0
गोल्डेन न्यूज संवाददाता
कास्कीको लेखनाथ स्थित वेगनासतालमा शव भेटिएको १० दिनपछि खिम माया पुनको ब्याग भेटिएको छ । लेखनाथ १२ निवासी २९ वर्षीय पुनको माघ २६ गते शब भेटिएपनि पहिचानका लागि साथमा केहि भेटिएको थिएन । प्रहरीले तत्काल अन्दाजको आधारमा विदेशी महिला भनेपनि माघ २९ गते आफन्तले शव पहिचान गरेका थिए । उनले प्रयोग गर्ने ब्याग शब भेटिएको स्थान भन्दा झण्डै सय मिटरको फरकमा भेटिएको प्रहरीले जनाएको छ । पुनको शव तालमा तैरिरहेको अवस्थामा भेटिएको थियो । उनले प्रयोग गर्ने ब्याग विहिवार साझ ६ बजेतिर ताल किनारको झाडीमा भेटिएको हो । संभावित स्थानमा खोजी गर्ने क्रममा प्रहरी र स्थानीयको सक्रियतामा झाडीमा अड्किरहेको अबस्थामा ब्याग फेला परेको प्रहरी निरीक्षक मित्र अर्यालले बताए । ब्यागमा पुनले प्रयोग गर्ने रुमाल, ट्रयाकसुटको ज्याकेट, ९ सय ८० रुपैया पैसाँ र घडी फेला परेको छ । तर उनीसँग भएको मोवाईल भने फेला परेको छैन । प्रहरीले शुक्रवार विहान पनि ब्याग भेटिएको स्थान वरपर खोजी गरेपनि मोवाईल फेला पार्न सकेन । फेवा विकास बैंक गगनगौडा शाखामा कार्यरत पुन २५ गते कार्यालयबाट १० बजे घर फर्किएकी थिईन् । शाखा प्रमुख अरुण सापकोटाले दिएको जिम्मेवारी पूरा नगरेको भन्दै उनलाई सो दिन काम गर्न नदिई घर जान भनेका थिए । १० बजे अफिसबाट निस्किएकी उनले १ बजे बाबु प्रेम बहादुर गर्वुजा पुनलाई फोन गरेपछि सम्पर्क विहिन भएकी थिईन् । प्रहरीले भोलिपल्ट २६ गते विहान ११ बजे तालबाट शब निकालेको थियो । खिम मायाका आफन्तले उनको हत्या भएको दावी गर्दै छानविन गर्न माग गरेका छन् । तर उनको पोष्टमार्टम रिपोर्टमा डुवेर पानी धेरै पिएकाले मृत्यु भएको कारण देखाइएको छ । उनको शब अझैपनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छ । आफन्तले घटना छानविन नभएसम्म शब नउठाउने अडान लिएका छन् ।



Post a Comment

 
Top