0
हरि पन्त
पोखरा १७ माघ ।
नेपाली कांग्रेस पोखरा उपमहानगर समितिको सभापतिमा वजिरमान श्रेष्ठ निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित श्रेष्ठ २ हजार ४ सय ४५ र उनका प्रतिद्वन्दी विमलबहादुर कार्कीले १ हजार ८ सय ७२ मत प्राप्त गरे । निर्वाचनमा ५१ मत बदर भएको जिल्ला निर्वाचन समितिका सदस्य शिरोमणि लामिछानेले जानकारी दिए । श्रेष्ठ कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर हुन् । नगर समितिका आठ सदस्य पदका २२ जनाको उम्मेदवारी परेको र उनीहरुको मतगणना जारी छ । त्यसको परिणाम सोमबार साँझ सम्ममा आउने बताइन्छ । 
यसैबीच सभापति पदमा विजयी श्रेष्ठले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै पार्टीको आन्तरिक निर्वाचन भएकाले जित र हारको कुरा छाडेर पार्टी संगठनलाई मजबूत र एकताबद्ध बनाउने पक्षमा आफू लाग्ने बताए । उनले आफूलाई विजयी गराउन प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने कांग्रेसका सबै नेता कार्यकर्तालाई आभार प्रकट सकेत गरेका छन् । यसैगरी अध्यक्षका अर्का प्रत्यासी कार्कीले पनि आफूलाई मतदान गर्ने सबै मतदाताप्रति आभार व्यक्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत पोखरा उपमहानगर पालिका वडा नं. ९मा पनि शनिबार स्थगित मतदान आइतबार सम्पन्न भयो । वडा अधिवेशनले पार्टीको जिल्ला समितिका वर्तमान उपसभापति विष्णु प्रसाद बाँस्तोला र पूर्व जिल्ला कोषाध्यक्ष ऋषिराम सापकोटालाई क्षेत्रीय प्रतिनिधि मार्फत अघि बढ्ने बाटो बन्द गरिदिएको छ । बाँस्तोला कांग्रेस नेता शुक्रराज शर्मा र जिल्ला सभापति यज्ञबहादुर थापा समेतको मिलेमतोबाट जिल्लाको उपसभापति मनोनित भएका थिए । 
यसैगरी सापकोटा शुक्रराज शर्मा सभापति रहँदा नै कोषाध्यक्ष थिए तर बीचमा शर्मा र सापकोटाको सम्बन्ध चिसिएको थियो । अधिवेशनबाट उमा ठकूरी वडा सभापति पदमा निर्वाचित भएकी छन् । उनले १८६ र उनका प्रतिद्वन्दी शिवराज बाँस्तोलाले १६९ मत पाएका थिए । पोखरा–९ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेहरुमा नरेश शंकर पालिखे २२६, रामराज लामिछाने २१३, दीपेन्द्र मर्सानी २०१, भीम गौतम १८१ र मुना बाँस्तोलाले १७५ मत प्राप्त गरेका थिए । 

यसैगरी क्षेत्रीय प्रतिनिधिमा महिलातर्फबाट राममाया मानन्धर र लक्ष्मी अधिकारी निर्विरोध निर्वाचित भए । पराजित भएका क्षेत्रीय प्रतिनिधिहरु मध्ये ऋषि सापकोटाले १४०, विष्णु प्रसाद बाँस्तोलाले १३९, नन्दराम गिरीले ११५, राजेन्द्र पहारीले ९९, विष्णुबहादुर खवासले ९३,सुरेश खवासले ९७ र शोभा मिश्र अधिकारीले ३४ मत प्राप्त गरेका थिए । ४४९ जना क्रियाशिल सदस्य रहेको पोखरा–९ मा ३८० मत खसेको र ५ मत बदर भएको थियो । वडा नं. ९ मा युवाहरु संगठित रुपले अघि बढेपछि अघिल्लो पुस्ताका धेरैले समर्थन गरेका थिए । 

यसैगरी पोखरा–४ को वडा सभापतिमा गोविन्दप्रसाद पराजुली तथा क्षेत्रीय प्रतिनिधिहरुमा राजेन्द्रनीधि कोइराला, सुन्दर विजय कोइराला, लोकेन्द्र बहादुर कोइराला, दामोदर अधिकारी, शंकर बाँस्तोला र महिला प्रतिनिधिमा सकुन्तला कोइराला र रजनी केसी विजयी भएका छन् । उक्त वडाबाट राजेन्द्रबहादुर कोइराला क्षेत्रीय प्रतिनिधिमा तथा पूर्व वडा सभापति लेखनाथ पराजुली सभापतिमा पराजित भएका थिए ।

Post a Comment

 
Top