0
हरि पन्त÷गोल्डेन न्यूज
आयोजक सहारा क्लव पोखराले १४औं आहारारा गोल्डपकमा सुखद् शुरुवात गरेको छ । अघिल्लो बर्ष पोखरामै व्यहोरेको हारको बदला लिंदै सहाराले नवजनजागृति क्लब सिमरालाई ३–० ले पराजित ग¥यो । सहाराले गतवर्षको प्रतियोगितामा सिमरासँग टाईब्रेकरमा ४–३ को पराजय ब्यहोरेको थियो । जितसंगै सहारा प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ भने ९ गते हुने युनाईटेड सिक्किम एफसी भारतसंगको भेट पक्का गरेको छ ।
मंगलबार सम्पन्न उद्घाटन खेलको छैटांै मिनेटमा विदेशी खेलाडी एल्भिसको गोलबाट अग्रता लिएको थियो । एल्भिकले मिडफिल्ड बाटै एक्लैले बल लगेर गोल गरेका थिए । त्यस अवस्थामा नव जनजागृति क्लबका गोलरक्षकले गोल भएको पत्तै पाएनन् । सहाराका लागि ५२औं मिनेटमा जि मार्टियलले अर्को गोल थपे । उनले नवजनजागृति क्लबका ३ खेलाडीलाई छक्याउँदै सुन्दर गोल गरेका थिए। 
यस्तै खेलको ८३औं मिनेटमा कमल थापाले सहाराका लागि पुनः अर्को गोल थप्दै जितको आधार थप बलियो बनाए । तेस्रो गोल गर्ने कमल दोस्रो हाफको ३८ मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले नवजनजागृति क्लबका गोलरक्षक रवि थापा गोलपोष्टबाट बिट भैसकेको अवस्थामा आकर्षक गोल गरेका थिए । यो सगै खेलको ३१औं मिनेटमा सहाराको तर्फबाट भएको १ गोललाई अफसाइड भएको भन्दै रेफ्रीले दिएनन् भने सहाराले गोल गर्ने अन्य थुप्रै अवसर खेर फाल्यो । खेलको ११औं मिनेटमा सहाराका शिव सुवेदीले डिएरिया नजिकैबाट गरेको कडा प्रहार नव जनजागृतिका गोलरक्षक थापाले मुस्किलले बचाउ गरे भने १३औं मिनेटमा शिव श्रेष्ठले पोष्ट नजिकैबाट गरेको प्रहारले पनि गोलको दिशा दिन सकेन । खेलको ३१औं मिनेटमा म्यान अफ दी म्याच समेत घोषित सहाराका एल्भिकले गरेको सशक्त प्रहारलाई पनि जनजागृतिका गोलरक्षक थापाले विफल तुल्याए । 
यता, नव जनजागृति क्लव मिराले पनि गोल गर्ने संघर्ष नगरेको होइन । नव जनजागृतिका तर्फबाट भएका २ गोल अफसाइड हुन पुग्यो । खेलको ६२औं मिनेटमा  अवाले गरेको प्रहार गोलपोष्टको माथिल्लो बारमा लागेर बाहिरियो भने ६५औं मिनेटमा डिएरिया नजिकैबाट सुसन लामाले गरेको सशक्त प्रहारलाई सहाराका गोलरक्षक विनय श्रेष्ठले मुस्किलले बचाउ गरे । खेलको चौथो, १६औं  र १९औं मिनेटमा रमेश घिसिङ र मनिष घलेको प्रयासलाई सहाराका गोलरक्षक श्रेष्ठले नै विफल पारे भने ३३औं मिनेटमा अवाले गरेको प्रहार पनि गोल्डपोष्टको थोरै माथिबाट बाहिरियो । यस्तै खेलको ७०औं मिनेटमा अवाले नै हानेको फ्रिकिक पनि गोल हुन नसकेपछि  नवजनजागृति क्लव सिमरा प्रतियोगिताबाटै बाहिरिन पुग्यो ।
खेल समापन पछि प्रतिक्रिया दिंदै सहाराका टीमकोच किरण श्रेष्ठले आफ्ना खेलाडीले सोचेअनुरुप नै खेलेको बताए । उनले पहिलो खेलमा आयोजक टीमलाई दवाव हुनु स्वभाविक भएकाले खेलाडी केही नर्भस भएर खेलेको स्पष्ट पारे । कमिकमजोरी पनि धेरै छन्, त्यसलाई आगामी खेलमा सुधार गरेर अघि बढ्ने उनले स्पष्ट पारे । यस्तै नवजनजागृति का टीमकोच उमेश श्रेष्ठले खेलाडीले राम्रो खेलेको भएपनि भाग्यले साथ नदिएको बताए । उनले आफ्नो टीमबाट भएका २ गोललाई अफसाइड दिनु र एक पटक बारमा लागेर फर्किनुनै आफूहरुको दुर्भाग्य भएको बताए ।  प्रतियोगिता अन्तर्गत बुधबार सशस्त्र प्रहरी वलको एपिएफ क्लब र ईन्डियन आर्मी गोर्खा ब्रिगेड टीम बीच प्रतिस्पर्धा हुनेछ ।
त्यस अवसरमा प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव बहादुर बिष्टले आगामी साफ गेमको उद्घाटन पोखरामै गर्ने आफूले पहल थाल्ने बताए । उनले खेलप्रति लगाव राख्ने पोखरावासी जति अन्य स्थानका जनता नभएको दावी गर्दै साफ गेमको तयारी गर्न पोखराका खेलकूद संस्थारुलाई निर्देशन दिए । पोखरामा अन्तर्राष्ट्रिय खेलमैदान बनाउन सकिने आधार धेरै भएकाले पोखराको खेल विकासमा आगामी दिनमा महत्वपूर्ण बजेट छुट्याइने बताए । 
सभासद यज्ञबहादुर थापाले गत बैशाख १२ गते नेपालमा आएको बिनाशकारी भूकम्पले पोखरा रंगशालामा पनि क्षति पुर्रुयाएको बताउँदै यसको पुनर्निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले सुन्दर नगरी पोखरामा रहेको रंगशालालाई अन्तर्रा्ष्ट्रियस्तरको बनाउनुपर्ने बताउँदै त्यसका लागि सबै दल र कास्कीका सभासद एकजुट भएर सरकारलाई दवाब दिनुपर्ने बताए ।  क्लवका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा हिमश्री फुड्सका निर्देशक प्रकाश केसी, क्लवका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवबहादुर थापा, महासचिव केशवराज बरालले पनि बोलेका थिए । 
कार्यक्रममा पूर्व फुटवल खेलाडी क्याप्टेन गणेश गुरुङ्गलाई सम्मान गरिएको छ । फुटवल खेलकूदको विकासमा लामो समयदेखि लाग्दै आएको भन्दै  क्याप्टेन गुरुङलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले सम्मानपत्रद्वारा सम्मान गरेका थिए । कार्यक्रममा सहारा क्लवलाई जिसी इलेक्ट्रिकल्सका संचालक प्रेमबहादुर जिसीले १ लाख १ हजार र मनकामना केवलकार दर्शन प्रालि पोखरा निर्देशक बुद्ध गुरुङले ५१ हजार ५१ रुपैयाँ सहयोग गरेका थिए । 


Post a Comment

 
Top