0
गोल्डेन न्यूज संवाददाता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा नेपाल मानवअधिकार वर्षपुस्तक २०१६ को क्षेत्रीय स्तरबाट सार्वजनिकीकरण कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भयो । कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश अनन्तराज डुम्रेले नेपाल मानवअधिका वर्ष पुस्तक–२०१६ क्षेत्रीय स्तरबाट पोखरामा सार्वजनिक गरे । कार्यक्रममा बोल्दै न्यायाधीश डुम्रेले मानवअधिकार र कानूनी सासनका सवालमा वर्षपुस्तक महत्वपूर्ण दस्तावेज भएको भन्दै वर्षपुस्तकलाई अझै विश्वसनीय बनाउनका लागि घटनाको सत्य, तथ्य, सुचनामा शुद्धता र निष्पक्षतामा जोड दिनु पर्ने बताए । उनले वर्ष पुस्तक आफैमा मुलुकको मानवअधिकार अवस्थालाई चित्रण गर्ने र सरोकारवाला निकायलाई मानव अधिकारप्रति प्रतिवद्ध र जवाफदेही बनाउने दस्तावेज भएकोले विश्वसनीय र विश्लेषणात्मक ढंगले समयानुकुल परिमार्जित र परिष्कृत गर्दै लैजानु पर्ने सुझाव दिए । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले मानवअधिकारको संरक्षकका रुपमा इन्सेकले सरकारी, गैरसरकारी, मानवअधिकारवादी तथा नागरिक समाज लगायतका सरोकारवाला निकायसंग समन्वय र सहकार्य गर्दै काम गरेको बताए । उनले राज्यका निकायले गर्न नसकेको काम इन्सेकले गरेको भन्दै मानव अधिकारको क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानलाई प्रसंसा गरे । नेकपा एमालेका अध्यक्ष कृष्ण थापाले इन्सेकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मानव अधिकारका लागि नियमित रुपमा वहस र पैरवी गर्दै आएको भन्दै सत्य तथ्य र यर्थाथ सूचनाको सगालोका रुपमा वर्ष पुस्तक रहेको बताए । नेपाली काँग्रेसका जिल्ला सदस्य कृष्णप्रसाद तिमिल्सेनाले इन्सेकले मानवअधिकार सम्बन्धी सम्पूर्ण सूचनालाई संकलन गरेर वर्षपुस्तक प्रकाशन गर्दै आएकोमा धन्यवाद दिदै महिला हिंसाका घटना प्रहरीमा मिलापत्र हुने प्रवृतिका कारण हिंसाका घटना बढेको बताए । उनले नेपालको अनुसन्धान पद्धति व्यवस्थित हुन नसक्दाँ मानव अधिकार उल्लंघनका घटना बढ्दै गएको बताए । एनेकपा माओवादीका उपाध्यक्ष गंगा पोख्रेलले नागरिकले मौलिक अधिकार उपभोग गर्ने वातावरण सुनिश्चित नभएसम्म मानव अधिकार उल्लङ्घनका घटना भैरहने बताउँदै राज्यका निकायले सेवाग्राहीलाई दिनुपर्ने सेवा सुविधा प्रभावकारी हुन नसक्दाँ मानव अधिकारको हनन्का घटना बढ्दै गएको उल्लेख गरे । कार्यक्रममा इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले सन् २०१५ मा पश्चिमाञ्चल क्षेत्रको मानव अधिकार अवस्था सन्तोषजनक नरहेको र अघिल्लो वर्षको तुलनामा मानवअधिकार उल्लङ्घन र ज्यादतिका घटनामा सङ्ख्यात्मक रुपमा केही कमि आएपनि उल्लङ्घनको प्रकृतिमा भने सुधार नभएको बताए । उनले योवर्ष २४ जना महिलाको हत्या भएकोमा घर परिवारबाट मात्रै १९ जना महिलाको हत्या भएको बताए । इन्सेकको अभिलेख अनुसार पश्चिमाञ्चल क्षेत्रमा सन् २०१५ मा ४ सय ३७ जना महिलासहित ५ सय ५७ जना नागरिक मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएका छन् । मानवअधिकार उल्लङ्घनमा राज्यपक्षबाट ९ जना महिलासहित ७३ जना र गैरराज्यपक्षबाट ४ सय २८ जना महिलासहित ४ सय ८४ जना पीडित भए । यस अवधिमा राज्यपक्षबाट ३ जना महिलासहित ८ जनाको गोली, लाठी प्रहारबाट हत्या भयो भने गैरराज्यपक्षबाट २१ जना महिलासहित ४१ जनाको हत्या भयो । यो वर्ष भएका घटनामा बालबालिका र महिला सवैभन्दा बढी पीडित भएकोमा बाल अधिकारबाट १ सय ६४ जना बालबालिका, महिला अधिकारबाट २ सय ४६ जना महिला पीडित भएका छन् । अघिल्लोवर्ष सन् २०१४ मा पश्चिमाञ्चल क्षेत्रमा ७ सय ९९ जना नागरिक मानवअधिकार उल्लङ्घन र ज्यादतिका घटनाबाट पीडित भएकोमा  राज्यपक्षबाट १ जनाको गोली प्रहारबाट हत्या भएको थियो भने गैरराज्यपक्षबाट २५ जना महिलासहित ४० जनाको हत्या भएको थियो । रुपन्देहीको बेथरीमा हाटबजार भर्न आएका दुई बालकसहित छ जना सर्वसाधारणमाथि प्रहरीले गोली प्रहार गरी हत्या गरेको घटना तथा एक सवारीका सहचालकको आन्दोलनरत पक्षबाट धारिलो हतियार प्रयोग गरी निर्ममता पूर्वक हात काटेर दशगजा क्षेत्रमा फालिएको अवस्थामा उद्दार गरिएको, समाचारको विषयलाई लिएर आन्दोलनकारीले रेडियो परासीमा बम विस्फोट गराएको तथा नवलपरासीका एक बालकलाई बलिदिएर हत्या गरिएको घटना यस वर्षका प्रतिनिधिमूलक मानवअधिकार उल्लङ्घनका घटना हुन् । कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव रामप्रसाद सुवेदी, पुनरावेदन अदालत बार एशोसिएशन पोखराका अध्यक्ष खगेन्द्रराज आचार्य, महिला तथा बालबालिका कार्यालयकी अधिकृत विन्दु भण्डारी,शान्तिका लागि नागरिक समाजको सञ्जालकी संयोजक सरलाकुमारी पाण्डे, स्थानीय शान्ति समितिका संयोजक रामजी बराल, महिला मानवअधिकार रक्षक सञ्जालकी संयोजक सरिता थापा लगायतले वर्षपुस्तक मानव अधिकारको क्षेत्रमा ऐतिहासिक दस्तावेज भएको भन्दै पुस्तकलाई समय सापेक्ष रुपमा परिमार्जित र परिष्कृत गर्दै लैजानु पर्नेमा जोड दिए । कार्यक्रममा सन् २०१५मा पश्चिमाञ्चल क्षेत्रबाट उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै इन्सेक अर्घाखाँची प्रतिनिधि नारायणप्रसाद भुसाललाई नगद ७ हजार र सम्मान पत्र तथा प्रशंसा पत्रका साथ सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन इन्सेक पोखराका प्रलेख अधिकृत टंक खनालले गरेका थिए ।







Post a Comment

 
Top