0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका जाल्पारोड निवासी जगन श्रेष्ठको गएराति हृदयाघातका कारण निधन भएको छ । मंगलबार राति अचानक बिरामी परेका श्रेष्ठको उपचार समेत गर्न नपाइ आकस्मिक रुपमा निधन भएको हो । दिनभर सञ्चय सहकारीमा प्रवन्धकको रुपमा काम गर्दा सामान्य पेट दुखेको महसूस गरेका उनले बेलुका घरमा आएपछि खाना खाएर टेलिभिजन समेत हेरेपछि सामान्य अवस्थामा सुतेका थिए । तर राति करिब १२ बजेतिर दिउँसो भन्दा अलि बढी पेट दुखेको महसूस भएपछि उनले आफ्नी श्रीमती गीता र आफ्नै घरमा पसल गरि बस्नेलाई साथ लिएर ३÷४ मिनेटको पैदल दुरीमा पर्ने मेट्रोसिटी अस्पताल पुगेका थिए । अस्पताल पुगेर उनले चिकित्सकसंग आफूलाई ग्याष्ट्रिकका कारण पेट दुखेको हुन सक्ने बताएपछि सामान्य औषधि सेवन गरेका थिए । तर औषधि सेवनबाट पनि पेट दुख्न कम नभएपछि उनको इसिजी गर्दा मुटुको धड्कन जटिल अवस्थामा पुगेको पत्ता लागेको थियो । त्यसपछि चिकित्सकको सल्लाह बमोजिम थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल लैजाने तयारी गरिरहँदा मेट्रोसिटी अस्पतालमा नै उनको निधन भएको थियो । 
सञ्चय सहकारीका अध्यक्ष नारायण कार्कीले गोल्डेन न्यूज दैनिकलाई दिएको जानकारी अनुसार स्वास्थ्यकर्मीले उनको स्थिति गम्भीर रहेका कारण एम्वुलेन्समा मणिपाल शिक्षण अस्पताल पठाउन खोज्दा समेत श्रेष्ठले आफ्नो गाडी नजिकै भएकाले गाडी झिकेर ल्याउन आफ्ना सहयोगीलाई आग्रह गरेका थिए तर एम्वुलेन्समा नै उनलाई मणिपाल लैजाने भनेपछि बेडबाट उठेर हिंड्दै गर्दा अचानक उनी ढलेको र उनको तत्कालै निधन भएको थियो । ५५ वर्षीय श्रेष्ठ पोखराको सञ्चय सहकारी संस्थाका प्रवन्धकको रुपमा कार्यरत थिए । उनले नेपाल बैंक लिमिटेड र नेपाल एक्सप्रेस फाइनान्स जस्ता वित्तिय संस्थामा काम गरेपछि सञ्चय सहकारीको स्थापनाकाल देखि कोषाध्यक्ष, सचिव र प्रवन्धक भएर काम गर्दै आएका थिए । उनी रोटरी क्लव अफ पोखरामा पनि आवद्ध थिए । श्रेष्ठका ३ छोरी रहेकोमा सबै नेपाल बाहिर रहेकाले उनको अन्त्येष्टि शुक्रबार तिर हुने भएको छ । तीन छोरी मध्ये माहिली छोरी शुक्रबारसम्म पोखरा आइपुग्ने र त्यसपछि मात्रै उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
पराजुलीको निधन
कास्कीको चापाकोट गाविस वडा नं. ६ घडेरीबाट पोखरा आइ बसोबास गर्दै आएकी देवकी पराजुलीको ७५ वर्षको उमेरमा निधन भएको छ । धार्मिक एवं सामाजिक कार्यमा उनी सक्रिय थिइन । पोखरा–१३, बाँझापाटनमा व्यापार व्यवसाय संचालन गर्दै आएका प्रेम प्रसाद पराजुली र सिद्ध उच्च मावि फलेपाटनमा अध्यापन गर्दै आएका शिक्षक ईश्वरी प्रसाद पराजुलीकी आमा देवकीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको हो । उनी केही समयदेखि उच्च रक्तचाप र मधुमेह लगायतको रोगबाट पीडित थिइन । उनका २ छोरा र १ छोरी सहित नातिनातिना रहेका छन् । यसैगरी नेपाली कांग्रेस लेखनाथ नगरपालिका वडा नं. १४ कायैसमितिका पूर्व उपसभापति एवं स्थानीय समाजसेवी टेकबहादुर गुरुङको पनि निधन भएको । गुरुङको निधन पछि शोक एवं समवेदना व्यक्त गर्न सांसद यज्ञबहादुर थापा लगायतका कांग्रेस नेता कार्यकर्ताहरु गुरुङ निवास पुगेका थिए । यसैगरी सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ गोरखाका पूर्व अध्यक्ष किशोरजंग थापालाई पितृशोक परेको छ । थापाका पिता ठाकुरजंग थापाको बुधबार ७६ वर्षको उमेरमा निधन भएको हो ।


Post a Comment

 
Top