0
नेपाललाई साग फुटबलको उपाधि जिताउन फेरि एकपटक नवयुग श्रेष्ठ निर्णायक बनेका छन् । एक महिनाअघि सम्पन्न बंगबन्धु गोल्डकपमा नायक बनेका उनले सागमा आफ्नो क्षमतालाई पुनः पुष्टि गरे । नवयुग अहिले सामाजिक सञ्जालदेखि चियापसल सम्म चर्चाको पात्र बनिरहेका छन् । धेरैको मुखबाट एउटै वाक्य सुनिन्छ, नवयुगले नेपाली फुटबलमा नवयुग ल्याइदिए । फुटबल विज्ञले २५ वर्षीय यी ‘आर्मी म्यान’ लाई दक्षिण एसियाकै उत्कृष्ट फुटबलरसँग दाँज्न थालेका छन् । हामीले नेपाली राष्ट्रिय टिमबाट खेलेका तीन भेट्रान फुटबलरसँग सोध्यौं, कति उत्कृष्ट खेलाडी हुन् नवयुग ? उनीहरूको जवाफ जस्ताको तस्तै ः
स्कोररको अभाव पूर्ति भयोः उपेन्द्रमान सिंह ः नजनवयुग उदियमान फुटबलर हुन् । उनले नेसनल टिममा आएर छोटो समयमै आफ्नो ट्यालेन्ट देखाएका छन् । आर्मीको खेलाडी भएको हिसाबले उनीमा ‘डिसिप्लिन एन्ड डेडिकेसन’ देखिन्छ, यो उनको सबैभन्दा राम्रो पक्ष हो । गुरुहरूलाई सम्मान गर्ने गुण छ । हाम्रो फुटबललाई लामो समयदेखि स्कोररको अभाव खट्किरहेको थियो, उनी आएपछि त्यो पूर्ति भएको छ । उनले आफ्नो नामजस्तै सन् २०१६ देखि नेपाली फुटबलको नवयुग सुरु गरिदिएको छ । निसन्देह अहिलेको टोलीमा उत्कृष्ट स्ट्राइकर हो, नवयुग । उसले थुप्रै हस्तीलाई पछि पारेर आफ्नो स्थान बनाएको छ ।
नवयुगले अहिलेसम्म गरेका सबैजसो गोल उत्कृष्ट छन् । यो मूलरूपमा उनको मिहिनेतको फल हो र भाग्यले पनि साथ दिएको छ । हरेक खेलाडीलाई सफल हुन भाग्यले साथ त दिनैपर्छ । तर, भाग्यले पनि त्यसलाई साथ दिन्छ, जसले मिहिनेत गर्छ । नवयुगको सबैभन्दा ठूलो क्षमता भनेकै ‘पोस्ट चार्ज’ हो । एउटा स्ट्राइकरमा हुनुपर्ने गुण उसमा छ । अहिलेको र्फमलाई निरन्तरता दिएको खण्डमा धेरै माथि पुग्ने देख्छु ।
वान टच गोलमा विशेष क्षमताः हरि खड्का ः राइट टाइम, राइट पोजिसन र राइट डिसिजनको क्षमता भएको फुटबलर हुन्, नवयुग । खासगरी ‘स्कोरर’ हुन् । उनले अहिलेसम्म जति मौका पाएका छन्, कमै मात्र मिस गरिरहेको देखिन्छ । फुटबल भनेको जित्नका लागि खेलिने खेल हो । जित्नलाई गोल चाहिन्छ । राम्रो खेल्दाखेल्दै फिनिसिङमा चुकेका कारण नेपालले विगतमा धेरै खेल गुमाउनुपरेको थियो । नवयुगले नेपाली फुटबलमा नयाँ युग प्रवेश गराएका छन् ।
मैले पनि लामो समय राष्ट्रिय टिमबाट स्ट्राइकरको भूमिकामा खेलेँ । मेरै कालखण्डमा पनि गोलको खडेरी नै रह्यो । मैले कायम गरेको सर्वा्धिक अन्तर्राष्ट्रिय गोलको रेकर्ड अहिलेसम्म तोडिएको छैन । म चाहन्छु, यो चाँडैभन्दा चाँडै तोडियोस् । किनभने, खेलकुदमा रेकर्ड भनेकै तोड्नका लागि हुन्छन् । नवयुगले नै तोडेको खण्डमा निकै खुसी हुनेछु ।
हाम्रो पालामा पनि टिममा स्ट्राइकरको कमी थिएन । एकसे एक स्ट्राइकर थिए । तर स्ट्राइकरहरू स्कोरर हुन सकेनन् । नवयुगलाई म नेपालको बेस्ट फुटबलरभन्दा पनि बेस्ट स्कोररका रूपमा लिन्छु । उनी समयले जन्माएको प्रतिभा हुन् । राज्यले ठूलो लगानी गरेर जन्माएको होइन । उनलाई पहिले धेरै ठाउँबाट रिजेक्ट हुँदै आएको हो । उनको उदयको श्रेय आर्मीलाई पनि जान्छ । आर्मीका प्रशिक्षक डम्मर गुरुङले उसलाई चान्स दिएका हुन् ।
उनको प्रतिभालाई चिनेर हामीले अन्तर्राष्ट्रिय म्याचमा पहिलो रोजाइमा राख्न जोड गरेका हौं । तर, विदेशी प्रशिक्षकले मानेनन् । पछि बालगोपालले बंगबन्धु खेल्ने सिनियर टिममा खेलाए । यसको अर्थ के हो भने नेपाली खेलाडीलाई नेपाली प्रशिक्षकले नै राम्ररी मूल्यांकन गर्न सक्छ ।
नवयुगले एकदमै छिटो नेपाली टोलीमा आफ्नो भूमिका स्थापित गरेका छन् । अब उनको ठाउँ कसैले लिन सक्दैन । किनकि यत्तिको फिनिसर सितिमिति पाइँदैन । हिजोको गेमको कुरा गर्दा पनि उनको ठाउँमा अर्को खेलाडी भएको भए त्यो गोल नहुन सक्थ्यो । वान टचमा गोल गर्नु उनको विशेष क्षमता हो । यसका लागि आफूलाई सही समयमा सही स्थानमा राख्नु जरुरी हुन्छ । त्योबाहेक एउटा फिनिसरमा हुनुपर्ने छरितोपन नवयुगमा छ । उसले नेपाली फुटबलमा लामै समय राज गर्न सक्छ ।
मेरो विश्वासमा न्याय– महर्जन
नेपाली फुटबलले धेरैपछि उत्कृष्ट फिनिसर पाएको छ । नवयुग एकेडेमीमा नबसीकन छनोट भएर आएका प्लेयर हुन् । उनमा केही क्वालिटी देखेर नै मैले उनलाई पहिलो रोजाइको टोलीमा राखेको हुँ । बंगबन्धु कपमा उनले मेरो विश्वासलाई न्याय गरे । साग फुटबलमा पनि उनले आफूलाई झनै राम्ररी ‘प्रुभ’ गर्न सफल भए । नवयुगमा एट्याकिङ र फिनिसिङ गर्ने क्षमता छ । फिनिसिङमा नहडबडाउनु उनको प्रमुख विशेषता हो । उनले आफूलाई गोलका लागि सही पोजिसनमा राख्छन् । त्यसपछि विपक्षी खेलाडीलाई हेरेर आवश्यकता अनुसार कडा वा नरम सट प्रहार गर्छन् । खेलमा अनुशासनको ठूलो महत्त्व हुन्छ । अनुशासन मैदानभित्र मात्र नभएर बाहिर पनि हुनुपर्छ । हिजोका दिनमा मैदानबाहिरको अनुशासन कमजोर रहेको कुरा आउँथे । त्यसको असर मैदानभित्र पनि पथ्र्यो । सिनियर खेलाडी र कोचलाई सम्मान नगर्ने परिपाटी पनि थियो । नेपाली फुटबलले लामो समय सफलताको मुख देख्न नपाउनुमा यो पनि एउटा कारण रहेको छ ।
अहिलेका युवा खेलाडी अनुशासित छन् । अनि, सबैमा जोश जाँगर भरिएको छ । नवयुग पनि जोसिलो प्लेयर हुन् । एक महिनाभित्र तीनवटा ह्याट्रिक गर्नु चानचुने कुरा होइन । बंगबन्धु कपमा सधैँ म उनको क्षमताबारे सम्झाइरहेको हुन्थेँ । आफ्नो क्षमता चिन्नु पनि खेलमा ठूलो कुरा हो । नवयुगमा विपक्षी खेलाडीले सोच्न नभ्याउँदै चार्ज गर्ने क्षमता छ । हिजो उसले गरेको गोलमा यस्तै भएको छ । बंगबन्धु कपमा पनि उनले वान टच गोल गरेका छन् । उनको क्षमतालाई अझै निखार्दै जानुपर्छ ।

Post a Comment

 
Top