0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका सूचना प्रविधि तथा सञ्चार मन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा राष्ट्रिय हित विपरित कुनै सम्झौता नहुने बताएका छन । प्रेस चौतारी कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले शुक्रबारदेखि हुने प्रधानमन्त्रीको भ्रमणको क्रममा राष्ट्रिय र स्वाधिनता माथि आँच आउने कुनै प्रकारको सम्झौता हुनै नसक्ने दाबी गरेका हुन् । उनले प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्ध सुधार र विकाससँग सम्बन्धित विगतका सम्झौतालाई कार्यान्वयन गराउनेतर्फ केन्द्रित हुने स्पष्ट पारे । सबै नेपालीको शिर उँचो हुने गरी आर्थिक र विकासको एजेन्डालाई प्राथमिकता राखेर भारतसँग वार्ता हुने दाबी गर्दे मन्त्री राईले पहिले देखि चिसिएको सम्बन्धलाई यस पटकको भारत भ्रमणले भोलिको दिनमा समेत सम्वन्ध सुदृढ हुने अपेक्षा गरे । सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले नेपालको आर्थिक विकास र समृद्धिसँग जोडिएको विगतमा भारतसँग भएका सम्झौतालाई कार्यान्वयन गराउन ठोस पहल हुने जनाए । भारत भ्रमणपछि प्रधानमन्त्री ओलीले अर्को छिमेकी देश चीनको भ्रमण गर्ने उनले बताए । एक वर्ष भित्र लोडसेडिङ कम गरी जनताले महसूस हुने गरी काम गर्नका लागि सरकारले काम थालेको बताउदै उनले दुई बर्ष भित्रमा उर्जा संकटबाट देशलाई मुक्त गराउँदै जनताले महसूस हुने गरी काम गर्नको लागि गृह कार्य सुरु भई सकेको उनले बताए । संविधान निर्माणपछि देश अब आर्थिक समृद्धितर्फ अगाडि बढेकोले दिगो विकासलाई प्राथमिकतामा राखेर सरकारले नीति कार्यक्रम बनाउने उनले जनाए । मन्त्री राईले सञ्चार नीति परिर्वतन गर्नुपर्ने आवश्यकता बताउदै ‘समय सुहाउँदो सञ्चार नीति बनाउनका लागि कार्यदल गठन भएको जनाए । पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि आम सञ्चार प्रतिष्ठान निर्माणको काम पनि अगाडि बढेको बताउँदै मन्त्री राईले आफ्नो प्रस्तावमा सञ्चार संग्राहालय स्थापना गर्नेतर्फ पनि सरकार लागेको जनाए । मन्त्री राईले पोखरा आसपासमा देखिएको अपराधिक घटना र यातायात क्षेत्रमा देखिएको समस्याको कानून बमोजिम उपाय खोज्न क्षेत्रीय प्रशासन तथा स्थानीय प्रशासनलाई निर्देशन दिए। 
उनले भने–‘उद्योगी व्यवसायीले लेखनाथमा महोत्सव गर्ने र यातायात व्यवसायीले चक्काजाम गर्ने सुहाएन, विवाद जे भए पनि चक्का जाम राम्रो कदम भएन यसमा प्रशासकहरुले जनतालाई सेवा दिने हिसाबले विवाद टुंगाउनु पर्छ, कसैले कानून मिच्न खोजेको छ भने प्रशासक डराउन हुँदैन । ‘शान्ति, सुरक्षालाई कडाइका साथ पालना गराएर कदम चाल्न क्षेत्रीय प्रशासक र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको जनाए । कानून भन्दा कोहि माथि जान खोजे सरकारले त्यस्ता कुनै व्यक्ति तथा संस्थालाई छुट नदिने मन्त्री राईले चेतावनी दिए । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रामजी शर्मा,  सचिव अर्जुन गिरीले पनि बोलेका थिए ।





Post a Comment

 
Top