0
गोल्डेन न्यूज संवाददाता
सरकारी सेवा वारे गुनासो संकलनको लागि सञ्चालित हेलो सरकार सेवा क्षेत्रीय स्तरमा पहिलो पटक पोखरामा विस्तार भएको एक महिना पुग्यो । गत माघ ३ गते क्षेत्रीय प्रशासन कार्यालय पोखरामा हेलो सरकार कक्ष स्थापना भएदेखि एक महिनाको अबधिमा दुई सय भन्दा बढी गुनासो आएका छन् ।कक्षको टोल फ्रि नम्बर ११११ मा फागुन ३ गते सम्म दुई सय पाँच गुनासो संकलन भएका छन् । त्यसमध्ये एकसय ३६ फस्र्यौट गरिएको हेलो सरकार कक्ष पोखराका प्रमुख उपसचिव टेक बहादुर केसीले बताए । विशेष गरी ग्यास, पेट्रोल नपाएको, बिद्युत आपूर्ति सहज नभएको लगायत आपूर्ति ब्यबस्थासँग जोडिएका गुनासोको संख्या बढी छन् ।
त्यस्तै विकास निर्माण, अनियमितता, सरकारी कार्यालयमा हुने ढिलासुस्ती लगायतका गुनासो आएका छन् । पहिलो एक महिनाको अबधिमा जिल्ला प्रशासन कार्यालय कास्कीसँग सम्बन्धित आपूर्ति ब्यबस्थालाई लिएर गरिएका गुनासोहरु बढी छन् । त्यस्तै दोस्रो नम्बरमा पोखरा उपमहानगर पालिकासँग सम्बन्धित गुनासोहरु छन् । काम प्रभावकारी नभएको, ढिलासुस्ती, अनियमितता, फोहोरमैला ब्यबस्थापन लगायतका गुनासो नगरपालिकासँग सम्बन्धित छन् । नगरपालिकासँग जोडिएका कतिपय गुनासोको सुनुवाई नभएको केसीले बताए । सेवाग्राहीको गुनासो समयमै सुनुवाइको लागि सम्बन्धित कार्यालयलाई ताकेता गर्ने गरिएको उनले जानकारी दिए । क्षेत्रीय स्तरमा स्थापना गरिएको हेलो सरकार पोखराको कार्यक्षेत्र पश्चिमाञ्चलको गण्डकी, धौलागिरी र लुम्बिनी भएपनि कास्की जिल्लाका मात्रै उजुरीको संख्या बढी छन् । कास्की बाहेक गोरखा, स्याङजा, रुपन्देही, पाल्पा, नवलपरासी र कपिलबस्तुका केहि गुनासोहरु आएको केसीले बताए । पश्चिमाञ्चलका जुनसुकै जिल्लाबाट पनि कुनै गुनासो भए पोखरा स्थित क्षेत्रीय कार्यालयमा टिपाउन उनले आग्रह समेत गरेका छन् । गुनासोकर्ताले हेलो सरकार क्षेत्रीय कार्यालय पोखराको टोल फ्रि नम्बर ११११ मा फोन गर्न सक्छन् भने ११०० नम्बरमा फ्याक्स गर्दा पनि पैसा लाग्दैन । सरकारी सेवालाई प्रभावकारी एबं जवाफदेही बनाउन भन्दै २०६८ कार्तिक १७ गते प्रधानमन्त्री तथा मन्त्रपरिषद् कार्यालय सिंहदरवारमा हेलो सरकार कक्ष स्थापना गरिएको थियो । क्षेत्रीय अबधारण अनुसार पोखराबाट सुरु भएको सेवा अन्य क्षेत्रपनि विस्तार गर्ने सरकारी योजना छ । हेलो सरकारमा फोन गरी गुनासो टिपाएपछि त्यस उपर सम्बन्धित कार्यालयलाई पत्राचार गरी जवाफ मागिन्छ । गुनासोकर्ताले आफुले गरेको गुनासो टिपाएपछि चलानी नम्बर समेत पाउछन् र ईन्टरनेटको पहुँच हुनेले घरमै बसेर गुनासो उपर सुनुवाई भए नभएको हेर्न सक्छन् । अन्यले गुनासो टिपाएकै नम्बरमा फोन गरी जानकारी समेत लिन सक्ने कम्प्युटर अपरेटर चद्रकला बस्नेतले जानकारी दिइन् ।
यसैविच कतिपयले गुनासो टिपाउन भन्दा पनि कार्यालयका कर्मचारीलाई जिस्काउनका लागि पनि फोन गर्ने गरेका छन् । अनावश्यक गफ गर्ने नियतले पनि कतिपयले फोन गर्ने गरेको कर्मचारीहरु बताउछन् ।





Post a Comment

 
Top