0
दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरूष फुटबलमा नेपालले २३ वर्षपछि स्वर्ण पदकको उपाधि हासिल गरेको छ । सोमबार बेलुका भएको फाइनलमा भारतलाई २–१ ले उसकै घरेलु मैदानमा हराएर १२औँ सागअन्तर्गत पुरूष फुटबलको उपाधि हात पारेको हो । दक्षिण एशियाली महासंघीय खेलकुद (साफ गेम्स) का रुपमा नेपालको राष्ट्रिय टीमले सन् १९८४ मा पहिलो र सन् १९९३ मा छैटौँ उपाधि जितेको थियो, त्यसयता नेपालले स्वर्ण पदक जित्न सकेको थिएन । सन् १९९९ मा दशरथ रंगशालामा आयोजित आठौँ साफ गेम्समा नेपाल फाइनलमा बंगलादेशसँग १–० ले हारेर स्वर्ण पदक गुमाएको थियो । सन् २००६ देखि दक्षिण एसियाली खेलकुदको फुटबलमा २३ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्दै आइरहेका छन् । सागमा २३ वर्षमुनिका युवा खेलाडीले जितेको यो नै पहिलो उपाधि हो । पुरूष फुटबलमा २३ वर्षपछि प्राप्त जितले नेपालको शिर उँचो बनाएको छ । यू–२३ का खेलाडीको यो सफलताले नेपाली फुटबलप्रति हेर्ने दृष्टिकोण र बिग्रँदो साख फिर्ता भएको अनुभूति भएको छ । साग खेलकुदमा स्वर्ण पदक दिलाउने युवा फुटबलर, प्रशिक्षक एवम् खेलसँग सम्बन्धित सबै पक्ष बधाईका पात्र बनेका छन् । नेपालले एक महिनाभित्र फुटबलमा दोस्रो उपाधि हासिल गरेर फुटबलमा नवयुगको सुरूवात गरेको छ । गत जनवरी २२ मा ढाकामा भएको बंगबन्धु गोल्डकपमा फाइनलमा बहराइन यू–२३ लाई ३–० ले हराएर राष्ट्रिय टिम च्याम्पियन भएको थियो । सोही टिमका खेलाडीले नै अहिले सागमा स्वर्ण पदक दिलाएका हुन् । पहिलो हाफमा भारतको घरेलु टीमले १ गोल गरी बलियो प्रदर्शन ग¥यो । तर, नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सब्स्टिच्युट खेलाडी प्रकाश बुढाथोकीले गोल गरी बराबरीमा पु¥याएका थिए । दोस्रो गोलमा पनि प्रकाशले क्रस गरेको बललाई नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्दै उपाधि दिलाए । सागमा नवयुगले सातौँ गोल गर्दै भुटान र माल्दिभ्सविरूद्ध ह्याट्रिक गरे । बंगबन्धु गोल्डकपमा पनि नवयुगले माल्दिभ्सविरूद्ध ह्याट्रिक गरेका थिए । सर्वाधिक गोलकर्ता नवयुग ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भए । नेपाली खेलाडीको यो विजय खेल इतिहासमा स्मरणीय रहने छ । खेलाडी राष्ट्रका गहना हुन् । अहिले हाम्रा महान् खेलाडीहरु राष्ट्रका गहना र पहिचान बनेर नेपालको शिर उच्च राख्न सफल भएका छन् । अवसर पाए नेपाली खेलाडीले सफलता हासिल गर्न सक्छन् भन्ने गतिलो उदाहरणसमेत साग फुटबलमा प्रस्तुत गरेका छन् । साग फुटबलको फाइनलमा घरेलु मैदानमा भारतसँगको प्रतिस्पर्धा आफैँमा महत्वपूर्ण अवसर बन्यो । फिफा वरियताक्रममा नेपालभन्दा माथि रहेको भारतलाई उसकै खेल मैदानमा पराजित गर्नु चुनौतीपूर्ण रहेको थियो । नाकाबन्दी गरेर मन दुखाएको भारतका लागि रवाफिलो जित निकालेर नेपाली आत्मसम्मानमा लागेको ठेसको जवाफ नेपालले दिनुपर्ने थियो, जसलाई नेपाली खेलाडीहरुले सानदार प्रदर्शन गरेर देखाइदिए । दुई दशकपछि सागमा स्वर्ण पदक प्राप्त गरेर नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यही उपलब्धिलाई आमनेपालीले खुसीमा साटिरहेका छन् । नेपाली महिला फुटबल टीमले पनि फाइनलसम्मको यात्रा ग¥यो । पछिल्लो सफलताले नेपाली फुटबल टीमले राष्ट्रका लागि अमूल्य योगदान दिने अपेक्षा लिइएको छ । राष्ट्रलाई स्वर्ण दिलाउने महान् खेलाडीहरुलाई बधाई एवम् शुभकामना !


Post a Comment

 
Top