0
गोल्डेन न्यूज संवाददाता
नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्टमण्डप एयरको ९ एन एजेबी कलसाइन जहाज कालिकोटमा दुर्घटना हँुदा चालक दलका दुई सदस्यको ज्यान गएको छ । पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको ज्यान गएको नेपालगञ्ज विमानस्थल श्रोतले जानकारी दिएको छ। जहाजमा सवार अन्य ९ जना घाइते छन्। जहाजमा यात्रारत ३५ वर्षीय गणेश भट्टचन, ३५ वर्षीय मेघराज गिरी, २५ वर्षीय जगदम्बा खत्री, १६ वर्षीया सोनाली भट्टचन, ३० वर्षीयालक्ष्मी सुनार, गोविन्द भण्डारी, ३४ वर्षीय लक्ष्मण खड्का, ३१ वर्षीय धनन्जय खत्री र खत्री थरकी एक बालिका घाईते भएका हुन् । घाइते भएका सबै नौं जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट नेपालगंज लगिएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डीआईजी माधव नेपालले जानकारी दिए । जहाजमा जम्मा ११ जना सवार थिए। जहाज १२ः३० बजे नेपालगञ्जबाट उडेको थियो। घटनास्थल कालिकोट सदरमुकाम देखि ४ घण्टा पैदल दुरीमा पर्छ। नजिकैको बादमघाट प्रहरी चौकीबाट असइ दानबहादुर शाहीको नेतृत्वमा गएको प्रहरी टोलीले उद्दारकार्य गरिरहेको छ। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमा थप उद्दारकर्ता र चिकित्सक टोली घटनास्थलतर्फ लागेको कालिकोट का प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। जहाजमा खरावी आएपछि आपतकालिन अबतरणको क्रममा चालक र सह–चालकले आफ्नो ज्यान फालेर भएपनि यात्रु जोगाएका हुन् । जहाज दुर्घटना भएपछि स्थानीय बासिन्दाहरुले नै उद्धार गरेर प्राथमिक उपचार गरेका थिए । दुर्घटनापछि कालिकोट सदरमकाम बाट प्रमुख जिल्ला अधिकारी सहितको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनाको भएको घण्टौंसम्म पनि उद्धारका लागि सरकारी टोली नपुगेपछि घाइतेहरुबीच रुवाबासी नै चलेको थियो । यसैबीच कालिकोटमा भएको जहाज दुर्घटनाको उद्धारमा ढिलाई हुँदा पाइलटले ज्यान गुमाउनु परेको छ । दुर्घटनापछि समयमै उद्धार हुन नसक्दा गम्भीर घाइते भएका जहाजका दुबै चालकको ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् । जहाजमा समस्या देखिएपछि चालकले गहुँबारीमा आकस्मिक अवतरण गराउने क्रममा जहाजको अगाडिको भाग भित्तामा ठोकिएको थियो । सो क्रममा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना गम्भीर घाइते भएका थिए । उनीहरुको समयमै उपचार हुन नसक्दा मृत्यु भएको हो । घटनास्थल जिल्ला सदरमुकाम बाट टाढा भएको र उद्धारका लागि समेत हेलिकोप्टर समयमा पुग्न नसकेपछि दुबै पाइलटको मृत्यु भएको स्थानीय शिवालय उच्च माविका लेखापाल अजबहादुर खत्रीले बताए । जहाज बारीमा खसेपछि हामीले हतारमा सबैलाई बाहिर निकाल्यौं, अगाडिको भागमा बढी क्षति भएकाले पाइलटहरुलाई बढी चोट लागेको थियो’,–उनले भने, ‘हामीले स्थानीयस्तरमा सकेजतिको उपचारको प्रयास गर्यौं, तर पाइलटलाई बचाउन सकेनौं ।’  उनका अनुसार सुरुवातमा न्यौपानेको ज्यान गएको थियो भने घटना भएको केही समयपछि रानाको ज्यान गएको थियो । रानाले आफूलाई बचाउनका लागि गाउँलेसँग इशारामार्फत आग्रह गरेका थिए । लेखापाल खत्रीका अनुसार रानाले बोल्न भने सकेका थिएनन् । दुर्घटनाको एक घण्टापछि रानाको मृत्यु भएको थियो । खत्रीले समयमा नै प्रहरी र सरकारी अधिकारीहरु उद्धारका लागि नपुग्दा पाइलटले उपचार नै नपाएर ज्यान गुमाउनु परेको बताए । दुर्घटना भएको करिब दुई घण्टापछि मात्र मुगुबाट उद्धारका लागि हेलिकोप्टर पुगेको थियो भने प्रहरी चौकी पाग्म र खल्लागाढबाट समेत प्रहरी पुगेका थिए । आफू मरेर अरुलाई बचाए’बरिष्ठ पाइलट डीआर निरौलाले काष्ठमण्डप एयरको जहाजलाइ चौरमा अवतरण गराउन सक्नु पाइलटको ठूलो उपलब्धि भएको बताएका छन । ‘काष्ठमण्डप एयरको उक्त जहाज सिंगल इन्जिनको हो । इन्जिनमा गडबड हुन साथ तत्कालै फोर्स ल्याण्डीइंग गर्नुको विकल्प हुँदैन,’ निरौलाले भने,–‘जाहज अझ सुरक्षित स्थानमा अवतरण हुन सक्ने अवस्था पनि थियो कि । तर जसरी र जुन स्थानमा अवतरण भयो, त्यो ठुलो उपलब्धि हो ।’  अवतरणका क्रममा चालकको निधन आफू अत्यन्त दुखि भएको उनले बताए । ‘यस्तो समयमा चालक आफू पनि बाँच्ने र अरुलाई पनि बचाउने प्रयास गर्ने हो,’ उनले भने,–‘आज चालक आफू मरे, तर अरुलाई बचाए ।’  क्याप्टेन निरौलाले राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्स र नेकोन एयरमा काम गर्दा नेपालगंज–जुम्लाको रुटमा मिमान उडाएका थिए । ‘बीचमा जाहज गडबड हुँदा कर्णाली पारी एयरपोर्ट आकारको बगर छ । त्यहाँ पनि हुन सक्ने थियो कि भन्ने अन्दाज गर्न सकिन्छ । तर सम्पूर्ण अवस्थाको जानकारी बिना अहिले धेरै कुरा भन्न सकिन्न,’उनले भने,–‘तर पाइलटको प्रयास प्रशंसनीया छ र त्यो ठूलो उपलब्धि हो, यद्यपि पाइलट बाँच्न सकेनन भन्ने समाचार भर्खरै थाहा भयो ।’ निरौलाले ०५४ सालमा नेकोन एयरको जहाजलाइ काठमाडौँ एयरपोर्टमा गराएको फोर्सल्याण्डिइंग चर्चित घटनाका रुपमा लिइन्छ । उक्त जहाजमा ४८ जना यात्रु थिए ।




Post a Comment

 
Top