0
गोल्डेन न्यूज संवाददाता
कास्कीको नामार्जुङ गाविस वडा नं. ८, ९ मा घ्याम्राङ्ग खानेपानीको उद्घाटन गरिएको छ । दुई वर्षअघि नै निर्माण सम्पन्न भएको सो खानेपानीको शनिवार नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति वामदेव ढुङ्गानाले शुभारम्भ गरेका हुन् । खानेपानी घरमै आउन थालेपछि स्थानीयलाई टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छ । यसअघि माथिबाट मोदी खोला बगेको देखिएपनि यहाँका स्थानीयहरु भने पानीका लागि पधेरो र कुवामा जानुपथ्र्यो । ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्डवोर्ड) को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सो खानेपानी आयोजना सम्पन्न गरेको हो ।  सोहि गाविसको वडा नं. ८ मा अवस्थित कुरियोको भन्ने स्थानबाट करिव डेढ किलोमिटर माथिबाट सो पानी ल्याइएको हो । फण्डवोर्डको ११ लाख ५० हजार, समुदायबाट १ लाख ५१ हजार, श्रमदान ७ लाख ७० हजार, जिल्ला विकास समिति, गाविसको सहयोगमा कुल २० लाख ७२ हजारको लागतमा सो खानेपानी योजना सम्पन्न भएको हो । नामार्जुङ गाविस वडा नं. ८ र ९ का ५१ घरपरिवारका ३ सय ८२ जनसंख्या लाभान्वित भएका छन् । ५१ वटा धारामध्य २ वटा सार्वजनिक रहेका छन् । उक्त अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति वामदेव ढुङ्गानाले मानवको हितमा समर्पित रेडक्रसले दाता खोजेर समुदायसँग पुलको काम गरेको बताए । रेडक्रस कास्कीका मन्त्री कृष्ण तिमिल्सिनाले खानेपानीको दिगो सञ्चालनका लागि संरक्षण गर्न समुदायलाई आग्रह गरे । नामार्जुङ गाविस सचिव शिवप्रसाद पनेरुले प्रत्येक घरमा आएको पानीले आयआर्जनका काम गर्नुपर्नेमा जोड दिए ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष टुमप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रतिनिधि टोक बहादुर गुरुङ, एमालेका राम गुरुङ, समितिका सचिव कर्ण बहादुर गुरुङ, कोषाध्यक्ष मनमाया गुरुङ, देवान गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 
यसैबीच नेपाल रेडक्रस सोसाइटी भलाम उपशाखाको ११ औं साधारणसभा भलाममा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य इश्वरीप्रसाद आचार्यले मानवीय संकट पर्दाको साथी रेडक्रस भएको बताउँदै सामाजिक कार्यमा लाग्न आग्रह गरे । उपशाखाका अध्यक्ष फडिन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र माविका जुरेस संरक्षक विष्णु खत्रीले सात सिद्धान्त वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव इश्वरी पौडेलले गरेका थिए । कार्यक्रममा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो । सोहि अवसरमा ५ जनालाई विशिष्ट सदस्यता प्रदान गर्नुका साथै सम्मान समेत गरिएको थियो ।


Post a Comment

 
Top