0
गंगाधर पराजुली/गोल्डेन
पोखरा १७ माघ ।
नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत गाउँ र नगरको अधिवेशन सकिएपछि अब क्षेत्रीय र जिल्ला अधिवेशन हुँदैछ । माघ २२ गते क्षेत्रीय अधिवेशन र २५ गते हुने जिल्ला अधिवेशनका लागि नेताहरुको दौडाहा तीव्र बनेको छ । क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि समेत निर्वाचित हुने भएकाले त्यसका लागि केन्द्रीय तहका नेताहरु समेत आ–आफ्नो क्षेत्रमा आफ्नो र आफ्ना  समर्थकको विजय यात्राको रणनीति तयार गर्न व्यस्त छन् । 
कास्की कांग्रेसको नेतृत्व लिन चाहना गर्नेहरुको संख्या आधा दर्जन बढी छ । जसमध्ये वर्तमान सभापति यज्ञबहादुर भन्दा अघि १७ वर्षसम्म कास्की कांग्रेसको सभापति बनेका शुक्रराज शर्मा, वर्तमान सचिव कृष्ण केसी, महासमिति सदस्य देवराज चालिसे, नेविसंघका पूर्व उपाध्यक्ष गुरु बराल, यसअघिको अधिवेशनमा सभापतिमा पराजित रामचन्द्र त्रिपाठी प्रमुख रहेका छन् । यस वाहेक कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेता खेमराज पौडेल, र शोभियत बहादुर अधिकारीका साथै महासमिति सदस्य कृष्णबहादुर कार्की, महाधिवेशन प्रतिनिधि तथा यसअघि पराजित उम्मेदवार पोषनाथ शर्माले समेत सभापति बन्ने चाहना गरेका छन्। त्यसो त कास्की कांग्रेसका पुराना नेता राजेन्द्रनीधि कोइराला लगायतको नाम पनि सभापति पदमा चर्चामा छ ।   
१७ वर्षसम्म कास्की कांग्रेसको सभापति बनेका शुक्रराज शर्मा केही वर्षदेखि भूमिकाविहीन बनेकाले पुनः सभापतिको भूमिका खोजेका हुन् । यसअघिको अधिवेशनमा शुक्रराजले आफ्नो उम्मेदवार पोषनाथ शर्मालाई बनाए पनि शर्मा ३ जना उम्मेदवार बीच प्रतिस्पर्धा हुँदा तेस्रो स्थानमा पुगेका थिए । त्यस बेला दोस्रो स्थानमा रहेका रामचन्द्र त्रिपाठी पनि यतिबेला शुक्रराज संग निकट रहेको बताइन्छ । तर शुक्रराजले त्रिपाठीलाई समर्थन गर्ने सम्भावना अत्यन्त न्यून छ । पोषनाथ भने शुक्रराजले नबोल्दासम्म उम्मेदवार बन्न सक्ने अवस्थामा छैनन् । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै पोषनाथले भने–‘म अघिल्लो पटकको घाइते भएकोले मेरो चाहना सभापतिको उम्मेदवार बन्ने हो तर साथीभाइले जून ठाउँमा बस्न भन्छन्, त्यही ठाउँमा बस्न तयार छु ।’ उनको यो भनाइले पनि यसपटक उनी सभापतिको उम्मेदवार नबन्ने पक्का भएको छ । पोषनाथ उम्मेदवार नबन्ने भएपछि शुक्रराज आफै चुनावी मैदानमा होमिने भएका छन् । उनले आफ्नो टीमका ३÷४ जनासंग आइतबार सल्लाह गरेर आफू सभापतिमा चुनाव लड्ने संकेत दिएको स्रोतले बताएको छ। शुक्रराजको उम्मेदवारी संगै पोषनाथ जिल्ला सदस्य बनेर पुनः जिल्ला सचिव वा उपसभापति मनोनित गर्नेे दाउमा छन् । तर यसअघि पोषनाथले आफू सभापति उम्मेदवार बन्न नसके पार्टीको  सदस्यमात्र रहेर बस्ने भन्दै आएका थिए । यदि पोषनाथले सभापतिमा उम्मेदवारी नदिइ अन्य पद लिन खोजे भने उनलाई कार्यकर्ताले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुने निश्चित छ । 
सभापतिका आकांक्षी मध्येका वर्तमान सचिव कृष्ण केसी अहिले उत्साहित बनेर सभापतिको दौडमा लागेका छन् । आफूले यसअघि समर्थन गरेका यज्ञबहादुर थापासहित उनको टीमले आफूलाई सहयोग नगरेमा भविष्यमा वदला लिने चेतावनी सहित केसीले चुनावी अभियान अघि बढाएका छन् । शुक्रराज र कृष्णबीच सिधा प्रतिस्पर्धा भएमा एकले अर्कोलाई संस्थापन र देउवा पक्षको भनि आरोप–प्रत्यारोप गर्ने रणनीति तयार गरिरहेका छन् । 
यता, वर्तमान सभापति यज्ञबहादुर थापा दुई कार्यकालमा १२ वर्षसम्म जिल्ला सभापति बनेपनि पार्टीको विधानले निर्दिष्ट गरेका सामान्य कामहरु समेत उनले गर्न सकेनन् । पार्टीको विधानमा तोकिए अनुसार जिल्ला कार्यसमितिमा सदस्यहरु मनोनित गर्ने, कार्यसम्पादन समिति बनाउने र विभिन्न विभागहरु गठन गरेर पूर्णता दिनेतर्फ थापाले कहिल्यै चासो देखाएनन् । विधानमा प्रत्येक वर्ष पार्टीको जिल्ला सम्मेलन गर्नुपर्ने र जिल्ला समितिको मातहतका क्षेत्रीय कार्यसमितिबीच समन्वय कायम गर्ने, आवश्यक सहयोग र निर्देशन दिने जस्ता सामान्य काम समेत थापा सहितको वर्तमान नेतृत्वले गर्न सकेन । पार्टीको भातृ संस्था त्यसमा पनि नेविसंघ भित्रको विवाद समाधान गर्नुको साटो सधैंभरि विवाद कायम रहनेगरि उदांगो पार्ने काम थापा नेतृत्वको कार्यसमितिबाट नै भयो ।
कास्की कांग्रेसको नेतृत्व गरेका थापासहितको टोलीले प्रभावकारी काम गर्न नसकेको भन्दै पूर्व विद्यार्थी नेता एवं महासमिति सदस्य देवराज चालिसेले समेत आफ्नो चुनावी पाइला अघि बढाएका छन् । क्षेत्रीय प्रतिनिधि चयन भएपछि आफ्नो पक्षमा समर्थन बढेको र कार्यकर्ताले परिवर्तन र नयाँ नेतृत्व चाहेको भन्दै उनले आफ्ना शुभचिन्तक र समर्थक समक्षसंग भेटघाट तीव्र बनाएका छन् । 
यस्तै केही महिनादेखि नै सभापतिको उम्मेदवार बन्ने भनि गाउँ–गाउँ पुगेका युवा गुरु बराल पनि अन्य दावेदारको तुलनामा आफूलाई कार्यकर्ताले मन पराएको दावी गर्छन् । उनी भन्छन्–‘सबै नेता कार्यकर्ताले युवा नेतृत्व चाहेका छन् ।’ सभापतिको दौडमा रहेकाहरु मध्ये देउवा पक्षले कसलाई उम्मेदवार तोक्ने भन्ने निर्णय हुन सकेको छैन । कतिपयले कांग्रेसका पुराना नेता खेमराज पौडेललाई त कतिपयले शेभियतबहादुर अधिकारीलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् । पौडेलले भने आफू सभापतिको दौडमा लाग्न उमेर र स्वास्थ्य प्रतिकूल हुँदै गएकाले आपसी सल्लाहमा क्षमतावान साथीलाई अघि बढाउनुपर्ने भन्दै आएका छन् । देउवा पक्षीय नेता कार्यकर्ताहरु बीच विशेषगरि पूर्व सहायक मन्त्री प्रकाशबहादुर गुरुङ, खेमराज पौडेल र शोभियतबहादुर अधिकारीसहितको संयन्त्रले सुझाव संकलन गरि उम्मेदवारको टुङ्गो लगाउन प्रयास गरेको बताइन्छ । 
जिल्ला अधिवेशन र क्षेत्रीय अधिवेशनको दिन नजिकिंदै गर्दा कास्कीमा पनि सबैजसो नेताहरु आ–आफ्नो क्षेत्रमा केन्द्रित भएका छन् । क्षेत्रीय प्रतिनिधिहरु निर्वाचित भैसकेपछि उनीहरुलाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न किसिमका प्रलोभन समेत दिन थालिएको छ । यसअघिको महाधिवेशनमा कास्कीको १ नं. क्षेत्रबाट क्षेत्रीयताको बलमा सभापति र सचिव दुवै निर्वाचित भएका थिए । सभापति यज्ञबहादुर थापाले दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्दा कृष्ण केसीले सचिवमा प्रतिस्पर्धा गरि दुवै विजयी भएका थिए । अहिले भने थापा र केसी एकै ठाउँमा छैनन् । केसीलाई त्यसै क्षेत्रका नेता एवं पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाटले समर्थन गर्ने सम्भावना रहेपनि सभापति थापा र केन्द्रीय सदस्य जीवन परियार भने केसीसंग टाढिएका छन् । 
थापा र परियार दुवै सांसद समेत भएको र अहिले दुवैले सांसद विकास कोषको रकम र योजना पार्नका लागि आफूले भनेको ठाउँमा मत दिनुपर्ने शर्त अघि सारेको बताइन्छ । त्यसका लागि उनीहरुले कृष्ण केसीका विरोधी मानिएका प्रकाश खनाललाई प्रयोग गरिरहेका छन् । खनालले त्यस क्षेत्रका कतिपय मतदातालाई आफूहरुले भनेको ठाउँमा मत नदिए बजेट र योजना नै कटौती गरिदिने चेतावनी दिएको कतिपयको भनाइ छ । 
सांसद परियार र थापाले मतदाता क्षेत्रीय प्रतिनिधिसंग जेजस्तो शर्त अघि सारेपनि सभापतिका आकांक्षी केसी भने उनीहरुको कुराले आफूलाई फरक नपर्ने बताउँछन् । उनले गोल्डेन न्यूज दैनिकसंग भने–‘अरु कसले के–के गर्छन् भन्ने कुरा मलाई जानकारी छैन तर क्षेत्र नंं. १ का अधिकांश मतदाता मेरै पक्षमा छन् र उनीहरुले मलाई पार्टीको सभापति बनेको देख्न चाहेका छन् ।’
केन्द्रमा पार्टीको संस्थापन र देउवा पक्षको प्रतिस्पर्धा हुने देखिएपनि कास्कीमा भने स्थानीय नेताहरुबीचको प्रतिस्पर्धाले नै चर्चा पाउँदै छ । संस्थापनबाट देउवा पक्षमा जान खुट्टा उचालेपनि कास्कीका देउवा पक्षीय नेता कार्यकर्ताले स्वीकार नगरेपछि शुक्रराज शर्मा अहिले पुरानै ठाउँमा अड्किएका छन् । तर उनले केन्द्रका नेताहरुलाई अनुकुल किसिमले कुरा गर्दै आएको बताइन्छ । केसी पनि संस्थापन पक्ष रामचन्द्र पौडेन निकट मानिन्छन् तर शर्माले संस्थापनको सहयोग पाएमा केसीलाई कास्कीका देउवा पक्ष नेताको समर्थन रहने कतिपयको अनुमान छ । कतिपयलृ भने शर्मा र केसी एकै ठाउँमा रहन सक्ने भएकाले कास्कीका लागि उपयुक्त व्यक्तित्व देवराज चालिसेलाई सभापति बनाउन पर्ने खाचों आल्याउन थालेका छन् । 

Post a Comment

 
Top