0
घरको आर्थिक अवस्था दयनीय । बाजुरा जस्तो विकट जिल्ला । हातमुख जोड्न नै मुस्किल परेका बेला सानो बच्चालाई मुटु रोग र मृगौला सम्बन्धी खराबी एकैपटक भयो । छतारा गाविस वडा नं. ८ घर भएका कृपाराम न्यौपाने आफ्ना चार वर्षीय नाबालक छोरोको उपचारका लागि जसोतसो काठमाडौं पुगे। छरछिमेकले दिएको छ हजारले काठमाडौंसम्म त पुगे तर उपचार गर्नु कसरी ? उनको पीडामा मल्हम लगाउन सरोज थापा लगायतको अभियान सुरु भयो । चार वर्ष नपुग्दै मुटुमा प्वाल, मृगौलामा खराबी भएका आशिष न्यौपानेको उपचारमा सहयोगका लागि टि–सर्ट फर च्यारिटी अभियान सुरु भयो । नेतालाई बाल, जनताको आफ्नै ताल, हेर देशको बेहाल’ लेखिएको सेतो रंगको आकर्षक टिसर्ट पाँच सय ७० रुपैंयामा विक्री गरी केहि रकम संकलन भयो । यो अभियानमा नेपाली फुटबलका स्टार बिमल घर्तीमगर समेतले साथ दिए। काठमाडौंको कान्तिबाल अस्पतालमा निमोनियाको उपचारपछि अहिले आशिषको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोईरालाका अनुसार एक महिनापछि हुने अप्रेशनका लागि आर्थिक जोहो गर्नुपर्ने बाध्यता परिवारलाई छ । मुटुरोगीलाई सरकारले गर्ने उपचार निःशुल्क भएकाले औषधि र खान बस्नका लागि मात्रै समस्या भएको हो । आशिषको पिसाव नलीको समेत अपरेशन गर्नुपर्नेछ । सामाजिक सञ्जाल फेसबुकमा नेपाली एडल्ट जोक्स पेज र चर्चित ग्रुप मेन्स रुम रिलोडेडमा उनको उपचार सहयोगमा अपिलहरु भईरहेका छन् । सहयोग संकलन पनि जारी छ । पोखरामा पनि मेन्स रुम रिलोडेड (एमआरआर) पोखराले आशिष बचाउन अभियान अन्तर्गत आर्थिक संकलन जारी राखेको छ । हिमचन्द्र ट्रस्टले आशिषको उपचारका लागि १५ हजार रुपैंया सहयोग प्रदान गरेको छ । हिमलाल र चन्द्रकला न्यौपानेका तर्फबाट छोरा सबिन न्यौपानेले सो रकम एमआरआर पोखरा प्रतिनिधि सूर्य तिमिल्सिना लाई हस्तान्तरण गरेका थिए । ‘एउटा अबोध बच्चा जसले आफ्नो जीवन के हो नै बुझेको छैनन्, उही बच्चा मुटु, मृगौला र निमोनियाबाट पीडित छन्’– एमआरआर पोखरामा सक्रिय सदस्य समेत रहेका सबिनले भने–‘त्यसैले थोरै भएपनि सहयोग होस् भनेर रकम प्रदान गरेका हौं । महेन्द्रपुल, पृथ्वीचोक क्षेत्रमा आशिष बचाउ ब्यानर लिएर सहयोग रकम संकलन गर्ने एमआरआर पोखराको योजना छ । तिमिल्सिनाका अनुसार टिसर्ट विक्रीबाट समेत रकम संकलन गरी आशिषका परिवारलाई हस्तान्तरण गरिनेछ । आशिषको लागि सहयोग गर्न चाहने सहयोगी मनहरुले मेगा बैंकको खाता नं.  मार्फत र आशिषका बुवालाई सम्पर्क गरि सहयोग गर्न सकिनेछ । (एजेन्सी)





Post a Comment

 
Top