0
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदका लागि अहिलेसम्म ५ आकांक्षी देखापरेका छन् । सभापतिका ५ दाबेदारमा सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र सुजाता कोइराला उभिएका छन् ।रामचन्द्रको रणनीति ः कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बुधबार रिपोर्टस क्लबको कार्यक्रममा भनेका छन्–‘मलाई पार्टी सभापति हुनबाट कुनै शक्तिले रोक्दैन ।’ हालै भारत भ्रमणबाट फर्केका पौडेलको यस्तो भनाइले उनी यसपटक पार्टी सभापतिमा लडेरै छाड्ने प्रष्ट संकेत गरेको छ । पार्टीको उपसभापति चलाएका नेता पौडेलले सभापतिका लागि दाबी गर्नु उनको राजनीतिक ‘करिअर’का लागि स्वाभाविकै हो । तर, कांग्रेसभित्र पौडेलको गुटगत उपस्थिति निकै कमजोर छ । अहिलेसम्म सुशील कोइराला पक्षधर नेताका रुपमा परिचित पौडेलले सभापतिमा जित्नका लागि उनलाई सुशील कोइरालाले सहयोग गर्नुपर्ने हुन्छ । यद्यपि कोइराला आफैं सभापतिमा लडे भने रामचन्द्र र सुशीलवीच भोट बाँडिन्छ र त्यसको फाइदा शेरबहादुर देउवाले लिने सम्भावना छ ।

अहिलेसम्म सुशील कोइरालाले आफैं उम्मेद्वार बन्ने बताइरहेका छन् । पौडेलचाहिँ कोइरालाले अन्तिम घडीमा आफूलाई साथ दिने आशमा छन् । पौडेल कांग्रेसभित्रका वैचारिक एवं तुलनात्मक रुपमा देउवाभन्दा सादगी नेताका रुपमा चिनिन्छन् । भौतिक रुपमा पनि उनी खट्न सक्ने नेता हुन् । कृषि विकासका साथै वीपीको समाजवादमा पौडेलको विषेश लगाव छ । यस अर्थमा भावी आर्थिक क्रान्तिका लागि आफू देउवाभन्दा अब्बल रहेको पौडेलको दाबी छ । पार्टीभित्र प्रशिक्षण विभाग हेर्ने भएकाले पौडेल देशभरिको प्रशिक्षणमा डुलेका छन्, जसले गर्दा उनी कार्यकर्ताहरुले आफूलाई भोट दिने आशमा छन् । पछिल्लो समयमा उपसभापति पौडेललाई दक्षिणको शक्तिले समेत सघाउने विश्वासमा उनी रहेका छन् । भर्खरै दिल्लीको निम्तो मानेर फर्केको अवस्था छ र सुशील कोइरालालाई सभापतिमा हराएर देउवालाई जिताउन यसपटक बाहिरी शक्तिकेन्द्रले रामचन्द्र पौडेललाई उचालेको तर्क पनि कांग्रेसभित्र सुनिन थालेको छ । पछिल्लो समयमा उपसभापति पौडेल मधेसी मोर्चाप्रति नरम देखिन थालेका छन् । साथै केपी ओली नेतृत्वको सरकारमा जान नहुने र कांग्रेसले प्रतिपक्षमै बस्नुपर्ने पौडेलको लाइन छ, जुन ओली सरकारको हितमा देखिँदैन । प्रधानमन्त्री केपी ओलीचाँहि महाधिवेशनपछि कांग्रेस पनि सरकारमा आओस् भन्ने चाहन्छन् ।
सुजाता भन्छिन् अब पुराना अनुहारको काम छैन ः

यसैवीच रामचन्द्र पौडेलजस्तै सुशील कोइराला क्याम्पकै नेतृ सुजाता कोइरालाले पनि आफू सभापतिमा उठेर मात्रै होइन, जितेरै छाड्ने दाबी गरेकी छिन् । ‘म यसपालि सभापतिमा उठ्दैछु र मेरो जीत निश्चित छ,’ सुजाताले अनलाइनखबरसँग भनिन्–पुरानो लुगा लगाएको मान्छेलाई भन्दा नयाँ लुगा लगाउनेलाई सबैले हेर्छन्, नेपाली कांगेसमा उही पुरानै अनुहारको अब काम छैन, युवाहरुलाई अघि बढाउनुपर्छ र म युवालाई साथ लिएर नेपाली कांग्रेसलाई अगाडि बढाउँछु ।’ गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातासँग रामचन्द्र पौडेलको जस्तो बेग्लै गुट छैन । उनले पनि सुशील कोइरालाको साथ चाहेकी छिन् । उनी भन्छिन्–‘मैले सुशील’दालाई भनिसकेकी छु, यसपालि म सभापतिमा उठ्दैछु, तपाईले मलाई सघाउनुपर्छ ।’

सुजाता कोइराला र रामचन्द्र पौडेल एउटै गुटका नेता भए पनि सुजाता नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुनुपर्छ भन्ने लाइनकी नेतृ हुन् । आफू सभापति बनेर नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने र आगामी चुनावहरुमा कांग्रेसलाई प्रतिस्पर्धामा पहिलो बनाउने उनको लाइन छ । विगतमा सुशील कोइरालाले प्रधानमन्त्रीमा केपी ओलीसँग उठेर गल्ती गरेको र यसले गर्दा कांग्रेसले राष्ट्रपति गुमाउनुपरेको सुजाताको विश्लेषण छ । तर, रामचन्द्र पौडेलचाँहि कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने बताउँदै आएका छन् । त्यसो त सत्तापक्षका नेताहरुले भारतको बहकावमा लागेर कांग्रेस प्रतिपक्षमा बसेको आरोप लगाउँदै आएको अवस्था छ ।सरकारमा सहभागी हुनुपर्ने सुजाताको लाइनले ओली सरकारलाई मद्दत पुर्रुयाउन सक्छ भने दक्षिणको छिमेकीलाई बेखुस तुल्याउन सक्छ । त्यसो त दक्षिणी छिमेकीहरुले गिरिजाप्रसाद कोइरालाकै पालादेखि कोइराला खेमालाई एउटा दुरीमा राख्दै आएको छ ।  ‘बीजेपी सरकारमा आएपछि झनै कांग्रेसको संस्थापन पक्षसँग भारतीय संस्थापन पक्षको राम्रो सम्बन्ध छैन । पछिल्लो दिनमा भारतले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई ‘प्रोजेक्ट’ गर्न खोजेको देखिन्छ । यसले सुजातालाई सभापति बन्न नदिन ठूलै शक्ति लाग्ने अनुमान गर्न सकिन्छ । चीन र अन्य मुलुकहरु सँग रामचन्द्रको भन्दा राम्रो पहुँच बनाएकी सुजाताले आफूलाई ठूलो शक्तिले रोक्न खोजेको अनुभूति गर्नु र रामचन्द्रले चाँहि सभापति बन्न कुनै शक्तिले रोक्दैन भन्नुको अर्थ कांग्रेसभित्र विदेशीको माइक्रो म्यानेजमेन्ट सुरु भएको अर्थमा बुझ्न थालिएको छ । सुजाता कोइराला महिला भएकाले उनको पक्षमा लैङ्गिक सहानुभूति पनि आउन सक्छ । राष्ट्रपति, सभामुख सबै महिला भएका बेला ठूलो पार्टीको सभापति पनि महिला हुन सक्ने महत्वाकांक्षा सुजातामा देखिन्छ । साथै लामो समय जेल बसेको इतिहास भँजाएर नहुने भन्दै सुजाताले अब आफूले मात्रै कांग्रेसलाई हाँक्न सक्ने दाबी गरेकी छिन् ।
तर, रामचन्द्र पौडेलले प्रधानमन्त्री पदको सुनिश्चिता खोजेजस्तै सुजाताले पनि उपसभापतिको सुनिश्चितता भए सभापतिमा उम्मेद्वारी नदिने धेरैको दाबी छ । उनले अहिले सभापतिमा बार्गे्निङ गर्ने र पछि उपसभापतिमा चित्त बुझाउने सम्भावना रहेको सूत्रहरु बताउँछन् ।तर, सुजाता यो स्वीकार्न तयार छैनन् । ‘म अगाडि बढिसकें, जिल्ला जिल्लामा घमेर आफ्नो उमेद्वारी घोषणा गरिसकें,’ उनी भन्छिन्, म पछि हट्दिँन र जित्छु पनि ।’

कृष्ण सिटौला अर्का दाबेदार
कांग्रेसका मनोनित महामन्त्री कृष्णप्रसाद सिटौलाले सार्वजनिक रुपमा आफू सभापतिमा उठ्ने नबताए पनि निकटस्थहरुसँग सभापतिमा उमेद्वारी दिने बताउँदै आएका छन् । ‘अब कांग्रेसलाई जोगाउनुपर्छ र यसका लागि तीन ठूला नेताबाट पार लाग्दैन’ सिटौलाले आफ्ना निकटस्थहरुसँग भन्ने गरेका छन् । विगतमा सुशील कोइराला खेमाबाट महामन्त्रीसम्म बनेका सिटौला यतिबेला निकै ठूलो सकसमा छन् । राजनीतिक सुरक्षा र बढुवाको हिसाबले सिटौला यसपटक उपसभापति बन्नुपर्ने हो । एउटा पदमा एक पटकमात्रै बसेको सिटौलाको विगत छ । तर, सिटौलालाई यसपालि कोइराला खेमाले उपसभापति बनाउने कम सम्भावना छ । रामचन्द्र पौडेलको प्यानलमा लाग्दा उपसभापतिको उमेद्वार त बनिएला तर जित्ने सम्भावना कमै हुन्छ । देउवा पक्षले पनि आफू निकटस्थलाई पछि पारेर सिटौलालाई उपसभापति बनाउने सम्भावना कमै रहेको बताइन्छ ।
यो अवस्थामा सिटौलाले सभापतिमै ‘फाइट’ गर्ने सोचेर भोट माग्न थालेको धेरैको अनुमान छ । देउवा पक्ष वा कोइराला पक्षले उपसभापति दिने प्रतिवद्धता गरेको अवस्थामा सिटौला सभापतिमा नलड्ने सूत्रहरुको दाबी छ । सिटौलाले पनि सुजातालेजस्तै उपसभापतिको सुनिश्चितता खोजेका छन् । तर, सुजाता सुशील पक्षबाट उपसभापति बन्न चाहन्छिन् भने सिटौला चाँहि रामचन्द्र वा देउवाको खेमाबाट । कोइराला पक्षले उनलाई फकाउने अर्को पनि विकल्प हुन सक्छ ।
सुशील कोइरालाको सकस
यसपटकको महाधिवेशनमा सुशील कोइराला सबैभन्दा ठूलो सकसमा छन् । आफ्नै खेमाबाट सुजाता, रामचन्द्र र सिटौला तीनै जनाले सभापतिमा दाबी गरेपछि सुशील अप्ठ्यारोमा छन् । आफूसहित ४ प्रमुख नेताहरुको व्यवस्थापन सुशीलका लागि निकै ठूलो चुनौती हो । आफू सभापतिमा नउठेर अरुलाई छाड्दा पनि सुशीलले धेरैको चित्त बुझाउनुपर्ने हुन्छ । रामचन्द्रलाई सभापतिमा छाडिदिएर सिटौला र सुजातालाई उपसभापति दिनका लागि पनि विधानमा दुई उपाध्यक्षको प्रावधान अहिलेसम्म बनिसकेको छैन । सम्भवतः यही भएर सुजाताले पदाधिकारीमा महिलाको आरक्षित कोटा थपिनुपर्ने मागसमेत गरिरहेकी छिन् । सुशीलले आफ्नो गुटका चार आकांक्षीहरुलाई व्यवस्थापन गर्न सकेनन् भने सभापति पदबाट कोइराला खेमाले हात धुनुपर्ने स्थिति आउन सक्छ ।
देउवालाई चन्द्रमा दाहिना

यसपालिको महाधिवेशनमा जसरी पनि पार्टी सभापति कब्जा गर्ने देउवाको रणनीति छ । हुन पनि अवस्था यस्तो छ कि देउवा अहिले नभए कहिल्यै सभापति नबन्न सक्छन् । कोइराला खेमाका फुट आएको र सुशील कोइरालाको राजनीतिक साख कमजोर भएको मौकामा देउवाको भाग्य निकै दह्रो देखिएको छ । कृष्ण सिटौला कोइराला खेमाबाट टाढिनु, रामचन्द्र पौडेल र सुशीलवीच टक्कर पर्नु अनि सुजाता कोइरालाले समेत सभापतिमा दाबी गर्नुजस्ता त्रिकोणात्मक अन्तरविरोधका कारण कोइराला गुटमा अन्तरविरोध तीव्र बनेको छ । यसरी कोइराला खेमाबाट दुई भन्दा बढी उम्मेद्वार खडा भए पनि त्यसको सोझो फाइदा देउवालाई जाने छ । देउवा पछिल्लो समयमा पश्चिमी देशहरुको भन्दा भारतको नजिक बनेको विश्लेषण कांग्रेसभित्र गर्न थालिएको छ । तर, दोहोरो नीति लिने छिमेकीले रामचन्द्र पौडेल र शेरबहादुर देउवा दुबैलाई दिल्लीमा निम्त्याएर हौसला दिइरहेको छ ।

यसका पछाडि दुईवटा उद्देश्य हुन सक्छन्स् सुशील र रामचन्द्रलाई मिल्न नदिएर देउवालाई जिताउनु वा रामचन्द्र र देउवा जसले जिते पनि हामीले सघाएका थियौं नि भनेर पछिलाई बाटो बनाउनु । राष्ट्रिय राजनीतितर्फ विचार गर्दा देउवाप्रति थारु र मधेसी नेताहरु त्यति सकारात्मक छैनन्, जति सुशीलप्रति छन् । मधेसीसँग सहमति हुन नदिएको र थारुलाई अधिकार दिन नचाहेको आरोप देउवामाथि लाग्दै आएको छ, महाधिवशेनमा यो विषय देउवाबा लागि चुनौती बन्न सक्छ ।यता एमाले लगायतका दलहरुले फागुनपछि कांग्रेसको नेतृत्व देउवाका हातमा गएको अवस्थामा कांग्रेस सरकारमा सहभागी हुने आश गरेको देखिन्छ । तर, देउवालाई बाहिरी शक्तिले प्रोजेक्सन गरेकै हो भने उनी नेतृत्वमा आएपछि ओली सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउने खेल सुरु नहोला भन्न सक्ने अवस्था छैन । सुजाताले सम्भवतः ठीकै भनेकी हुन्–‘केपी ओलीविरुद्ध प्रधानमन्त्रीमा उम्मेदवारी दिएर अरुको इशारामा राष्ट्रपति गुमाउने गल्ती सुशील कोइरालाले एक्लै गरेका होइनन्, यसमा शेरबहादुर र रामचन्द्र पनि उत्तिकै दोषी छन् ।’






Post a Comment

 
Top