0
वैदेशिक रोजगारबाट स्वदेश फर्कि स्वदेशमानै उद्यमशिलता गरेका ब्यक्तिहरुले सञ्चालन गरेको उद्यमशिलताको नेपाल सरकारका विभिन्न निकायका टोलीहरुले अवलोकन गरेका छन । पोखरा आसपासमा सञ्चालन गरेका उद्यमीहरुको पेशाको उनीहरुले अवलोकन गरेका हुन । वैदेशिक रोजगारबाट फर्केका नेपालीहरुको समूह एशियन फोरमको संयोजनमा सम्पन्न अवलोकन भ्रमण कार्यक्रममा पोखरा क्षेत्रमा रहेका उद्यमशिल ब्यक्तिहरुले सञ्चालन गरेको विभिन्न पेशाको अवलोकन गर्ने क्रममा उक्त टोली नेपालमानै एकमात्र ठूलो बंगुर फार्म पोखरा लाइभ स्टक प्रा.लि.को प्रत्यक्ष अवलोक गरेका हुन । नेपालकै एकमात्र अत्याधुनिक र ठूलो बंगुर फार्मको अवलोकन पश्चात श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेलले वैदेशिक रोजगारको क्रममा सिकेको सिपलाई आफ्नै भूमिमा आएर पेशा गरी वेरोजगार युवाहरुलाई रोजगार प्रदान गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पशु मन्त्रालयलाई यस्ता कृषकहरुलाई प्रोत्साहनमा जोड दिने बताए। कृषकहरुलाई सर्वसुलभ दरमा ऋण प्रदान गर्ने भनेतापनि हालसम्म ब्यवहारमा आउन नसकेको भन्दै त्यसबारेमा समेत कृषि विकास बैंकलाई घच्घच्याउने समेत उनले बताए । त्यस्तै फर्मको अवलोकनमा पुगेका संस्कृति तथा पर्यटन नागरिक उड्डयन मन्त्रालयका शाखा अधिकृत विनोद गौतमले वैदेशिक रोजगारमा गएर सिकेको सिपले गर्दा नेपालमानै ठूलो फर्म सञ्चालन गर्न सफल भएको र यस्ता ब्यवशायलाई प्रवद्र्धन गर्दै नेपालमा कृषि पर्यटनको समेत विस्तार गर्नुपर्नेमा जोड दिए । पोखरामा विशेष गरी वैदेशिक रोजगारमा गएर फर्केका युवाहरुले नै बजारमा विभिन्न ब्यवसायहरु गर्न सफल भएको उनको भनाइ रहेको थियो । त्यस्तै राष्ट्रिय योजना आयोगका योजना अधिकृत दुर्गा बन्जाडेले युवा उद्यमी छ्याम थापा जस्ता ब्यक्तिहरु पछिल्लो समय कृषि पेशामा आवद्ध भएर नेपालमा ब्यवसायिक कृषिलाई अगाडि वढाइरहेको बताउँदै यस्ता कृषकको हकहितका लागि कृषि मन्त्रालयहरुले विभिन्न योजनाहरु ल्याउन जरुरी रहेको स्पष्ट पारे । पोखरा लाइभ स्टक प्रा. लि.का सञ्चालक छ्याम थापाले आफूले कोरियामा रोजगारको सिलसिलामा सिकेको सिपलाई ब्यवसायमा ल्याइरहदा अझैपनि सरकारी तवरबाट केही सहयोग नभएको बताए । सरकारले विभिन्न सञ्चार माध्यामबाट सस्तो दरमा ऋण दिने भनेतापनि ब्यवहारमा नहुँदा अफ्ठेरो परिरहेको र यसबारेमा सरकारले सोचेको खण्डमा राहत हुने उनको भनाइ थियो । लेखनाथको रिटठेपानीमा रहेको थापाको फर्ममा झण्डै दुइ हजार बढी बङ्गुर रहेका छन ।





Post a Comment

 
Top