0
गोल्डेन न्यूज संवाददाता
नवयुग श्रेष्ठको हृयाट्रिकको मदतमा माल्दिभ्सविरुद्ध शानदार जित हात पार्दै नेपाल बंगबन्धु कप फुटबलको फाइनलमा पुगेको छ ।  मंगलबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ४–१ गोल अन्तरको जित हात पारेको हो । माल्दिभ्स विरुद्ध नेपालले सन् १९९९ पछि पहिलो पटक जित हात पारेको हो । ढाकामा भएको खेलमा नेपालले ३१ औं मिनेटमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । विमल घर्ती मगरको प्रहार बारमा लागेर फर्किर्एको बलमा नवयुगले गोल गरेका हुन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो । पहिलो हाफको अन्तिमतिर गोलरक्षक विकेश कुथूले उत्कृष्ट बचाउ गर्दै नेपालको अग्रता कायमै राखे । दोस्रो हाफमा नेपालले आफ्नो शानदार प्रदर्शन कायमै राख्यो । ५३ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । नेपालका लागि नवयुग श्रेष्ठले ६२ औं मिनेट र इन्जुरी समयमा गोल गर्दै ह्याटिक पुरा गरे । माल्दिभ्सले खेलको ७५ औं मिनेटमा एक गोल गरेको थियो।

नेपालका लागि ह्याट्रिक गर्ने नवयुग पाँचौ खेलाडी भएका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी र भरत खवासले ह्याट्रिक गरेका थिए । यसैगरी माल्दिभ्सले ७५ औं मिनेटमा गोल फर्काएको थियो । जितसँगै नेपाल १७ वर्षपछि औपचारिक फुटबलको फाइनलमा प्रवेश गरेको छ । सन् १९९९ पछि नेपाल कुनै पनि औपचारिक फुटबलको फाइनलमा पुगेको थिएन । त्यसबेला दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनलमा प्रवेश गरेको थियो । सन् १९९३ पछि नेपालले ढाकाको बंगबन्धु रंगशालामा फाइनल खेल्ने भएको छ । त्यतिबेला नेपालले दक्षिण एसियाली खेलकुदको फुटबलमा फाइनल खेलेको थियो । सो खेलमा नेपालले भारतलाई हराएर स्वर्ण जितेको थियो । नेपाली फुटबल खेलको इतिहासमा यो नै सबैभन्दा ठूलो उपलब्धि रहेको छ । त्यसै टिमका २ सदस्य बालगोपाल महर्जन र उपेन्द्रमान सिंह अहिलेको टिमका मुख्य प्रशिक्षक र गोल किपिङ प्रशिक्षक रहेका छन् । नेपालले बहराइन यू –२३ सँग आगामी ८ गते शुक्रबार फाइनलमा खेल्नेछ ।

Post a Comment

 
Top