0
गोल्डेन न्यूज संवाददाता
पोखराको फेवासहित कास्कीका ९ वटा ताल एकैपटक अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचिकृत भएका छन् । साइटिस महासन्धि सचिवालयबाट आएको विज्ञहरूको टोलीले विश्व सिमसार दिवसको अवसर पारि मंगलबार ९ ताललाई रामसारमा समेटिएको औपचारिक प्रमाणपत्र प्रदान गरे । एसियाका लागि रामसारका सल्लाहकार डा.लिउ योङले बन तथा भूसंरक्षण मन्त्री अग्नी प्रसाद सापकोटालाई पोखराको फेवा सहित बेगनास, रूपा, खास्टे, गुँदे , नेउरेनी, दिपाङ, मैदी र कमलपोखरीलाई रामसार सूचीमा समेटेको आधिकारिक प्रमाणपत्र प्रदान गरेका हुन् । मन्त्री सापकोटाले स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीलाई सो प्रमाणपत्र हस्तान्तरण गरे । कास्कीका नौ ताल रामसारमा सूचीकृत भएपछि नेपालबाट रामसार सूचिमा समेटिनेको संख्या १० पुगेको छ । कास्कीका ९ वटै ताललाई एउटै समूहमा राखिएको छ । जैविक विविधताको निश्चित मापदण्ड पूरा गरेका पोखराका फेवा, रुपा, बेगनास, खास्टे, कमलपोखरी, गुइडे, नेउरेली, दिपाङ, खास्टे र मैदीताललाई जेनेभा स्थित रामसारको सचिवालयले सामूहिकरुपमा रामसारमा सूचीकृत गरेको हो । 

यसअघि चितवनको बीसहजारी, सुनसरीको कोसीटप्पु, कैलालीको घोडाघोडी, कपिल वस्तुको जगदीशपुर, सोलुखुम्बुको गोक्यो, रसुवाको गोसाईँकुण्ड, मुगुको रारा, डोल्पाको शे–फोक्सुन्डो र इलामको माइपोखरी गरी नौवटा ताल रामसारमा समेटिएका थिए । मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरका अनुसार अहिलेसम्म विश्वका १ सय ६९ देशबाट रामसार सूचीको संख्या २ हजार २ सय २२ पुगेको छ । पोखरा उपत्यकाका ९ ताल रामसारमा समेट्न पर्यटन मन्त्रालय मातहतको राष्ट्रिय ताल विकास समितिले गत वर्ष सम्भाव्यता अध्ययन गरेको थियो । नेपालबाट यसअघि सूचिकृत तालहरु राष्ट्रिय निकुञ्ज वा आरक्ष क्षेत्र भित्रका भएपनि कास्कीका ९ ताल पहिलोपटक स्थानीय निकायले ब्यवस्थापन गर्ने गरी रामसारमा समावेश भएका हुन् । 

कार्यक्रममा वन तथा भूसंरक्षण मन्त्री अग्नी सापकोटाले प्रकृतिको विनाश र दोहन गर्नेलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिंदै प्राकृतिक महत्वका तालहरुको संरक्षणमा ध्यान दिन आग्रह गरे । प्राकृतिले दिएको उपहारलाई संरक्षण र सम्वद्र्धन गर्दै त्यसको महत्व उजागर गर्नुपर्नेमा जोड दिंदै मन्त्री सापकोटाले मुलुकमा रहेका अनुपम सम्पदाहरुको बजारीकरण गर्न सकेमात्रै पनि नेपाली जनजीवन सहज रुपमा व्यतित गर्न सकिने स्पष्ट पारे । प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि मानवीय प्रतिवद्धता आवश्यक रहेको खाँचों औल्याउँदै उनले मानव अस्तित्वको समेत संरक्षणमा एकजुट भएर लाग्न आग्रह गरे । प्रकृतिको सुन्दरतालाई जोगाई छोड्ने शक्तिशाली सन्देश विश्वलाई दिनुपर्ने मन्त्री सापकोटाले बताए । 

वन तथा भूसंरक्षण मन्त्रालयका सचिव डा.उदयचन्द्र ठाकुरले रामसार सूचीमा सूचीकृत भएसँगै यी तालको संरक्षण र विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताए । पछिल्लो समय जलवायु परिवर्तन र तीव्र विकासको गतिका कारण वातावरणमा प्रत्यक्ष असर परेको उनले स्पष्ट पार्दैै कास्कीका तालहरु रामसार सूचीमा सूचीकृत भएसँगै यी तालको संरक्षण र विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । सूचीकृत यी तालको संरक्षण र विकासका लागि आवधिक योजना बन्ने, संरक्षणमा स्थानीय जनसहभागिता बढ्ने, पर्यापर्यटन प्रवद्र्धन हुने तथा यहाँ रहेका दुर्लभ र लोपोन्मुख वन्यजन्तु तथा जलचरको संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । व्यवस्थापिका संसदको विकास समितिका सभापति एवं सांसद रविन्द्र अधिकारीले प्राकृतिक सम्पदा तथा सिमसार क्षेत्रको संरक्षण जीविकोपार्जनका लागि हुनुपर्नेमा जोड दिए । क्षेत्रीय प्रशासन कार्यालय पोखराका प्रशासक शंकरप्रसाद कोईरालाले कास्कीका तालहरु विश्व रामसार सुचिमा सुचिकृत हुनुले पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रिय प्रकृति संरक्षण कोषका गोविन्द गजुरेलले प्रकृतिको संरक्षण तथा संवद्र्धनका लागी आफूहरु सरकारसंग साझेदार गर्दै अघि बढ्न तयार रहेको बताए । राष्ट्रिय ताल संरक्षण विकास समितिका सदस्य प्रदिप आचार्यले पोखराका तालहरुको संरक्षणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । 

पोखरा उपत्यका ताल संरक्षण समिति कास्कीका संयोजक कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले कास्कीका यी तालका पानीले ओगटेको क्षेत्र ९२४ हेक्टर रहेको जानकारी दिए । उनले यी तालको जलाधार क्षेत्र र तालसँग अन्तर सम्बन्धित सेती जलाधार क्षेत्रसमेत गरी पोखरा उपत्यकाका तालको सञ्जालले ओगटेको कुल क्षेत्रफल दुई हजार ६१० हेक्टर हुन आउने स्पष्ट पारे । पोखराको सम्पूर्ण पर्यापर्यटन यिनै तालमा निर्भर रहेको उनले स्पष्ट पारे। कास्कीका ताल सूचीकृत भएसँगै नेपालमा रामसारको सङ्ख्या १० पुगेको छ । पोखराका नौ ताललाई एकै समूहमा राखी रामसारमा सूचीकृत गरिनु विश्व मै अनुपम नमुना भएको प्रकृति र प्राकृतिक स्रोतको संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन) का नेपाल प्रतिनिधि यमबहादुर मल्लले बताए । रामसारमा समेटिएपछि तालको अन्तर्राष्ट्रिय महत्व एवं ख्याति बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो अध्ययनअनुसार विश्वका ६१.८५ प्रतिशत बासिन्दाले जीविकोपार्जन को प्रमुख आधारका रूपमा सिमसार क्षेत्रलाई उपयोग गर्दै आएका छन् । जैविक विविधताको भण्डार मानिने सीमसार क्षेत्रले मुख्यरुपमा पृथ्वीमा पानीको सञ्चय गर्ने र पानीको पुनः भण्डारणलाई जोगाउने काम गर्छ । यसले प्राणी र वनस्पतिको वासस्थानलाई जोगाउने भएकाले पनि यो परिस्थकीय प्रणालीका लागि महत्वपूर्ण मानिन्छ । विश्वभर हालसम्म १६९ देशका दुई हजार २२५ सीमसार रामसारमा सूचीकृत छन् ।

Post a Comment

 
Top