बनाउनुपर्ने माग गरेका छन् । महासमिति सदस्य एवम् महासधिवेशन प्रतिनिधिको राजधानीमा सम्पन्न भेलाले उक्त पदाधिकारी बाहेक ३० खुला सदस्य, १० महिला, छ (छ जनजाति, दलित  र मधेसी, दुई अल्पसङ्ख्यक, एक पिछडिएको क्षेत्र, सात प्रदेशबाट २८ र मनोनीत २३ सदस्यसहित १२५ सदस्यीय कार्यसमितिको माग गरेको युवा नेता पुष्प पराजुलीले जानकारी दिए । भेलाका केही सहभागीले मंगलबार पार्टी केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । यसैबीच कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा पार्टी सभापति सुशील कोइरालाको निधन रहस्यमय भएको भन्दै छानविन हुनुपर्ने माग उठेको छ । केन्द्रीय सदस्य सूर्यमान गुरुङले पार्टी सभापति सुशील कोइरालाको निधन रहस्यमय भएको भन्दै छानविन हुनुपर्ने माग गरे । निधन भएको अघिल्लो दिन विहान आफूले सम्पर्क गर्दा विरामीको गुन्जायस समेत नपाएको बताउँदै गुरुङले राष्ट्रको नेताको निधन एकाएक हुनुमा रहस्य रहेको बताए । उनले विरामी अवस्था भएको भए किन अस्पताल नलगिएको भन्दै पार्टीले छानविन समिति बनाउनु पर्ने बताए । गुरुङको भनाईमा अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँडले पनि समर्थन जनाए । पार्टीको सभापति र पूर्वप्रधानमन्त्री समेत भइसकेको नेतालाई अस्पताल नलगि एक्कासी निवासमै निधनको खवर अपत्यारिलो बनेको बताउदै छानविन हुनुपर्नेमा जोड दिए । खाँडपछि लगतै केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीमा उठेका गम्भीर विषयको टुंगो लगाउने काम पदाधिकारीले गर्दै आएकाले यसबारेमापनि पदाधिकारीबाट निर्णय गर्न आग्रह गरे । उनले पदाधिकारीलाई निर्णय गर्न आग्रह गरेपछि यो बिषय थप अघि बढेन ।


Post a Comment

 
Top