0
नवराज सापकोटा
सिमसार क्षेत्र बढी भएको जलाशय कम भएको दिपाङमा नवविवाहित जोडीका रंगिन रात हनिमुनको गन्तव्य बनाउने योजना राम्रो लगानीकर्ता भेट्टाउने हो भने अहिले पनि कार्यान्वयन हुन सक्छ । दिपाङ ताललाई हनिमुन लेकको रुपमा विकास गर्ने योजना थियो लेखनाथका संस्थापक मेयर शालिग्राम पौडेलको । तर अहिले उनि अमेरिका छन् । पौडेलले ‘सात तालको बगैंचा सहर’ को दुरदृष्टि त बनाए तर उनको भिजन नगरपालिका स्थापनाको झण्डै दुई दसक बित्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।
पौडेलले सातै ताललाई फरक फरक शैलीमा विकास गर्न योजना बुनेका थिए । तर सिमित स्रोत र साधनका कारण उनका सपना अहिले पनि नगरपालिकाको कुनै दराजमा थन्किएको हुनुपर्छ । त्यतिखेर उनको भिजन महत्वाकांक्षी भएको व्यंग्य गर्दै लेखनाथबासी भन्थे,–‘पौडेल काठमाडौंको मेयर केशव स्थापितको ठाउँमा हुनुपर्ने, लेखनाथमा परेछन् ।’
सिमसार क्षेत्र बढी भएको जलासय कम भएको दिपाङमा नवविवाहित जोडीका रंगिन रात हनिमुनको गन्तव्य बनाउने योजना राम्रो लगानीकर्ता भेट्टाउने हो भने अहिले पनि कार्यान्वयन हुनसक्छ । जंगलको बीचमा रहेको तालको संरक्षणसँगै वेटल्यान्ड माथि आकर्षक कटेज र त्यही कटेजमाथि नवदम्पत्तिको रात बिताउने शान्त वातावरणको निर्माण र बढी भन्दा बढी पर्यटक भित्य्राउने सायद यस्तै परिकल्पना थियो त्यतिखेर उमेरले ६ दसक पुग्नै लागेका मेयर पौडेलको । सुविधा सम्पन्न बोटिङ, रेस्टुरेन्ट र फिसिङ गर्दै त्यही माछाका परिकार पकाउने अनि पर्यटक रमाउने सहितको परियोजनाको अहिले पनि खोजी भैरहेको छ लेखनाथ–६ मा रहेको दिपाङ तालमा । ३२ हेक्टर क्षेत्रफल रहेको तालको जलभाग १८ हेक्टर छ । अहिले पनि १० हेक्टर भन्दा माथिको जमिनमा खेती भइरहेको छ । जैविक विविधताका दृष्टिले अत्यन्त उर्वर रहे पनि अनियन्त्रित जग्गाविकास कार्यक्रमले संकट अवस्थामा छ । नगरको सबैभन्दा ठूलो बेगनासताल जसले ३ सय २३ हेक्टर क्षेत्रफल ओगटेको छ । जलभाग मात्रै ३ सय ९ हेक्टर छ ।  यो ताललाई अझै पनि नगरपालिकाले सही ढंगले प्रयोग गर्न सकेको छैन । यसमा साहसिक पर्यटनका क्षेत्रमा जलक्रिडा गर्न तालको रुपमा विकास गर्न सुझाव आए पनि अहिलेसम्म कार्यन्वयन हुन सकेको छैन । पोखराको फेवा भन्दा फरक ढंगले मोटरवोट वा अरु कुनै साहसिक जलक्रिडा सम्वन्धी योजनाको आवश्यक छ र यसले लेखनाथमा आउने पर्यटको झण्डै ५० प्रतिशत हिस्सा आकर्षण गर्ने निश्चित छ । स्वच्छ सफा र मनोरम ताल भएकाले यसलाई रिक्रिएसन वा इन्टरटेन्मेन्ट तालका रुपमा विकास गर्न सकिन्छ ।
तालको मापदण्डलाई परिमार्जन गरी भारतको नैनी तालको शैलीमा समेत विकास गर्न सकिन्छ । रुपा र बेगनास क्षेत्रलाई भिलेज रिसोर्ट, कम्युनिटी रिसोर्ट, पोनी ट्रेक र एंगलिङ (बल्छी) स्पोर्टस्को रुपमा समेत विकास गर्न सकिन्छ ।
लेखनाथ नगरपालिकाको १०, ११ र १४ तथा रुपाकोट गाविसको ६ नम्बर वडमा १ सय ६३ हेक्टर क्षेत्रफलमा फैलिएको रुपाताल आफ्नो अस्तित्वको अन्तिम लडाईंमा नै छ । स्थानीय समुदायले माछा पालन गरे पनि तारबार भन्दा बाहिरको जग्गा बर्से्नि अतिक्रमणको चपेटामा पर्दै आएको छ । बिहान, दिउँसो र बेलुका फरक रंगमा देखिने भएकाले पनि यसलाई रुपाताल भनिएको मानिन्छ । यसमा माछा पालन गरी एंगलिङ स्पोर्टस्का रुपमा अघि वढाउन सकिन्छ ।
साथै सुन्दरी डाँडाबाट रुपाकोटसम्म केबुल कार, बन्जि जम्पको विकास गर्ने योजना ल्याइए पनि कार्यान्वयन हुन सकेको छैन । चराचुरुंगीका लागि बासस्थान भएकाले पनि यसलाई बर्ड वाचिङ तालका रुपमा विकास गर्न सकिन्छ । ४ नम्बर वडामा रहेकोे १२ हेक्टरमा फैलिएको गुँदे ताल पनि संरक्षणको पर्खाइमा छ । गुँदे तालमा गुन्द्री बुन्न प्रयोग हुने एक प्रकारको गुँद नामक वनस्पति पाइने भएकाले यसलाई सोही नामबाट चिनिएको हो । यस तालमा चराहरुको बासस्थान लागि उपयुक्त मानिन्छ । यसलाई संरक्षण गरी विकास गर्न सकिने सम्भावना छ ।
न्युरेनी ताल नगरपालिकाकै वडा नम्बर ४ मा पर्ने अर्को ताल हो । यसको क्षेत्रफल ६.७९ हेक्टर छ भने जलभाग ४ दशमलव १६ हेक्टर छ । यसलाई पनि फिसिङ लेकका रुपमा विकास गर्न सकिन्छ साथै यसको सिमसार क्षेत्रको संरक्षण गरी बर्ड वाचिङ लेकका रुपमा विकास गर्न सकिन्छ ।
कुनै समय खास्टे उद्यम कृषि प्रालिले व्यवसायिक रुपमा माछा पालनको थालनी गरे पनि अहिले अलपत्र अवस्थामा नै रहेको खास्टे तालको क्षेत्रलफल २५ हेक्टर छ । यसमा पनि १० हेक्टर क्षेत्रमा खेती गरिएको छ भने सिमसार क्षेत्र १ हेक्टर छ । यो ताल बसाईं÷सराईं गरी आउने चराहरुको उपयुक्त बासस्थान नै भएकाले सोही ढंगले विकास गरी अघि बढाउन सकिन्छ । पछिल्लो समयमा रामसार सूचीमा सूचीकृत भएपछि भने लेखनाथका तालले मुहार फेर्नेमा नगरबासी आशावादी छन् ।
मैदी ताल अब लगभग नाममा मात्रै सिमित रहन पुग्ने अवस्थामा छ । नगरको यो सबैभन्दा लोप हुने लागेको र संकटापन्न ताल हो । तालको जलक्षेत्र भन्दा सिमसार क्षेत्र बढी भएको मानवीय अतिक्रमण पनि बढी नै भएको ताल हो । झण्डै तालकै नजिक माटोले पुरेर जग्गा प्लटिङ समेत भएको छ । यसलाई संरक्षण नगर्ने हो भने ६ तालको सहर भन्नुपर्ने अवस्था छ । जलस्रोत र प्राकृतिक सम्पदाका हिसावले अत्यन्त धनी मानिने यस लेखनाथ नगरपालिकाका सात ताललाई जोड्ने लिंक रोडको निर्माण गरी पैदल यात्रा, घोडयात्राको सम्भावनालाई समेत अघि बढाउन सकिन्छ । यसले लेखनाथको पर्यटन उद्योगमा कायापलट हुने सम्भावना छ । केबल खाँचो छ त योजना र लगानीको ।


Post a Comment

 
Top