0
गोल्डेन न्यूज संवाददाता
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमानाका धर्ना र आमहडताल फिर्ता लिएको औपचारिक घोषणा गरेको छ । योसँगै साउन ३१ देखि जारी मधेसको आमहडताल र असोज ४ देखि जारी नाकाबन्दी औपचारिक रूपमा सकिएको छ । मोर्चा आबद्ध चार दलमध्ये संघीय समाजवादी फोरम, तराई–मधेस लोकतान्त्रिक पार्टी र तमसपाले अर्को घटक सद्भावना पार्टीको अनुपस्थितिमै सोमबार भक्तपुरस्थित महन्थ ठाकुर निवासमा बैठक गरी नाका धर्ना फिर्ताको निर्णय लिएका हुन् । वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्वारा प्राप्त सुझावलाई ध्यानमा राख्दै आन्दोलनका घोषित कार्यक्रममध्ये आमहडताल, नाका अवरोध र सरकारी कार्यालय बन्दलाई मात्र तत्कालका लागि स्थगित गरी यसका अतिरिक्त आन्दोलनका अन्य कार्यक्रमहरू यथावतै नै रहिरहने छ,’ मोर्चाका तर्फबाट समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर र तमसपा अध्यक्ष महेन्द्र राय यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोमबार बिहानै तमलोपा अध्यक्ष महन्थ ठाकुर निवास सानोठिमीमा बसेको मोर्चाका चार अध्यक्षको बैठकमा पछिल्ला केही साताका गतिविधि र कार्यशैलीबारे सद्भावना अध्यक्ष राजेन्द्र महतोले माफी माग्नुपर्ने अडान अरू दलका अध्यक्षले लिएपछि उनी उठेर हिँडेका थिए । तमलोपा अध्यक्ष ठाकुरले टेलिफोन गरी दिउँसोको मोर्चा बैठकमा डाके पनि महतो फर्केनन् । बैठकले महतोलाई ‘सच्चिन’ चेतावनी दिएको छ । ‘महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुग्न गएको हुँदा अबउप्रान्त यस्ता क्रियाकलाप नगर्न र नगराउन मोर्चा निर्देश गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । महतोले भने मधेसमा आन्दोलन हाँक्न मधेसी मोर्चा नचाहिने, आफू एक्लै काफी रहेको चेतावनी दिँदै ठाकुर निवासबाट बाहिरिएको बैठक स्रोतले बताएको छ ।
भारतका तर्फबाट एकतर्फी नाका खुलेसँगै मोर्चा नेताको चर्को आलोचना सुरु भएको छ । ५४ को ज्यान, सयौं घाइते र गिरफ्तार भए पनि नेतृत्वको असावधानीका कारण आन्दोलन तुहिएको क्षोभ प्रकट गर्दै टेलिफोन, म्यासेज, फेसबुक स्टयाटस आउन थालेपछि शीर्ष नेताहरूले मोबाइल बन्द गरेका छन् । मोर्चाले आन्दोलन अझै जारी रहेको भन्दै फागुन ७ सम्मका लागि लाठी जुलुस, विरोध सभाजस्ता नयाँ कार्यतालिका सार्वजनिक गरेको छ, तर तेस्रो मधेस आन्दोलन तत्काललाई बिना निष्कर्ष, बिना सम्झौता अन्त्य भएको नेताहरूले अनौपचारिक कुराकानीमा जानकारी दिएका छन् । असोज ३ मा संविधान जारी भएको भोलिपल्टदेखि भारतले नाकाबन्दी थाले पनि मोर्चाले तीन दिनपछि मात्रै असोज ७ गते राजविराज बैठकबाट नाकाबन्दीको औपचारिक घोषणा गरेको थियो । झन्डै ५ महिना लामो नाकाबन्दी सुरु र अन्त्यको घोषणा गर्न मोर्चा संयोगले भारतभन्दा तीनतीन दिन नै पछि परेको छ ।
नाकाबन्दीको उठान र बैठान
मुख्य दलहरूबीच जेठ २५ गते १६ बुँदे समझदारी भएसँगै सीमांकनलगायत संविधान निर्माण प्रक्रियासँग असन्तुष्टि राख्दै मोर्चाले असार दोस्रो सातादेखि प्रदर्शन थालेको थियो । साना मधेसी दल आबद्ध संघीय मधेसी मोर्चाले साउन ३० तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले साउन ३१ देखि तेस्रो मधेस आन्दोलन घोषणा गरे । 
भदौ ७ गते कैलालीको टीकापुरमा सात प्रहरी र एक नाबालकको ज्यान गएपछि त्यसको असर पूर्वी र मध्य मधेसमा देखिएको थियो । ४३ सर्वसाधारण र ११ सुरक्षाकर्मीसहित जम्मा ५४ को ज्यान आन्दोलनका क्रममा गएको छ ।











Post a Comment

 
Top