0
गोल्डेन न्यूज संवाददाता
मिलन युवा क्लवको आयोजनामा लमजुङको गिलुङमा जारी क्वोइ च्हों देवी रनिङ शिल्ड फुटवल प्रतियोगितामा सोमबार पाँच खेल सम्पन्न भएका छन् । गिलुङको चिसापानीस्थित बुद्धोदय उच्च माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको प्रथम चरणबाट सोमबार पाँच टिम प्रि–क्वार्टरफाईनलमा प्रवेश गरे ।   सोमबारको पहिलो खेलमा मितेरी युथ क्लव, घाम्राङले सेभेन स्टार युथ क्लव, नाल्मालाई शुन्यको विरुद्द एक गोलले पाखा लगाएको छ । त्यस्तै, लमजुङकै चेतनशिल युथ क्लव, मपिङ र लौवारी रातो, गिलुङबीच भएको दोश्रो खेलमा दुईका विरुद्द चार गोल गर्दै लौवारी रातो विजयी भएको  । 

तेश्रो खेलमा कास्कीको मिजुरेडाँडा स्थित सिर्जनशिल युथ क्लव, नागीधारलाई टाइब्रेकरमा ५–४ ले हराउँदै लमजुङको मनकामना युथ क्लव, कमेरे प्रि–क्वार्टरफाईनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमको २–२ गोल भएपछि थप गरिएको समयमा कुनै गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । सोमबार नै शिसुवा एफ.सी ‘ए’, लेखनाथ र पूर्णागिरी माई समाज, भोजेबीच सम्पन्न प्रतियोगितामा ३–१ गोलले  शिसुवा एफ सी विजयी भएको छ ।  पाँचौं खेलमा जुटपोखरी युथ क्लव अण्डर सिक्सटिन, पसगाउँले भगवती युथ क्लव, टक्सार, लमजुङलाई ३–२ गोल अन्तरले हराएको छ ।

सोमबारको पाँच खेलमा क्रमशः सेभेन स्टार युथ क्लवका आशिष गुरुङ, लौवारी रातोका आकाश गुरुङ, सिर्जनशिल युथ क्लव, नागीधारका लाल गुरुङ, शिशुवा एफसी ए का मिलन गुरुङ, अण्डर सिक्सटिन जुटपोखरी युथ क्लवका छोके गुरुङ ‘म्यान–अफ–दी म्याच’ घोषित भए ।

प्रथम चरणको अन्तिम खेल मंगलबार आयोजक मिलन युवा क्लव सेतो र क्रियटिभ युथ क्लव ‘ए’, डढुवाबीच हुने बताइएको छ । मंगलबार आयोजक रातो र सुर्योदय निमाविबीच पहिलो प्रि–क्वार्टरफाइनल खेल हुने आयोजक क्लवका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । दोश्रो प्रि–क्वार्टरफाइनल खेल अण्डर सिक्सटिन गिलुङ र मितेरी युथ क्लव, घाम्राङबीच हुने छ । प्रतियोगितामा लमजुङ र कास्कीका २२ टिमको सहभागिता रहेको छ । क्लवले गिलुङको चिसापानीमास्थित बुद्धोदय उच्च माविको ४१ औं बार्षिकोत्सवका अवसरमा प्रतियोगिताको आयोजना गर्दै आएको हो । पुरुष फुटवलतर्फ प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला फुटवल प्रतियोगितातर्फ प्रथम हुने टिमलाई नगद १५ हजार रुपैयाँ र द्वितीय हुने टिमलाई नगद ७ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।






Post a Comment

 
Top