0
गोल्डेन न्यूज संवाददाता
१२औं दक्षिण एसियाली साग खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार पुरुष फुटबल प्रतियोगितामा नेपालले भुटानसंग प्रतिस्पर्धा गर्दै छ । दूई साताअघि बंगलादेशमा बंगबन्धु गोल्ड कपको उपाधि जितेको नेपाली टोली फेरी अर्को उपाधि जित्ने आशासहित आइतबार प्रतिष्पर्धा गर्न लागेको हो । १२औं साग खेलकुद प्रतियोगितामा आईतबार गुवाहाटी स्थित नेहरु रंगशालामा नेपालले भुटानसंग प्रतिस्पर्धा गर्दै छ । २३ बर्षअघि बंगलादेशमा फुटबलमा गोल्ड मेडल जितेदेखि अहिलेसम्म नेपाल गोल्ड मेडल बिहिन छ । केही साताअघि बंगबन्धु गोल्ड कप फुटबलको उपाधि जितेको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ । नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्य पनि भुटानलाई पराजित गर्दै सुखद् सुरुवातका साथ सेमिफाइनलमा प्रवेश गर्ने दाबी गर्छन् । समूह वि मा रहेको नेपालले भुटानलाई पराजित गर्न सके सेमिफाइनलमा पुग्नेछ । त्यसकारण पनि नेपालका लागि भुटानसंगको खेल फाइनल सरह भएको खेलाडीको भनाई छ ।  नेपालले ११ तारिखमा बंलादेशसंग प्रतिस्पर्धा गर्दै छ । यसैबीच भारतमा जारी दक्षिण एसियाली खेलकूद (साग)मा नेपालका लागि पहिलो रजत पदक दिलाएका विकास थापा यतिवेला दङ्ग छन् । भारत्तोलनको ६२ केजी समूहमा रजत दिलाएका उनी अपेक्षित जित हात पारेपछि दङ्ग भएका हुन् । पाँच पटकसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका विकासले आफूले धेरै मेहनत गरेकाले जित हात पारेको बताए । यसअघि ११ औं दक्षिण एशियाली खेलकूदमा चौथो भएका उनी दक्षिण एसियाली भारत्तोलन प्रतियोगितामा दोश्रो भएका थिए । करिब १० वर्षदेखि भारत्तोलन खेल खेल्दै आएका उनले मेहनत अनुसारको फल मिलेको प्रतिक्रिया दिए । उनले भने,–‘११औं सागमा चौथो भएपनि लगातार मेहनत गर्न छाडेको थिइनँ, प्रशिक्षक र मेरो कडा मेहनतको फल अहिले मिलेको छ, म अत्यन्तै खुशी छु। यता, महिला भलिवलमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ । शनिबार हुने भनिएको खेलमा प्रतिद्वन्द्वी अफ्गानिस्तान सहभागी नभएपछि नेपालले वाकओभर पाउँदै सेमी फाइनलमा प्रवेश गरेको हो । पुरुष भलिवलमा भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार भएको खेलमा भारतसँग १५–२५, १६–२५ र १५–२५ को सोझो सेटमा नेपाल पराजित भएपछि प्रतियोगिताबाटै बाहिरिएको हो ।

Post a Comment

 
Top