0
वसन्तप्रकाश उपाध्याय
नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम केन्द्रिय कार्यसमितिको पछिल्लो बैठकले पारित नगरेपछि धेरै कोणबाट बहस जन्माएको छ । कार्यवाहक सभापतिको जिम्मेवारी लिएका उपसभापति रामचन्द्र पौडेल आफैं संयोजक रहेको नीति निर्माण समितिले तयार पारेको प्रतिवेदन सहज पारित नहुने प्रसंग जति सोचनीय देखिन्छ उत्तिकै पेचिलो बनेको छ । वास्तवमा कुनै कम्युनिष्ट पार्टी हुन्थ्यो र त्यसको नेतृत्वले तयार पारेको प्रतिवेदन यस्तो अवस्थामा पुग्दथ्यो भने त्यसै दिनबाट नेतृत्व प्रतिस्थापनको मुद्दा उठ्नुसँगै प्रक्रियाको थालनी भइसकेको हुन्थ्यो । यहाँ कुरो प¥यो नेपाली कांग्रेसको । र त, विधिविधान बिर्सेर प्रतिवेदन परिमार्जनको ‘ग्रेस’ पौडेल र उनको समितिले पाएको छ । त्यसो सँधै ‘ग्रेस’ लिनु र पाउनु पौडेलको चिनारी र नियति बनेको छ । रामचन्द्रको विगतदेखि वर्तमान यस्तै ‘ग्रेस’ र शंकाको लाभले चलेको पाइन्छ । देउवाहरूले आफ्नो नठान्नु छ छँदैछ कोइराहरूले पनि उनलाई ‘ग्रेस’ नै दिएर हेर्छन । कोइरालाहरूले पूर्णङ्क दिएको भए उनी देउवा झैं महिनौ अघिदेखि सभापतिका उम्मेद्वार भइसकेका हुन्थे । हुन त प्रतिवेदन तयार पार्ने काममा पौडेल एक्लै थिएनन् । उनीसँग आफू निकटका, आफ्ना विचार समूहका र संस्थापन भनिने चिन्तन बोक्ने र देखाउनेको संख्या उल्लेख्य थियो । पौडेलको दुर्भाग्य प्रतिवेदन प्रस्तुत गर्ने क्रममा उनका तीं ‘संस्थापन बंशज’ उनकै ‘कित्ता’मा रहेनन् । अधिकांशले प्रतिवेदन तयार पार्ने काममा आफ्नो संलग्नता नरहेको बताउँदै आपत्ति प्रकट गर्दै पौडेललाई दुत्कारे । प्रतिवेदनमाथि संस्थापन बंशजहरूले अनभिज्ञता प्रकट गर्नुसँगै बन्द कोठामा गैर राजनीतिक व्यक्तिहरूको गठजोडले १२ आं महाधिवेशनकै दस्तावेजलाई ‘कपी–पेष्ट’ गरिएको भन्दै आक्रोश पोखे । सरसर्ती हेर्दा यो आपत्ति र आक्रोशले आ–आफ्ना स्वार्थसिद्धिका अनेकन आयामहरूलाई प्रष्ट्याए पनि कांग्रेसको परिदृश्यमा देखिने ‘संस्थापन र विस्थापनको ह्याङओभर’लाई भने यस घटनाले चिर्ने काम गरेको छ । अनि यसले मान्छे हेरेर मुद्दा बिर्सने संस्थापन–विस्थापनको ‘धङधङी’लाई ढिलै भए पनि ‘कागती’ खुवाउने काम गरेको छ । कार्यसमितिको बैठक सुरु हुनुअघि कार्यवाहकको दौरा सुरुवालमा सजिएर सानेपा पुगेका रामचन्द्रलाई आफ्नो प्रतिवेदनमा आफ्नाहरूले नै विमति राख्लान् भन्ने झिनो शंका समेत थिएन । संस्थापन–बंशजहरूले प्रतिवेदनलाई अपूर्व र ऐतिहासिक दस्तावेज भन्दै ताली नपिटे पनि उज्यालो अनुहार बनाउँदै ल्याप्चे लगाउलान् भन्ने परिकल्पना उनमा थियो होला । थोरै अनुमान बुढानिलकण्ठ–बिरोधको भए पनि धनराज गुरुङको चश्माले ‘माइक्रोस्कप’ शैलीमा आफ्ना ‘अमिबा’हरूलाई पानी छँदाउने काम होला भन्ने पौडेलले सोचेकै थिएनन् । यसअघि वादी र प्रतिवादी शैलीमा प्रस्तुत हुने र गरिने निर्णय प्रक्रिया र पद्धति बुझेका पौडेल सर्वसम्मत नभए पनि बहुमतले आफूलाई साथ दिने अपेक्षका साथ जुँगा नभएको ओठमाथिबाट वाहवाहीको ‘ताउ’ लाउने ताकमा थिए । पौडेलको दुर्भाग्य उनका कुनै पनि अनुमान, सोच र बुझाइ उनको पक्षमा भएन । महेश आचार्यले त उनलाई साथ दिएनन् दिएनन् उनका आफ्नै नुवाकोटे ‘राम’ले पनि उनलाई ‘शरण’ दिएनन् । यसपटक यसरी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा ‘संस्थापन बंशज’को ह्याङओभर देखिएन । देखियो त केबल सबल, सग्लो र सपाट नेपाली कांग्रेस देखियो । मान्छे हेर्न छाडेर मुद्दा हेर्नुपर्ने अत्यन्तै समसामयिक, सामूहिक र अपरिहार्य परिस्थिति कांग्रेसमा जन्मियो । हो, यस्तै हुनुपथ्र्यो कांग्रेस । कांग्रेसलाई मुख नहेरेर मुद्दा हेर्ने प्रवृत्ति चाहिएको थियो । सबल कांग्रेसका लागि हाँगा समाउनेभन्दा जरामा पानी हाल्ने ‘भाइहरू’को आवश्यकता थियो । ‘दाइ’हरूको सेपमा हुर्कने ऐँजेरु संस्कृति त्याग्नै पर्दथ्यो । अनि संस्थापन–विस्थापन भनिने मनोवृत्ति छाड्नै पर्दथ्यो । कांग्रेस बिग्रिएको यही संकीर्ण संस्कारले हो । मेरो ८३ वर्षीय पिताजीले भोगेको सुवर्ण–कांग्रेस र बीपी कांग्रेसको आत्मरति होस् या युवा वयमा हामीले भोगेको किसुनजी अन्तर्घातको प्रताडनामै किन नहोस्, कांग्रेस वंश र अंश चिन्तनले खोक्रो भएको सबैलाई थाहा छ । अचेल धेरै कुरा सुनिन्छ, गुट र उपगुटको । ६०–४० को अंकगणितमा शतप्रतिशत खोज्ने गति र मति कहीँ पाइँदैन । संस्थापन बंशजको ह्याङओभरमा अरूलाई ‘विस्थापन’ गराउन खोज्ने गणित माष्टरहरूको बर्चस्व नै छ । एउटै पार्टी, एउटै झण्डा, एउटै सदस्यता, एउटै आदर्श, एउटै सिद्धान्त भएर पनि को संस्थापन ? को विस्थापन ? यसको सन्तुलित जवाफ खोज्ने काम कोही कसैले गरेनन् । परिस्थितिवश कांग्रेस केन्द्रीय कार्यसमितको बिहीबारको बैठक जानी–नजानी यी सबै संकीर्ण उहापोह चिरेर सामूहिक चिन्तनको मुद्दामा केन्द्रित भएको छ । वैयक्तिक स्वार्थ, व्यापारिक–गुट र संस्थापकीय ह्याङओभर छाडेर कांग्रेसका नेताहरूले सर्वप्रतिक्षित ‘सर्वहिताय’को पक्षमा अभिमत जाहेर गरेका छन् । जसलाई ‘कावा’ सभापति पौडेलले आफू विरुद्ध आफ्नाहरूको ‘धावा’ नबुझेर समग्र कांग्रेसको मूल पूँजी अर्थात ‘सावा’ का रूपमा लिनसके सुनमाथिको सुगन्ध ठहर्ने छ ।





Post a Comment

 
Top