0
आसन्न १३ औँ महाधिवेशनमा सभापतिको दौडमा रहेका कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाले सबैलाई सम्मानका साथ मिलाएर अघि बढ्न सक्ने एक मात्र व्यक्ति आफू नै भएको दाबी गरेका छन्।  बिहीवार बिहान बुढानीलकण्ठ स्थित आफ्नै निवासमा पार्टीको महाधिवेशनका विषयमा पत्रकारहरु संगको छलफलका क्रममा देउवाले पार्टी एकीकरणका बेला गिरिजावावु र आफूबीच पार्टी नेतृत्वका विषयमा समेत भद्र सहमति भएको बताए। उनले भने,‘हिजो पार्टी एकीकरण गिरिजावावु र मैले नै गराएको हो। अहिले गिरिजाबाबु हुनुहुन्न। उहाँ पछिको व्यक्ति मै हो। उहाँसँगै मेरो सहमति भएको थियो।’ देउवाले अब कांग्रेसलाई भेदभावमुक्त पार्टी बनाउनु जरुरी रहेको भन्दै पार्टीको नेतृत्व आफूले पाउनु पर्ने दाबीसमेत गरे। नेता विमलेन्द्र निधि र पूर्णबहादुर खड्कालाई आफ्नो दायाँ बायाँ राखेर बसेका देउवाले आफूलाई प्रजातन्त्र नै दरबारलाई बुझाएको भन्ने आरोपको खण्डन गरे। आफूलाई सभापति हुनबाट रोक्न विभिन्न गतल प्रचारवाजी भइरहेको भन्दै गुनासो गरे। राजाका पालामा निर्वाचित प्रधानमन्त्री पदबाट बर्खास्त भएको स्मरण गराउँदै उनले भने ‘विपी र म नेपालका यस्ता मान्छे हौँ। जो निर्वाचित भएर पनि राजाका पालामा पदबाट बर्खास्त हुनुपर्यो।’ ‘राजाको पालामा प्रधानमन्त्री पद नै खोसिएका मान्छेलाई प्रजातन्त्र नै दरबारलाई बुझायो भन्ने गलत प्रचार गर्ने, झुठा आरोप लगाउने काम भइरहेको छ’ देउवाले आक्रोश पोख्दै भने। ज्ञानेन्द्रको पालामा उनको विरोध गर्दा कांग्रेसबाट सवैभन्दा बढी बन्दी बनाइएको आफू नै भएको भन्दै देउवाले ’हदभन्दा बढी गलत प्रचारबाजीमा’ नलाग्न आग्रह गरे।  उनले आफू प्रजातन्त्र बचाउन र कांग्रेस पार्टीका लागि जुँगाको रेखी नबस्दैदेखि लागेको र पटक पटक जेल जाउनु परेको घटनाको स्मरण समेत गरे। विपी र गिरिजाबाबुको परिवारकै मान्छे हुँ’ ः उनले आफू विपी र गिरिजावावुकै परिवारकै मान्छे भएको दाबी गरे। ‘हिजो विपी कोइरालाबाटै प्रभावित भएर म कांग्रेसको राजनीतिमा लागेको हुँ, त्यसपछि गिरिजावावुसँग पनि अन्तिमसम्म संगै काम गरे, गिरिजावावुले पनि मलाई आफ्नै परिवारको जस्तो मान्नुहुन्थ्यो, त्यसैले म उहाँकै परिवारकै मान्छे हुँ,’ देउवाले भने। रामचन्द्रजीकै कारण पार्टी फुटेको हो’ ः देउवाले नेता रामचन्द्र पौडेलकै कारण उतिबेला पार्टी फुटेको आरोप लगाए। उनले भने–राचन्द्रजीकै कारण पार्टी दुईवटा भएका हुन्। उहाँलाई सभापति चाहिएको थियो। गिरिजावावुको अन्याय अब सहन सकिँदैन, संगै बस्न सकिन्न नयाँ खोल्नु पर्छ भन्नु भयो। त्यसपछि म नि सहमत भएर पार्टी नयाँ बनाएका हौ। देउवाले पौडेलकै डिजाइन अनुसार पार्टी बनाएको र नयाँ पार्टी घोषणा गर्दा सभापति उहाँलाई नै बनाउने गरी तयारी भएपनि अन्तिममा उपस्थित नभएको बताए। उनले भने–नयाँ पार्टी बनाउँदा रामचन्द्र जी आएको भए उहाँ उहिले नै सभापति भइसक्नु हुन्थो, अहिलेसम्म कुर्नु पर्ने थिएन।  पार्टीलाई मिलाएर लैजान पौडेललाई प्रधानमन्त्री अफर गर्दै उनले भने, ‘रामचन्द्रजी प्रधानमन्त्री बन्दा हुन्छ। देशको नेतृत्व गर्न पहिले पार्टी एक हुनुपर्छ ः देउवाले आफूले पार्टी एकीकरण गरेर पनि तत्कालिन सभापति सुशील कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन नसकेको बताए। देउवाले भने,–‘जब पार्टी एक नै छैन भने देशलाई नेतृत्व गरेर कसरी अघि बढ्न सकिन्छ? त्यसैले पहिले आफ्नो पार्टीलाई नै एकताबद्ध बनाउन जरुरी छ। मेरो ध्यान पार्टीलाई एक बनाउनेमै छ। र मैले नै पार्टीलाई जसरी भएपनि एक बनाएरै छोड्छु।’ उनले भने, ’कसैलाई काखापाखा राख्दिन, सवै नेताहरुलाई सम्मानका साथ महत्वपूर्ण भूमिका दिन तयार छु।’ उनले पार्टीभित्र र बाहिरका सवैलाई मिलाएर अघि बढ्न सक्ने आफूमात्रै एक व्यक्ति भएको दावीसमेत। देउवाले समयमा नेतृत्वले निर्णय नगर्दा पार्टीले पटक पटक ठूलो क्षति ब्यहोर्नु परेको बताए। उनले भने, ’पार्टीको नेतृत्व गर्न निर्णय क्षमता पनि हुनुपर्छ। निर्णय गर्ने क्षमता भएन भने यसअघि व्यहोरेको जस्तै क्षति पार्टीले ब्यहोर्नु पर्छ। त्यसैले अब पार्टीको नेतृत्व मैले नै गर्नुपर्छ। सीमांकन र मधेसका समस्या समाधान गर्छु ःदेउवाले संविधान जारीपछि तराई मधेसमा उत्पन्न समस्या हल गरेर अघि बढ्नु पर्ने बताए। देउवाले आफू पार्टी सभापति भए सीमाकंन लगायत मधेसी, आदिबासी जनजाति, थारु लगायत समूदायका माग पूरा गरेरै छोड्ने प्रतिबद्धता समेत जनाए। पार्टीभित्र समावेशीको कुरा आफूले नै ल्याएको भन्दै देउवाले भने,–‘पार्टीलाई समावेशी बनाउने मै हो। महिला मन्त्रालय, दलित आयोग, आदिबासी जनजाति प्रतिष्ठान म प्रधानमन्त्री हुँदा सुरु गरेको हो।’
शक्तिकेन्द्र देउवा नै हुन्ः निधि नेता विमलेन्द्र निधिले नेता देउवा नै कांग्रेसको शक्तिकेन्द्र भएको दाबी गरे। एनले भने–देउवाजी पार्टीमा लागेदेखि नै शक्ति केन्द्रका रुपमा रहदै आउनु भएको छ। हिजो पनि कि गिरिजाप्रसाद कोइराला कि देउवा नै पार्टीको मूख्य हुनुहुन्थ्यो। त्यसपछि कि सुशील कोइराला कि देउवा नै रहनु भयो। अबको शक्ति केन्द्र भनेको उहाँ नै हो।’ उनले पार्टी सभापतिका अर्का उम्मेदवार रामभन्द्र पौडेलसँग व्यक्तिगत बाहेक अरु पार्टी चलाउन सक्ने जनाधार नै नभएको दाबी गरे। एनले पार्टीको नेतृत्वको विषयमा पार्टी एकीकरणकै समयमा गिरिजावावु र देउवावीच भद्र सहमति भएपनि त्यसको कार्यान्वयन नभएको बताए। संविधान कार्यान्वयनको चुनौति कांग्रेससामू रहेको भन्दै निधिले भने–‘चुनौतिको सामना गर्न सक्ने र सवैलाई मिलाएर लैजान देउवाले नै सक्नुहुन्छ। कन्जरभेटिभ सोचले त्यो सम्भब छैन।’ उनले देउवाकै नेतृत्वमा सबै नेता अटाउन सक्ने दाबी समेत गरे। उनले देउवालाई सभापति बनाएर पार्टीलाई एक बनाउन आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए। उनले मधेसका ८ जिल्ला सहित देशभर अहिले आफूहरुको पक्षमा बुहमत रहेको दावी गरे। उनले भने–धनुषाको अधिवेशन बाँकी छ। सप्तरी, बारा, पर्सा, रौतहटमा पनि हाम्रो बहुमत छ। सर्लाहीमा पनि अहिले स्थिति राम्रो छ। पार्टी रुपान्तरणको संकल्प पहिलो प्राथमिकताः खड्का नेता पूर्णवहादुर खड्काले रुपान्तरणसहित पार्टीलाई एकताबद्ध बनाएर लैजानकै लागि देउवा सभापति बन्नु पर्ने बताए।  उनले भने–‘पार्टीलाई प्रादेशीक संरचनाअनुसार देउवाले रुपान्तरित कार्यशैलीको संकल्प लिनु भएको छ। विगतका कमीकमजोरी दोहोरिन नदिन पनि उहाँको सभापति बन्नुपर्छ।’ उनले नयाँ भरोसाका रुपमा सहमति सहकार्य र एकताका साथ पार्टीलाई एक बनाउने सक्ने सक्षम व्यक्ति देउवा नै भएको दाबी समेत गरे। उनले पार्टी संस्थागत रुपमा अघि बढ्न नसकेको बताए।
स्रोत ः सेतोपाटी




Post a Comment

 
Top