0
आफूलाई लाग्छ, न यो खराब आदत हो न असल, छुट्याउन सकिरहेको छैन । असल हो भनु भने मैले लेखेका समीक्षाका विषयलाई लिएर असफलले समीक्षा लेखेको छ भन्ने खबर सुन्दा जति उत्साहित भएको थिए अध्ययन गरेपछि मेरो उत्साह शुन्यमा झर्यो भन्नेहरू पनि छन् । उनीहरूलाई देख्दा मेरो यो खराब आदतलाई कसरी सुधार्ने होला भन्ने लाग्छ । त्यो मात्र पनि होइन, सर ! तपाईंले मेरो कृति अध्ययन गरेर मनमा लागेका कुरा लेखिदिनु भयो तपाईंले लगाएको ऋण कसरी तिर्न सक्छु ? एक दिन समय मिलाएर हाम्रो घरमा आउनु होला, धेरै साहित्यिक गतिविधिका बारेका र वर्तमानको लेखनीका विषयमा अनि आफ्नै दुखम्सुखम् कुराकानी गरेर बसौंला भन्नेहरू पनि छन् । उनीहरूले यसो भन्दा म असल मार्गमा लागेको रहेछु भनेर चित्त पनि बुझाउछु । यो त घर बाहिरको कुरा भयो । घरभित्र पसेर हेर्ने हो भने त्यहाँ पनि उस्तै डरलाग्दो रोग छ । खुरुक्क आयोगका पुस्तकहरू अध्ययन गरेर सरकारी जागिर खानतिर ध्यान जानु छैन, साहित्य(साहित्य भन्दै महिनाभरिको तलब ल्यायो पत्रिका र कृति भन्यो आफू नाङ्गाको नाङ्गै । एक दिन घर बस्ने पनि होइन, न समयमा खानु न सुत्नु । यो परिवारको कचकच हो । फेरि ९० वर्षीय आमा पनि भन्नुहुन्छ, एउटा मटरसाइकल किन भन्दा किताब निकारेल बाढिस् बाबु ! किन फक्कैमा यी किताब र पत्रिका निकालेर बाढेको छस् ? अब त केटाकेटी भएर नहिड् न ! यस्ता यावद कुरा सुन्दा मैले नकाम गरेकि भनेर सोच्छु । बिस्तरामा पल्टेर सम्झन्छु, मलाई थाहा छ । मैले थालनी गरेको काम नकाम हैन । हिजो भूपी शेरचनलाई बाबुले बाटो खर्च लिएर जाऊ भन्दै दिएको रुपैया पैसा च्यातेर हिडेका थिए साहित्य सिर्जनाका लागि । लोककवि अलि मियाँ चौतारीमा बसेर चुरा बेच्दै फुर्सदको समयमा साहित्य साधना गरेको सम्झन्छु । गोकुल जोशी डुल्दै डुल्दै भनेका वाक्यहरू भोकभोकै मर्न लागे कवि कलाकार भनेर लेखेको पनि सम्झन्छु । मैले त घरमै बसेर कलम चलाएको छु । मन बुझाउछु अनि फेरि लेख्न थाल्छु । यहाँ उल्लेख गरेका पङ्क्तिकारका आफ्ना गथासोक र गुनासा भए तर उठान गरिएको विषय भनेको लेखनाथ काफ्ले र उनको पछिल्लो समय प्रकाशन भएको सबैभन्दा लघु तर दमदार विधाको रुपमा चिनिएको विधाको कृति मट्याङ्ग्रा (२०६८) मुक्तकसङ्ग्रहको हो । 
घर कहाँ हो भनेर स्याङ्जामा खोजी भयो भने लेखनाथ काफ्लेको बस्ती हराउन सक्छ तर लेखनाथ काफ्ले को हो भनेर स्याङ्जामा खोज्यो भने उनको पहिचान हराउन सक्दैन । किनकि स्याङ्जाली साहित्यमा लेखनाथ काफ्ले कुनै नयाँ नाम होइन । मैले चिनेको लेखनाथमा त्यही फरक छ र हिजोको लेखनाथ आजको लेखनाथ हुनुको कमाइ पनि त्यही हो । सिङ्गो स्याङ्जामा कयौं मान्छेहरू छन्, तमाम मान्छेको किन खोजी हुँदैन ? कयौं विद्यालयका शिक्षकहरू छन्, किन उनीहरूको नाम सम्झदैनन् र थाहा हुँदैन ? किन अरु शिक्षकहरूलाई असफलले चिनेको छैन ? फेरि त्यो सुन्तलाबारी भनेको न आफू गएको, न देखेको छ र पनि चिन्छ पङ्क्तिकारले लेखनाथ काफ्लेलाइ। त्यही हो आजसम्मको लेखनाथ काफ्लेको कमाई र सन्तुष्टि पनि । यी र यस्ता सावद प्रश्नहरूको जवाफ बनेका छ्न उनी त्यसैले लेखनाथ काफ्ले महान छन् । यस्तै कुरा सम्झन्छु र म कलमको गति अगाडि बढाउछु । 
पङ्क्तिकारलाई पछिल्लो समय स्याङ्जा साहित्य प्रतिष्ठानबाट प्रकाशन भएको उनै काफ्लेको मुक्तकसङ्ग्रह मट्याङ्ग्रा (२०६८) उपहार भेट मिलेको छ । एउटा पाठकको धर्म के हो ? मैले कति बुझे या बुझेको छैन थाहा छैन । मेरो हात परेका पुस्तकको अध्ययन ढिलोचाडो ति अध्ययनका विषय बन्छन् । अध्ययनका विषय मात्र हैन, लेखकका सम्मानकाखातिर लिखित या मौखिक शब्द खर्च हुन्छन् । यो मेरो आदत बनेको छ त्यसैले आज मेरो विवेकको मसीले विचारका अक्षर पारिरहेको छु, उनै काफ्लेको मट्याङ्ग्रामा नजर डुलाएर । २०४४ सालमा वियाड नामक कविता कृतिबाट साहित्यमा लागेका लेखनाथ काफ्ले स्याङ्जाली साहित्यका क्रियाशील सर्जक हुन् । उनीसँग वषौंवर्षको समयावधि सँगसँगै बिताएको पनि छैन पङ्क्तिकारले । उनका आधा दर्जन कृति प्रकाशन हुँदा उनीसँगको नजिकैको भेटघाट भनेको बारम्बार हुने गरेको पनि हैन, कहिलेकाही आक्कल झुक्कल मात्रै हो । तिनै आक्कल झुक्कलका बसाईंले उनको मेहेनत, सालिनता, इमान्दारिता, कर्मशीलता, सङ्घर्षशीलता, भद्रता र नम्रताजस्ता अनेकन गुणहरूका बारेमा पङ्क्तिकारले जानकारी प्राप्त गरिसकेको छ । आजसम्म लेखनाथ काफ्लेसँगको भेटबाट यो कलमजीविले कमाएको पनि त्यही हो र उनका गुणदोष भनेका पनि यिनै हुन् यी बाहेक भन्नु केही छैन । 
वियाड (२०४४), सपना (२०४६), अचार (२०६६), रामवाण (२०६७) र मटयाङ्ग्रा उनका साहित्यिक कृति हुन् । यसबाट उनको साहित्यिक यात्रा कसरी अगाडि बढेको छ भन्ने कुरा पनि प्रष्ट हुन्छ । एक ग्रामीण परिवेशमा हुर्केर, बढेर, पढेर अनि सिक्ने र सिकाउने पेशा अपनाएका लेखनाथले जिन्दगीमा सिक्ने र सिकाउनेबाहेक अरु केही पनि जानेनन् । यदि उनले सबै कुरा जानेको भए फेरि आजको लेखनाथ काफ्ले बन्ने पनि थिएनन् । उनलाई आफ्ना अग्रजले मार्गनिर्देश गरेर छोडेको असल बाटो समाते । न उनी भरीलो, सुकिलोमुकिलो देखेर लोभिए, न धनदौलत, मेवा मिष्ठान्न देखेर त्यहा हाम फाले । न उनले शिक्षणका नाममा खेताला शिक्षक राखेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरे । न त साहित्यको उत्थानका नाममा दुनियाको चाकडी, पार्टीको झण्डा र अरुको लठ्ठी बनेर हिडे । अरु साहित्यकार र लेखनाथबीचको प्रतिष्ठाको पोल खुल्ने विषय भनेको यही हो त्यसैले उनी स्याङ्जाली साहित्यमा मात्र नभएर नेपाली साहित्यको आकाशमा महान क्रियाशील सर्जक भनेर आफ्नो द्रबिलो पाइलो पारेका छन् । त्यसैले स्याङ्जामा रहेका अरु सर्जक र लेखनाथबीचको मतमिन्नता कसैसँग केही कुरामा हुन्छ भने फरक भनेको यही कुरामा हुन्छ । उनी असल मार्गमा बाटो नबिराइकन, कसैलाई नपिराइकन र नडराइकन हिडेका छन् र त आजसम्म आइपुगेका छन् ! जिन्दगीका बाटाहरू अनकन्टार र डरराग्दा छन् । बिहान बादल खुलेर घाम लागेको वेला दिनको मध्यानमा बादल मडाएिका दिनहरू इतिहासका पानामा रहेका छैनन् र ? फेरि उनले सिकाएकाहरू उनी भन्दा धुरन्धर बन्यौं भनेर उनीसँगै फुर्ति देखाएकाहरू पनि छैनन् र ? उनको महानतामा उनी गर्व गछर्न आफ्नै चेलो हो राम्रो गरेको छ भनेर । फेरि नेपाली समाजमा अर्काको राम्रो गरेको देख्न सक्ने को होला र ? यस्तै लेखनाथ काफ्ले छन् र त उनको पहिचान उचो बनेको छ वर्तमानमा । मुक्तकको संरचना विवादमा देखिएका विविध समस्याहरू उनको यस सङ्ग्रहमा पनि देखिएका छन् ।  जम्मा ८४ पृष्ठमा फैलिएको कृति भित्र उनका २२० वटा मुक्तकहरू रहेका छन् । उनको पछिल्लो कृति मटयाङ्ग्रा चतुष्पदिय रुबाइयात संरचनामा संरचित मुक्तकहरूको सङ्ग्रह हो । वर्तमानमा मुक्तक भनेको रुबाइयात संरचनाको मात्र मुक्तक हो भन्नेहरूको लाम एकातिर रहेको छ भने अर्कोतर्फ मुक्तकका संरचना चार थरी छन् भन्नेहरू एकातिर रहेका छन् । उनका सबै संरचना रुबाइयातका रहेका छन् तर वर्तमानमा लेख्न गरिएका रुबाइयात संरचनामा रहेर तुक मिलेका मुक्तक भने उनको सङ्ग्रहमा ज्यादै कम रहेका छन् । आकारमा हिसाबले कृति सानो तर आयामका दृष्टिले ठूलो हो । दुई सय बीसवटा मुक्तकका विषयवस्तु भनेका एकाएक गरेर केलाउने हो भने महाभारतको युद्ध सम्झनु हो । त्यसैले उनका केही गुण र दोषको बारेमा थोरबहुत चर्चा गर्न नै यो बसाईंको मुख्य ध्यये रहने छ । 
उनको साहित्यिक यात्रातर्फको मुक्तक लेखन निकै दु्रतगतीमा अगाडि बढेको देख्न सकिन्छ यो निकै पंशंसनीय कुरा हो । यसभन्दा अगाडिको कृति अचारमा पनि उनले मुक्तक खण्ड भनेर ३३ वटा मुक्तकहरू समावेश गरेका थिए । त्यहीबाट उनले आफ्नो मुक्तक यात्राको सशक्त पाइलो पारेका थिए । मलाई सम्झना छ उनको अचार भित्रको एक मुक्तक र उनले भनेका छन्, महलभित्र मुर्ख बस्छन्, कुटीभित्र ज्ञानी बस्छन् संसार नै उल्टो छ कि ? अर्ध मान्छे विदेश फस्छन् । (पृष्ठः९२ अचार) यसबाट उनको मुक्तक क्षेत्रको क्रियाशीलतालाई दर्शाएको वेला मुक्तकसङ्ग्रह नै प्रकाशन हुनु निकै समय सान्र्दभिक कुरा हो । यस्तै उनको मट्याङ्ग्रा भित्र संग्रहित अन्तिम अन्तिम तिरका मुक्तकहरू निकै दमदार र मार्मिक अनि पक्का रुबाइयात संरचनाका रहेका छन् । अग्रज साहित्यकार विश्वप्रेम अधिकारी र मुक्तकका पहिलो विद्यावारिधी डा. मुरारी पराजुलीको आलेखले उनका मुक्तकको तौल ग्रहौं बनाएको छन् । हेरौं एक उत्कृष्ट मुक्तकः
मलाई गंगा नलैजानु मरेपछि गाडे हुन्छ
त्यही ठाउँमा राम्रो हुने कुनै बेर्नो सारे हुन्छ
ठूलो भई फाइदा दिओस् त्यो बुटाले प्राणीलाई
पिण्ड दिने तिथि सम्झी तपर्ण त्यही पारे हुन्छ । (पृष्ठः७४) 
यस्ता मुक्तकहरू समावेश भएर उनको कृतिको तौल गहुँगो बनाएको मात्र हैन । उनलाई एक धुरन्धर मुक्तककारको कोटामा उभ्याएको अनुमान गर्न सबैलाई सहज भएको छ । नेपाली जनजीवनको भाषाशैलीलाई पटक्क टिपेर साहित्यको मालामा उनेर प्रदशर्न गर्न सक्नु उनको मौलिकता हो । उनी मौलिकतालाई मन पराउने साहित्यकार हुन र त उनका कृतिको मौलिकताको गुणगान हुन्छ । भाषाशैलीको सन्दर्भमा पनि उनी आगन्तुक, ठेट नेपाली र झर्रा शब्दको अधिक प्रयोग गर्ने सफल प्रयोक्ता हुन् । उनका कृतिका  नामबाट पनि त्यो कुरा प्रष्ट हुन्छ । नेपाली जनजिब्रोका बोलीहरू नै उनका कृतिका शीर्षक बनेका छन् भने त्यहाँ प्रयोग भएको भाषा त्यसैबाट मुल्याङ्क्न गर्न सकिन्छ । बिम्बप्रतिक र अलङ्करको सन्दर्भमा पनि उनी समयसान्दर्भिक बिम्बको प्रयोग गरेर आफ्नो साहित्यिक यात्रालाई दमदार बनाएका छन् । त्यसैले उनी यहाँ उल्लेख गरेको विविध पाटाहरूमा सफल र उत्कृष्ट मुक्तककारको रुपमा देखापर्छन । हामी सबैलाई थाहा भएको कुरा हो । दुनियामा ३२ लक्षणले युक्त बस्तु यो दुनियामा रहदैन् भनिन्छ यस्ता राम्रा पक्षहरू हुँदाहुँदा पनि उनका केही नराम्रा र कमजोर मुक्तकहरू पनि समावेश भएका छन् यो कृतिमा । कृति भित्रका मुक्तक उनले रुबाइयात संरचनाका बनाउन खोजे पनि केही बन्न सकेका छैनन् । यो उनले नस्वीकारे पनि छरपष्ट देखिने कुरा हो । एउटा सर्जक समीक्षाकको आँखामा स्वच्छ कसै पनि रहन सक्दैन । त्यहाँ हरेक कोणबाट अध्ययन विश्लेषण र अध्ययन हुन्छ अनि कसरी स्वच्छ देखिन्छ त धुलो मैलो त कही केही हुन्छ नै त्यसतै लेखनाथ काफ्लेका मुक्तकमा पनि केही धुलो मैलो टासिएका छन् । कुनै पनि कृतिको मुटु भनेको आवरण वा पुस्तकको बाहिरी कभर हो । उनले आफ्नो मुक्तकसङ्ग्रहलाई निकै उत्कृष्ट बनाउन खोजे पनि बाहिरी आवरणको व्यवस्थापन सही रुपमा नहुँदा लेखकको नाम पनि धन्नै चिप्लीएको छैन । यो छपाईंको प्राविधिक समस्याले गर्दा देखिएको समस्या हो । उनलाई थाहा हुनुपर्छ कि एउटा नववधुका लागि तयार गर्नका लागि टिपिएको दुबो राम्रोसँग धागोको तानमा उन्न सकियो भने मात्र वधुलाई पहिराउने सुन्दर माला बन्न पुग्छ र जसलाई जिन्दगीको सबैभन्दा उत्कृष्ट क्षणको रुपमा लिन सकिन्छ । तर दुबो टिपेर थुपारेर मात्र त्यहाँ सबै समय र सन्दर्भको संयोजन मिलाउन सकिएन भने त्यसको कुनै अस्तित्व र औचित्य रहदैन । त्यसैले उनको आगामि कृतिमा उनले संयोजनको सन्दर्भलाई निकै नै ख्याल पु¥याउनु पर्ने देखिन्छ । फेरि समस्या यो पनि हुन सक्छ । बजारमा छपाइका लागि छोडेर गाउ गयो आएर पुस्तक बोकेर गयो यसको समस्या भनेको यही हुन सक्छ आकलन गर्दा खेरी तर आगामी दिनमा त्यस्ता कुराहरू भन्दा पनि उनको लगानिको, योगदानको र लेखनाथ काफ्लेले आजसम्म बनाएको पहिचानको कुरा जोडिएर आउने भएको हुँदा पनि उनले यस्ता कुरामा समयमै ध्यान पु¥याउन आवश्यक देखिन्छ । जिन्दगीमा आमाबाबु भन्नु भनेको मृत्युलाई जित्नु हो । मृत्युलाई जितेर पाएको जीवनको पनि अस्तित्व जीवन जस्तो रहन सकेन भने त्यहाँ जीवन जिउँनुको कुनै अर्थ हुदैन । यहाँ यसो भन्नुको अर्थ बताइरहनु आवश्यक छैन । न बास रहे न बजे मुरली भनेर गाउँ घरमा भनेको उखान चरितार्थ हुन बेर लाग्दैन त्यसैले उनले आगामी दिनमा सचेतता अपनाउनु पर्ने आवश्यकता देखिन्छ । यहाँ उल्लेख गरेका कुराहरूमा । स्याङ्जा साहित्य प्रतिष्ठानले पुस्तक प्रकाशनको जिम्मा लिएको छ तर प्रकाशकीय छैन यो अर्को कमजोर पक्ष हो । समर्पण भनेको कुरा कि ज्युदाँको लागि कि स्व. भएकाका लागि गरिन्छ तर उनले स्व. पिता मेघनाथ काफ्ले र सम्पूर्ण साहित्यप्रेमीहरूमा समर्पित गरेका छन् । यसले गर्दा सबै स्व. साहित्यप्रेमिलाई हो या कसलाई यो निकै सचेतता अपनाउनुपर्ने कुरा हो । कृति भित्रका व्याकरण, क्रियापद र शब्द विन्यासजस्ता समस्याले गर्दा दाँतमा ढुङ्गा लागेजस्तो अनुभूति गरिएको छ । हेरौं एक त्यस्तै के नमिलेको के नमिलेको लाग्ने एक मुक्तकः
देशको साँध लुटिएको वेला मेरो परिचय रुने गर्छ
गरिबको बेहाल भएको वेला मेरो परिचय रुने गर्छ
भरिसक्य कसैले मेरो परिचय नमाग्नु होला
देशमा बादल लागेको वेला मेरो परिचय रुने गर्छ (पृष्ठः५९)
यहाँ परिचय रुने कुरा आएको छ । यसलाई मुक्तककारले कसरी व्यक्त गर्न खाजेको त्यो शब्द संयोजन उत्कृष्ट भएता पनि व्यवस्थापनको समस्या गम्भिर रुपमा देखिएको छ । किनकि परिचय भनेको प्रतिष्ठान हो र यो आफै रुने कुरा आजसम्म भएको छैन । यहाँ परिचयको ठाउँमा मन रुने गर्छ भन्न पाएको भए कति सुनमा सुगन्ध हुने थियो होला ? त्यसैले शब्द चयन र व्यवस्थापनमा पनि केही ख्याल पु¥याउनुपर्ने देखिन्छ ।
अन्तमा के भन्न सकिन्छ भने, लेखनाथ काफ्ले स्याङ्जाली साहित्यको एउटा धु्रवतारा हुन् । अब उनी अस्ताउँदैनन् र अस्ताउने काम पनि गर्दँैनन् यो पङ्क्तिकारलाई पूर्ण विश्वास र भरोसा छ । स्याङ्जाली साहित्यमा आफ्नो पहिचान बनाइसकेका लेखनाथजीको अबको गन्तव्य भनेको आजसम्म कमाएको मान प्रतिष्ठा र इज्जतको जतन गरेर राख्नु हो । किनकि समय परिवर्तनशील छ कोही भेला घुनपुत्ला लाग्न सक्छ कोही वेला बादल मडारिन सक्छ र कोही वेला महाविपत्ति पनि आउन सक्छ । यस्ता यावद परिवेशबाट आफूलाई सर्तक गराउँदै अगाडिका पाइला गतिशील बनाउनु समयको माग हो यसैमा नै सबैको भलाई रहेको छ अस्तु ।



Post a Comment

 
Top