0
गोल्डेन न्यूज संवाददाता
पोखरा १८ माघ ।
नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत गाउँ र नगरको अधिवेशन सकिएपछि कांग्रेस नेताहरु क्षेत्र र जिल्लाको अधिवेशनमा केन्द्रित हुन थालेका छन् । यसका लागि सबै नेताहरुले आफ्नो टीमको निर्माण गरि चुनाव जित्ने रणनीति तयार गर्नमा समय खर्च गरिरहेका छन् । विभिन्न विचार समूह र गुट–उपगुटबाट कसलाई नेता बनाउने र कसलाई जिताउने भन्ने खेल पनि सुरु हुन थालेको छ । 
कास्की कांग्रेसको नेतृत्वका लागि दौडधूप गर्ने नेताहरु मध्ये कांग्रेसमो राजनीतिमा लामो समय नेतृत्व गरेका शुक्रराज शर्मा पौडेल र उनका पारिवारिक सदस्य एवं अनुयायी पोषनाथ शर्मा पौडेल पछिल्लो समयमा पार्टीभित्र पदलोलुपता देखाउने कास्की कांग्रेसका प्रमुख व्यक्तिमा परेका छन् । पञ्चायतकालिन  अवस्थामा शुक्रराजले गरेका काम कार्वाही नकोट्याउने र २०४६ को जनआन्दोलन पछि हालसम्मको अवस्थाको मात्र मूल्याङ्कन गर्ने हो भने पनि उनले धेरै पटक विभिन्न अवसर प्राप्त गरेका छन् । उनी १७ वर्षसम्म कास्की कांग्रेसको सभापति बने । त्यस बेला कांग्रेस नेतृत्वको सरकार रहेको कारण कास्की जिल्लाको सुरक्षा तथा प्रशासनिक निकायमा रवाफ देखाउने र स्थानीय निकायका जनप्रतिनिधिहरु लाई प्रभावमा पारेर आफू अनुकुलका काम गर्न उनी धेरै हदसम्म सफल भए । कांग्रेसकै केन्द्रीय र स्थानीय सरकार रहेका बेला उनले पोखराको नयाँबजारस्थित सार्वजनिक जग्गालाई समेत आफ्नै नाममा दर्ता गरे । सोही ठाउँमा उनले ठूलो भवन निर्माण गरि हाल भाडामा लगाएका छन् । व्यक्तिगत काम र स्वार्थ पूरा गर्नेतर्फमात्र नभइ उनी पटक–पटक विभिन्न अवसर लिन समेत सफल भए । 
कास्की कांग्रेसकै सभापति रहँदा उनले २ पटकसम्म प्रतिनिधि सभा सदस्य अर्थात सांसदका लागि टिकट पाएका थिए । तर दुवै पटक उनी जनताबाट निर्वाचित हुन सकेनन् । जनताबाट निर्वाचित नभएपनि पार्टी नेताहरुको आशिर्वाद लिएर उनी ६ वर्षसम्म राष्ट्रिय सभाको सदस्य बनि सरकारी सेवा सुविधा भोग चलन गरे । पार्टीको ११औं महाधिवेशन पोखरामा हुँदा उनी आफै महाधिवेशन व्यवस्थापन समितिको स्थानीय संयोजक रहेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । तर अत्यन्त न्यून मत पाएकोले केन्द्रीय सदस्य बन्ने उनको सपना पूरा हुन सकेन । उनले पटक–पटक पार्टीको केन्द्रीय सदस्य बन्ने र निर्वाचित सांसद बन्ने जमर्को गरेपनि न त उनी केन्द्रीय सदस्य बन्न सके न त सांसदको निर्वाचनमा विजयी भए । निर्वाचनबाट पद लिन नसकेपछि उनले पार्टीका नेताको भक्त भएर केन्द्रीय आमन्त्रित सदस्यको रुपमा नियुक्ति पाए र लामो समय सोही भूमिकामा आफूलाई स्थापित गरे ।
कास्की कांग्रेसमा प्रभावशाली भनिने शुक्रराजले आफू सभापति हुँदा मनोनित गरि महत्वपूर्ण जिम्मेवारी लिएका कोही पनि अहिले उनको पक्षमा देखिंदैनन् । शुक्रराजले आफ्नो १७ वर्षे कार्यकालमा कास्की कांग्रेसको कोषाध्यक्ष नियुक्ति गरेका पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष  हेमबहादुर प्रधान, शिक्षासेवी सुरेन्द्र भारी, पोउवासंघकै पूर्व अध्यक्ष अशोक पालिखे र कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका व्यवसायी ऋषि सापकोटा कोही पनि अहिले शुक्रराजको पक्षमा देखिंदैनन् । सायद शुक्रराजले आफू सभापति रहँदा कोषाध्यक्ष बनाएकाहरुलाई कुनै दवाव र प्रभावमा पार्न खोजेर हो वा अन्य विविध कारणले, यो विषयमा शर्मा स्वयं नै जानकार होलान् । 
यसैगरी शुक्रराजले विभिन्न काल खण्डमा महत्वपूर्ण जिम्मेवारी दिएका र उनलाई नेता मान्नेहरु अहिले उनीसंग छैनन् । पूर्व राज्यमन्त्री महादेव गुरुङ, पूर्व सहायक मन्त्री प्रकाश बहादुर गुरुङ, पार्टीका वर्तमान जिल्ला सभापति यज्ञबहादुर थापा, उपसभापति विष्णु बाँस्तोला, सचिव कृष्ण केसी, महासमिति सदस्य देवराज चालिसे सहितका पार्टीमा क्रियाशील व्यक्तित्वहरु उनको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका छन् । यसले उनको प्रभाव कमजोर हुँदै गएको र उनको आलोचना बढ्दै गएको अनुमान गर्न सकिन्छ । कतिपयले उनलाई आफू बलियो बनेर संगठनलाई कमजोर बनाउने नेताको रुपमा समेत चित्रण गर्ने गर्दछन् । २०६३ को संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नं. ४ मा प्रकाश बहादुर गुरुङलाई कांग्रेसले उम्मेदवार बनाएपछि शुक्रराजले सार्वजनिक रुपमा कांग्रेसकै उम्मेदवारलाई आफूले सहयोग नगर्ने भनि विज्ञप्ति जारी गरेका थिए । उनकै कारणले त्यस बेलाको निर्वाचनमा कांग्रेसले कास्कीका ४ वटै क्षेत्रबाट पराजय भोग्नु परेको थियो । 
यिनै शुक्रराज यसपटक फेरि कांग्रेसको जिल्ला सभापति पदमा उम्मेदवार बन्ने तयारीमा छन् । १७ वर्षसम्म पार्टीको जिल्ला सभापति र अन्य विभिन्न भूमिकामा रहेर शक्तिको प्रयोग गर्दै आएका उनी पछिल्लो समय भूमिका विहीन बनेपछि पुनः सभापति बन्ने दाउमा छन् । शर्मापछि सभापति बनेका यज्ञबहादुर थापाले पनि १२ वर्षसम्म कास्की कांग्रेसको नेतृत्व गरे । शर्मा र थापाले ३ दशक विताएपछि पुनः शर्मालाई नै सभापति बनाउने हो भने कास्की कांग्रेसको राजनीतिमा नेतृत्व हस्तान्तरण र परिवर्तन असम्भवजस्तै देखिन्छ । तसर्थ कांग्रेसको राजनीतिमा सक्रिय युवा पुस्ता र दशकौं राजनीतिमा लागेका हरुले पनि पार्टीलाई नीतिमुखी र समसामयिक राजनीतिक अवस्थामा नेतृत्वदायी भूमिका खेल्न सक्ने बनाउन गम्भीर ढंगले सोच्न जरुरी छ । 
शुक्रराज शर्मा संगै उनका परिवारका सदस्य अर्थात भतिजा पोषनाथ शर्मा पनि जुनसकै पदका लागि आतुर बनेका छन् । २०५४ सालमा कास्कीको सल्यान गाविसको अध्यक्षमा निर्वाचित भएका पोषनाथले कास्की कांग्रेसको  तत्कालिन क्षेत्र नं. ३ र अहिलेको क्षेत्र नं. ४ को सभापति बनिसकेका छन् । १०औं महाधिवेशनमा क्षेत्रीय सभापति र ११औं महाधिवेशनमा पार्टीको जिल्ला सचिव बनेर काम गरेका पोषनाथले १२औं महाधिवेशनमा जिल्ला सभापति पदमा चुनाव लडेका थिए । यज्ञबहादुर थापा र रामचन्द्र त्रिपाठीले पहिलो र दोस्रो स्थान प्राप्त गर्दा शुक्रराजको उम्मेदवारको रुपमा खडा गरिएका पोषनाथ तेस्रो स्थानमा नै खुम्चिन पुगेका थिए । जिल्ला सभापति पराजित भएपछि लाभको पदको खोजीमा रहेका पोषनाथले कांग्रेस नेतृत्वको सरकार रहेकै बेला गरिबसंग विश्वेश्वर कार्यक्रमको कास्की जिल्ला संयोजकमा नियुक्ति लिएर आकर्षक सरकारी तलव र सुविधाको भोग चलन गरिरहेका छन् । यसरी कास्की कांग्रेसको जिल्ला सचिवको पद लिइ जिल्ला सभापतिमा चुनाव लडेका पोषनाथ यसपटक उनका काका शुक्रराजको वचनलाई हार्न नसकेर क्षेत्र नं. ४ को सभापति बन्ने तयारीमा जुटेका छन् । १२औं महाधिवेशनपछिको समय र १३औं महाधिवेशनको संघारमा आइपुग्दा उनले जिल्ला सभापति बाहेक अन्य कुनै पदमा आफूले उम्मेदवारी दिनु भनेको मृत्युपत्रमा हस्ताक्षर गर्नु जस्तै हो भन्ने अभिव्यक्ति दिंदै आएका थिए । आफ्ना शुभचिन्तक र समर्थकहरु संग पनि बाराम्बार त्यस्तो अभिव्यक्ति दिंदै आएका पोषनाथले आफू सभापति बन्न नपाए पार्टीको क्रियाशील सदस्यमात्र रहने भन्दै आएका थिए । तर सोमबार गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै उनले आफू भूमिकाविहीन भएर बस्दा निकै पीडा भोग्नु परेकोले जस्तो सुकै भूमिकाका लागि पनि तयार रहनु परेको बताए । यसले उनको राजनीतिक नैतिकतामाथि नै प्रश्न चिन्न खडा गरेको छ ।  
कास्की क्षेत्र नं. ४ को सभापति आइबहादुर गुरुङले लगातार २ कार्यकाल नेतृत्व गरेपछि उनी उनः क्षेत्रीय सभापति बन्ने पक्षमा छैनन् । शुक्रराज सहितका २÷४ जनाले आइबहादुरलाई पुनः क्षेत्रीय सभापतिमा उम्मेदवारी दिन दवाव दिएपनि गुरुङले त्यसलाई ठाडै अस्वीकार गरि जिल्ला समितिको महत्वपूर्ण पदमा आउने चाहना गरेका छन् । कांग्रेसको क्षेत्रीय अधिवेशन माघ २२ र जिल्ला अधिवेशन माघ २५ गते हुँदैछ ।

Post a Comment

 
Top