0
किरात बस्ती, धरमपुर(८, झापा निवासी निहाङ किराती पछिल्लो समय गजल साधनामा लागेका छन्। उनको गजल मोह र साधनालाई हेर्दा यसरी नै गजलको विधागत विकासका लागि लागिरहे भने अवश्य राम्रा गजलकारका रूपमा आफूलाई चिनाउन सफल हुनेमा दुई मत राख्नु पर्दैन। उनको गजल सङ्ग्रह बुकी पहिलो भए पनि त्यो लक्षण देखाइसकेको छ। धरमपुर साहित्य प्रतिष्ठान झापाले प्रकाशन गरेको किरातीको प्रस्तुत कृतिमा संरचनाका हिसाबले खोट लगाउने ठाउँ देखिदैँन। ७२ पृष्ठमा फैलिएको प्रस्तुत कृतिमा सामान्य गजल तथा मिथकिय र अन्य गजलहरू गरी दुई खण्डमा विभाजन गरिएको छ। कृतिको पहिलो खण्डमा ३६ र दोस्रो खण्डमा १४ गरी ५० थान गजल समावेश छन्।
प्रस्तुत कृति अध्ययन पछि गर्न सकिने अनुमान उनी जवानीमा रमाइरहेका छन् या जवानीको झल्को बटुलिरहेका छन्। यी दुई कुरामा ढुक्क हुन सकिन्छ। किन भने किरातीसँग पङ्क्तिकारको भेट भएको छैन। उनी १६ वर्षे जवानीमा प्रवेश गरेका पनि हुन सक्छन् र युवा अवस्था पार गरी सकेर जवानीका उच्छ्वास गजलका माध्यमबाट सुसेलेका पनि हुन सक्छन्। जे भए पनि उनको प्रस्तुत कृति भित्रका गजल अध्ययन पछि के भन्न सकिन्छ भने किरातीले आफ्नो अन्तर मनका वेदना प्रकट गर्ने सूचकका रूपमा गजललाई लिएका छन्। यही गजलको माध्यमबाट उनले सुस्केराहरू सुसेल्दै जीवनको गोरेटोमा लामो सास तानि–तानि गजलको साधनामा लागेका छन्। हेरौं उनले कसरी सुस्केरा हालेका छन् गजलका माध्यमबाट,
मन भित्रको रहरहरू छेक्नै गाह्रो हुने
सोह्र वर्षे जवानीलाई थेग्नै गाह्रो हुने
मुटुमाझ राखी सकेँ सधंैभरि तिमीलाई
कति हेरूँ कौशीतिर देख्नै गाह्रो हुने
तिम्रो यादमा मेरो छाती सधैंभर जलेपछि
जली रहेको घाउलाई सेक्नै गाह्रो हुने
भर्जिन प्याक पिएपछि बेहाशीको मातले
ठीक बाटोमा हिँड्दा पनि टेक्नै गाह्रो हुने  (पृ.२७)।
साच्चै सोह्र वर्षे जवानी थेग्न सबैलाई गाह्रो हुन्छ। थेग्न सक्नेले सफल जीवनयापन गरिरहेका छन् भने थेग्न नसक्ने विचल्लीमा परिरहेका छन्, त्यो सबैलाई थाहा भएको कुरा हो। किरातीले त्यो वेला थेगीसके या थेग्न बाँकी छ उनै जानुन तर उनी सफल गजलकार बन्नका लागि झरी, बादल, हुस्सु सबै पार गर्नु आवश्यक छ। सफल मान्छेहरू चमत्कार हुने र कुनै काम सजिलोसँग बनी हाल्ने आशमा बस्दैनन। उनीहरू बाधा, अड्चन माथि विजय पाउन साहस र सामथ्र्यमा निर्भर बन्छन्। त्यसैले साधारण र असाधारण मानव बीचको खास भिन्नता भनेकै यही हो। यो कुरामा किरातीले आफ्नो क्षमताको विकास गराउन नितान्त आवश्यक छ।
प्रस्तुत बुकी गजल सङ्ग्रहमा समावेश किरातीका अधिकांश गजलहरूमा जवानीका उच्छ्वासहरू नै पोखिएका छन्। कृतिको दोस्रो खण्डमा रहेका केही मिथकीय र अरू गजलहरूमा समसामयिक केही गजल रहे तापनि कृतिको पल्ला जवानीका गजलहरूले नै भारी बनाइदिएको छ। उनका गजलमा कतै मायालुको मायामा एकोहोरो बनेका कथा आएका छन्। कतै मायालुलाई कसरी देख्न सकुँला भनेर चार चौरास गर्दाका कुरा। कतै आफूलाई छाडेर गएपछिका पीडा त, कतै उनीसँगै साथमा हुँदा रमाइलो सँग विताएका दिनका सम्झना रहेका छन्। हेरौ उनको मायामा आगो सल्केपछि पोखिएको उच्छ्वास, अर्को एक गजलमा,
भेट मीठो तिम्रो मेरो चौतारीको वरमाथि
परेवाको जोडी हुन्थ्यो सधैँ तिम्रो घरमाथि
पवित्र नाता अनि साथमा माया भएपनि
अनाहकमा शंका ग¥यौ तिमीले मेरो थर माथि
विश्वासको फूल रोपी, मन जित्न सकेँ भने
नछुटिने प्रण गर मेरो आशा भरमाथि
प्रेमघर सम्बन्धको छानो हाल्ने सोच्दा–सोच्दै
डढेलो झन् लागिदिन्छ मौलाएको खरमाथि (पृ. ३१)।
हिजोसँगै हुँदा आफ्नो जोडीलाई परेवा सम्झेका किराती मायालुले छाडेर गएपछि बाटो कुरेरै भए पनि एक झल्को देखेर मन बुझाउन विवश भएका छन्। उनी चोट दिने बिन्तीपत्र थमाएर अर्काको हात समाएर रमाउँदै जाने मायालुको कहिल्यै कुभलो चाहँदैनन्। उनको रूप र वैशको चर्चा चल्न थालेपछि आफ्नो माया फिक्का भएको सम्झन्छन्। मेरा गल्ती नै भएको भए पनि माफ चाहन्छु, तिमी आउँ मेरो जिन्दगी रङ्गीन र सङ्गीन बनाऊ। मैले दिल भित्र बालेको प्रेमको दियो अझै निभ्न दिएको छैन भनेर आफ्नो उच्छ्वास यसरी व्यक्त गरेका छन् कृतिको शीर्ष गजलमा,
लेकतिर उभो लाग्दा देखेको हुँ बुकी मैले
हेर्नै पर्ने भयो अब दोबाटोमा ढुकी मैले
आउँछौ भन्ने आशा गर्छु मेरो जिन्दगीमा
निभ्न देको छैन अझै मनभित्रको टुकी मैले
बाटो यतै पर्छ रे भन्ने मात्र सुनेको हुँ
वर्षौै भयो नदेखेको हेर्नुछ लुकी मैले
गल्ती मेरो हजार होलान भएन भन्दिनँ म
आइदेऊ माफी माग्छु तिम्रो सामु झुकी मैले (पृ.५४)।
हरेक व्यक्ति जन्मेपछि आफ्नो जन्मभूमी र जननीप्रति ऋणी हुन्छ। त्यो ऋण हरेक असल सन्तानले तिर्दै आइरहेका छन्। यहाँ किरातीले पनि यस धरतीमा नफर्कने गरेर गएकी आमाप्रति समर्पित गजल लेखेर जननीप्रतिको श्रद्धाभाव व्यक्त गरेका छन्। उनले लेखेको पाँच शेरको गजल कृतिको गजलक्रमको अगाडि नै राखेका छन्। आफ्नी आमा विवशताको जञ्जिरमा परेर आफूलगायत सम्पूर्ण आफन्तजन परिवारलाई छोडेर जाँदा सबै रित्तो भएको, मनमा पीडा परेको भाव व्यक्त गरेका छन्। छ महिनासम्म अस्पतालमा राखेर उपचार गराए तापनि निको हुन नसकेको पीडा ओकल्दै भाग्य नै यस्तै रहेछ अब अर्को जुनी रहेछ भने स्वर्गमा भेट गरौंला आमा भनेर मन बुझाएका छन्। यस्तै उनले आफूबाट छुट्टिएर गएका आफ्ना मित्र तपेन देवानप्रति समर्पित गरेर पनि गजल लेखेका छन्। जो यस कृतिका प्रकाशक पनि हुन, उक्त गजलमा किरातीले यादले सीमा नाघे पनि मोवाइलमा फोन गरी समय समयमा भेटौला भन्ने आशावादी चिन्तन राखेका छन्।
एकातर्फ प्रेमको विरह ओकलेका किरातीले अर्कोतर्फ राष्ट्रप्रेमलाई पनि उत्तिकै माया गरेका छन्। उनले देशमा आएको पछिल्लो विषम परिस्थितिका बारेमा केही गजल लेखेका छन्। अधिकारप्राप्तिका लागि भएका आन्दोलनलाई लिएर चिन्ता व्यक्त गरेका छन्। आन्दोलनका कारण देशमा उन्नति, प्रगति हुन सक्दैन, प्रगति नभएपछि हाम्रो भविष्य अन्यौलमा पर्छ । हामी मिलेर अगाडि बढ्नुपर्छ, हामी मिलेको खण्डमा कसैले केही गर्न सक्दैन भन्ने भाव उनले आफ्नो कृतिका दोस्रो खण्डमा समावेश गजलका माध्यमबाट व्यक्त गरेका छन्। हेरौं उनको मिथकीय र अरू गजल खण्डको एक गजल,
एकापसमा सहयोग गरागर हुनुपर्छ
दुःख पर्दा छिमेकीमा सरासर हुनुपर्छ
भत्तादेखि सत्तासम्म तिम्रो मेरो जीत हुन
हार नहुने भागवण्डा बराबर हुनुपर्छ
तिमीले पनि बाँच्नुपर्छ म पनि त्यसै भन्छु
बाँच्नलाई मानापाथी भराभर हुनुपर्छ
सबै धर्म सबै जात सद्भाव कायम राख्न
कैले पहाड कैले तराई झराझर हुनुपर्छ (पृ.६२)।
तीन शेरदेखि पाँच शेरसम्मको संरचनामा रहेका ५० थान गजलमा सरल भाषाशैलीको प्रयोग छ। गजलमा साधनाको आवश्यकता आफ्ना ठाउँमा छ तर उनका गजलहरू कति छिटो स्वादिला बनाउने भन्ने कुरा अब उनकै हातमा छ। उनले कति साधना गर्न सक्छन् ? कति असल स्रष्टा साधकसँगको सहकार्यबाट कति ज्ञान आर्जन गर्न सक्छन् ? यो पाठकको मुठ्ठी भित्रको कुरा होइन। लेखकको स्वयम् जिम्मेवारी हो। उनले कम लेखन र धेरै अध्ययन गर्न आवश्यक देखिन्छ। जति बढी अध्ययनको दायरालाई फराकिलो बनाउन सकियो त्यति नै बढी शब्दसँग चलखेल गर्न सकिन्छ। आखिर साहित्य भनेको शब्दको चलखेल नै त हो ? राम्रो शब्दको संयोजन गराउन उनले अध्ययनको दायरालाई फराकिलो पार्नैपर्छ सीमित अध्ययनको असीमित लेखनले गर्दा प्रस्तुत कृति भित्रका गजलहरू पाठकले अपेक्षा गरे जति वजनदार छैनन्। 
एउटा मानिसको असल तथा खराब गुणको कसी निजको आचरणव्यवहार नै हो। किरातीसँगको आचारणव्यवहार नै नगरेका वेला उनी असल या खराब गुण भएका कस्ता व्यक्ति हुन भनेर उनका असल र खराब गुणको बारेमा यहाँ चर्चा गर्न खोजिएको होइन। तर कृतिगत रूपमा अध्ययनका लागि उसको आचारण र व्यवहार आवश्यक पर्दैैन। एउटा लेखकले आफ्नो लेखकीय क्षमता प्रर्दशन गरिसकेको हुन्छ। यहाँ किरातीको व्यक्तिगत जीवनको आचरणव्यवहार भन्दा पनि गजल साधनाको व्यवहार हेर्दा, किरातीका गजलहरू फक्र्रिरहेका छन्। यो फक्राई पुष्टिन अझै केही समय लाग्छ नै। यसका लागि किरातीले ख्याल गर्नुपर्ने कुराहरू धेरै छन्, किनभने बलियो पाङ्ग्रा छ भन्दैमा रथ समुन्द्रमा दौडन सक्दैन। त्यसका लागि उपयुक्त स्थानको आवश्यकता पर्दछ। किरातीका फक्रिरहेका गजलका लागि वासना छर्न उपयुक्त स्थानको खाँचो महशुस हुन थालेको छ। अन्तमा किरातीलाई एउटै भन्न मन लागेको कुरा, मान्छेको सबैभन्दा ठूलो प्रेरक तत्व भनेकै आफूभित्रको विश्वास हो। हरेक मान्छे आफना काम र व्यवहारका लागि आफैँ जिम्मेवार हुनुपर्छ। सोही जिम्मेवारीको स्विकारोत्तिबाट जीवनमा सुधार आउँछ र गुणस्तरिय साहित्य लेखनमा सहयोग पुग्छ। अबको बाँकी तिम्रो जीवनमा आफ्नो जिम्मेवारी स्वीकार गरेर अगाडि बढ्न सक्नु यही कामना !

Post a Comment

 
Top