0
गोल्डेन न्यूज संवाददाता
लोकस्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको पाँचौ स्मृति दिवसमा विविध कार्यक्रम  सम्पन्न भयो । उक्त अवसरमा भूकम्पबाट क्षतिग्रस्त फुम्रोखुँ बराह माविलाई नवनिर्मित भवन हस्तान्तरण, शिक्षासेवी बलवीरसिंह नेगीलाई सम्मान, विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरियो । बैशाख १२ र २९ गतेको महाभूकम्पबाट कास्की जिल्ला घान्द्रुक गाविस वडा नं. १ क्लिउ स्थित क्षतिग्रस्त फुम्रोखुँ बराह माविमा कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा १८ लाख ८५ हजार रुपैयाँमा निर्मित तीन कोठे विद्यालय भवन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार, सँस्कृतिकर्मी, चलचित्र निर्देशक चेतन कार्कीले ताम्रपत्र अनावरण गरी उद्घाटन पश्चात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोरनबहादुर क्षेत्री र प्रधानाध्यापक दीपक क्षेत्रीलाई चावी हस्तान्तरण गरेका थिए । 
यसैगरी फुम्रोखुँ बराह माविको प्राङ्गणमा आयोजित कार्यक्रममा ५६  प्राध्यापन र २३ वर्ष क्याम्पस प्रमुख भई शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याएका शिक्षासेवी बलबीरसिंह नेगीलाई शिक्षा सम्मान गरिएको थियो । शिक्षासेवी नेगी अस्वस्थ्यका कारण कार्यक्रममा सहभागी नभएपनि छोरा सन्दीप नेगी मार्फत २५ हजार १ रुपैया ताम्रपत्रसहित सम्मान गरिएको हो । कार्यक्रममा फुम्रोखुँ बराह माविमा अध्ययनरत विद्यार्थीहरु विच  आयोजित शिक्षाको महत्व विषयक कविता प्रतियोगिता विजयी र सहभागीहरुलाई पुरस्कृत गरिएको थियो । प्रतियोगिताको संयोजन प्रतिष्ठानको उपाध्यक्ष ज्ञानबहादुर थापाले गरेका थिए भने मुख्य निर्णायकमा युवा साहित्यकार असफल गौतम रहेका थिए ।  यसैगरी प्रतिष्ठानका सदस्य गजबहादुर गुरुङको संयोजकत्वमा पोखरामा अन्तरमावि दौड प्रतियोगिताका विजयी धावकहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । कार्यक्रममा समाजसेवी टिका कार्कीले प्रतिष्ठानको अक्षयकोषका निम्ति ५१ हजार रुपैयाँ सहयोग गरेका थिए भने प्रतिष्ठानका आजीवन सदस्यहरुलाई सदस्यता वितरण, सहयोगीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बाल्दै चेतन कार्कीले कल्याण शेरचनको योगदानको चर्चा गरे। उनले कल्याणको योगदानलाइ सधै जीवन्त बनाइ राख्नुपर्नेमा जोड दिएका थिए । प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ ह्योल्मो अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ज्ञानबहादुर थापा, सचिव श्रीजंग गुरुङ, सल्लाहकार दीपेन्द्र श्रेष्ठ, बलबीरसिंह नेगीका छोरा सन्दीप नेगी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोरनबहादुर क्षेत्री, जिल्ला शिक्षा कार्यालय कास्कीका प्रतिनिधि स्रोत व्यक्ति टेकनाथ पोखरेल लगायतले बोलेका थिए ।

Post a Comment

 
Top