0
गोल्डेन न्यूज संवाददाता
जिल्लामा क्रियाशिल मानव अधिकारकर्मीहरुको एक भेलाले भूकम्प प्रभावितको स्वतन्त्र अनुगमनका लागि मंगलबार मानवअधिकार संजाल गठन गरेको छ । इन्सेक क्षेत्रीय कार्यालय पोखराको पहलमा गठित सञ्जालले जिल्लामा भूकम्पपछिको अवस्था, राहत वितरणमा, पीडितको अवस्था, राज्यले प्रदान गरेको सेवा सुविधाको उपलब्धता, पुननिर्माण लगायतका विषयमा अनुगमन गर्ने गरी समिति गठन गरिएको हो ।
मानवअधिकार तथा शान्ति समाजका सभापति यदु अधिकारीको संयोजकत्वमा गठन भएको संजालमा मानवअधिकार एलायन्सका अध्यक्ष ऋषि खनाल, एम्नेष्टी इन्टरनेशनल समूह ७६ का अध्यक्ष रमेश अधिकारी, मानव अधिकारकर्मी स्थानेश्वर दुवाडी, पत्रकार महासंघका कोषाध्यक्ष प्रशन्न पोखरेल, महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष शावित्री भट्ट, एम्नेष्टी इन्टरनेशनल समूह ४२ कि सविना धिताल, नेपाल बार एशोसिएसन गोरखाका सचिव यादब शर्मा, मानव अधिकार संगठनका अध्यक्ष दिलबहादुर बस्नेत, गोरखाका शतिसमान सिंह बस्नेत सदस्य रहेका थिए । संजालको सदस्य सचिवमा इन्सेक गोरखा प्रतिनिधि नरहरि सापकोटा रहेका छन् । इन्सेकको अगुवाईमा भएको संजाल गठन कार्यक्रममा इन्सेक पोखराका संयोजक शिव खकुरेल, प्रलेख अधिकृत टंक खनाल लगायतको उपस्थित रहेको थियो । 
कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले भूकम्प पीडितलाई राहत वितरणमा समानता नभएको, सुकुम्बासीले रातो कार्ड नपाएको, न्यानो लुगा वितरणका लागि अझै पैसा उपलब्ध नगराएको, घरको मापदण्ड थाहा नहुँदा र सरकारी सहयोगबारे अन्यौल हुँदा पीडित समस्या परेको बताएका थिए । त्यस्तै जिल्लामा काम गर्न आएका बिभिन्न संघ संस्थाले गरेको काम प्रभावकारी नभएको गुनासो अधिकारकर्मीको थियो ।


Post a Comment

 
Top