0
गोल्डेन न्यूज संवाददाता
जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखबाट सुरुवा भएका प्रहरी उपरीक्षक हरि बहादुर पालको औपचारिक बिदाई गरिएको छ । महानगरीय दंगा नियन्त्रण प्रहरी गण काठमाडांैमा सरुवा भएका उनलाई आईतवार बिदाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र आयोजित कार्यक्रमका बीच विभिन्न संघसंस्थाले उनलाई बिदाई गर्दै सफलताको शुभकामना ब्यक्त गरे । कार्यक्रममा बोल्दै तमु धि नेपालकी अध्यक्ष कर्म तमुले पालले कास्कीमा रहेर उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरिन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा, लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरी, महिला तथा वालवालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसी, कवि तिर्थ श्रेष्ठ, प्रहरी निरीक्षक चन्द्रा गुरुङ एसपी पालको उत्कृष्ट कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि सफलताको कामना गरेका थिए । कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक पालले एक बर्षे कार्यकालमा शान्ति सुरक्षा स्थापनाको लागि आफूले सक्दो काम गरेको बताए । उनले पछिल्लो समय भएका घटनावारे पनि अनुसन्धान चलिरहेकाले शंका नगर्न आग्रह गरे । कसैको लोभ प्रलोभनमा नपरी निःस्वार्थ रुपमा काम गर्ने क्रममा विभिन्न आरोपहरु प्नि आफुमाथि आएको उनको गुनासो छ । ‘हामीलाई कुनै आग्रह पूर्वाग्रह , स्वार्थ पनि छैन र कसैलाई फसाउनुपनि छैन,’ उनले भने–‘सत्यको पछि लाग्नुहोस् भ्रमको पछि लागेर हुँदैन ।’ पर्यटकीय नगरी पोखराको गलत सन्देश जाने गरी सामाजिक सञ्जालमा भ्रम फैलाएपनि पोखरा त्यस्तो नरहेको उनले स्पष्ट पारे । प्रहरी प्रधान कार्यालयले माघ २९ गते निकालेको १७ जना प्रहरी उपरीक्षकको सरुवा सूचिमा उनको नाम दोस्रो स्थानमा छ । प्रहरी प्रमुख पाल सोमवार काठमाडौं जादैछन् भने उनको स्थानमा केन्द्रीय प्रहरी विशेष कार्यदलमा रहेका प्रहरी उपरीक्षक घनश्याम अर्याल आउदैछन् । अर्यालले सोमवारनै कार्यभार सम्हाल्ने बताईएको छ । यसैगरी सरुवा भई जान लागेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पाललाई पश्चिमाञ्चल होटल संघ पोखराले बिदाई गरेको छ । संघले आयोजना गरेको सानो कार्यक्रममा संघका अध्यक्ष भरतराज पराजुलीले प्रहरी उपरीक्षक पालको विदाई गरेका थिए । सो अवसरमा बोल्दै पालले आफ्नो कास्की बसाई सुखद् रहेको र थुप्रै राम्रा काम समेत गर्न आफू सफल भएको भनाई राखे । आफू जहाँ रहे पनि कस्केलीको आत्मीयता नभुल्ने बताउँदै पालले होटलकर्मीलाई सो अवसरमा उनीहरुले गरेको सहकार्यप्रति धन्यवाद पनि दिए । संघका अध्यक्ष भरतराज पराजुलीले पालको कार्यकालमा जिल्लाको शान्ति सुरक्षाको अवस्था राम्रो रहेको बताउँदै पर्यटन क्षेत्रसँग पालले गरेको सहकार्यको सह्राना गरे ।







Post a Comment

 
Top