0
प्रकाश सिलवाल
प्रधानमन्त्री केपी शर्मा ओली भारतको छ दिने राजकीय भ्रमणका सिलसिलामा शुक्रबार अपराह्न नयाँदिल्लीँ पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरिन् । प्रधानमन्त्री ओलीको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतका राजदूत रणजित राय, प्रवासी नेपाली सङ्घका अध्यक्ष लोकनाथ भण्डारी, यहाँस्थित नेपाली दूतावासका अधिकारी र भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे । भ्रमणका क्रममा प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आतिथ्यतामा राष्ट्रपति निवास सप्रु भवनमा रहने बताइन्छ । यसैगरी नेपालको ६६औंँ प्रजातन्त्र दिवसका अवसरमा भारतस्थित नेपाली राजदूतावासले शुक्रबार साँझ राजदूतावासमा आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र  नेपाली प्रतिनिधिमण्डलका सदस्यहरु सरिक भए । सो अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधि मण्डलको स्वागत गरेका थिए । मुरलीमोहन जोशी, करण सिंह लगायत भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका लागि भारतीय राजदूत रणजीत राय, विभिन्न मुलुकका कूटनीतिक नियोगका पदाधिकारी, नेपाल र भारतका बुद्धिजीवी तथा उद्योगी–व्यवसायी र प्रवासी नेपाली लगायतको समारोहमा सहभागिता थियो । भारत भ्रमणका लागि प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशष्ट कक्षमा सभामुख ओनसरी घर्ती तथा उप–प्रधानमन्त्रीहरुले बिदाई गरेका थिए । प्रधानमन्त्रीको बिदाईका लागि संवैधानिक निकायका प्रमुख, मन्त्रिगण, सांसद, सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, भारतस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, विमानस्थलमा उपस्थित थियो । सो अवसरमा नेपाली सेनाले प्रधानमन्त्रीको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । संविधानसभाबाट संविधान जारी भएपछि निर्वाचित प्रधानमन्त्री ओलीको भारत पहिलो विदेश भ्रमण हो । भ्रमण टोलीमा प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्यका साथै उप–प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल रहेका छन् । त्यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, व्यवस्थापिका–संसद्का विभिन्न पार्टीका सदस्य, मुख्यसचिव डा सोमलाल सुवेदी र सम्बन्धित सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा संलग्न छन् । प्रधानमन्त्री ओली फागुन ८ गते राष्ट्रपति भवनमा आयोजना गरिने विशेष स्वागत समारोहमा सरिक हुने सेनाको सलामीको निरीक्षण गर्नेछन । त्यसपछि उहाँले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीले हैदराबाद भवनमा भारतीय प्रधानमन्त्रीसँग आपसी हितका विषयमा औपचारिक बैठक गर्नछन् । नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओलीको यो भ्रमणले पछिल्लो समयमा दुई देशबीच उत्पन्न तिक्ततालाई चिर्दै मैत्रीपूर्ण सम्बन्धमा रुपान्तरण गर्न उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ ।



Post a Comment

 
Top