0
बंगलादेशमा जारी उन्नाइस वर्षमुनि (यु(१९) विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । बंगलादेशको फल्तुल्लाह स्थित खान साहेब ओसमान अलि रङ्गशालामा सम्पन्न खेलमा नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको छ । जितसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावनासमेत प्रबल बनेको छ । प्रतियोगितामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा २३८ रन जोडेको थियो । जवाफी ब्याटिङ्मा उत्रेको न्युजिल्यान्ड भने ४७ दशमवल १ ओभरमा सवै विकेट गुमाउँदै २०६ रनमा समेटियो । 

नेपाली युवा टोलीले आजको खेलमा जित मात्रै निकालेनन् रन जोड्ने क्रममा नयाँ इतिहाससमेत बनाए । यु–१९ विश्वकप क्रिकेटमा नेपालले अहिलेसम्मकै ठूलो योगफल समेत बनायो । यसअघि सन् २००६ मा नेपालले आयरल्यान्ड विरुद्धको खेलमा २३४ रन बनाएको थियो ।
प्रतियोगितामा ओपनरद्वय सन्दिप सुनार र सुनिल धमलाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कप्तान राजु रिजालले ४८ रनको योगदान दिए । उनले ६५ बल खेल्दै ६ चौका समेत प्रहार गरे । त्यस्तै सन्दिप सुनार र आरिफ शेखले समान ३९÷३९ रन जोडे । यस क्रममा सुनुवारले एक छक्का र तीन चौका तथा उपकप्तान शेखले तीन चौका समेत हाने । कुशल भुर्तेलले अविजित ३५, राजविर सिंहले २४, सुनिल धमलाले १५, योगेन्द्रसिंह कार्कीले ६ रन तथा प्रेम तामाङ चार रनमा अविजित रहे । बलिङतर्फ न्युजिल्याण्डका नाथन स्मिथले तीन,  क्रिष्टियन लियोपार्ड, अनिकेट पारिख, रचिन रविन्द्र र जोस फिन्नीले समान एक– एक विकेट लिए । न्युजिल्यान्डका लागि गेलेन फिलिप्सले सर्वाधिक ५२ रन बनाए । यस्तै डले फिलिप्सले ४१ तथा जोस फिनाईले ३७ रन बटुलेका थिए । न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेन्द्रसिंह ऐरीले तीन, प्रेम तामाङले दुई तथा सुनिल धमला र संदिप लामिछानेले समान एक–एक विकेट लिए ।मलेसियामा गत अक्टोबरमा सम्पन्न आइसिसी यु–१९ विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गर्दै विश्वकपको लागि छनोट भएको थियो । निकै कठिन समूहमा परेको नेपालले आफनो दोस्रो खेलमा शनिबार आयरल्यान्डको सामना गर्नेछ । समूह डी मा नेपालसहित न्युजिल्यान्ड, आयरल्यान्ड र भारत छन् । रासस





Post a Comment

 
Top