0
हरि पन्त÷गोल्डेन न्यूज
डिफेण्डिङ च्याम्पियन थ्रीस्टार क्लवलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव पोखरामा जारी १४औं आहारारा गोल्डकपको सेमिफाइनल मा प्रवेश गरेको छ । आर्मीले सोमबार उपाधि दावेदार मानिएको थ्रीस्टार क्लवलाई १–० गोलले गरेको हो । श्रीस्टारलाई पराजित गरि आर्मीलाई प्रतियोगिताको अन्तिम चारमा पु¥याउन दीप लामा नायक बने । पाँचौ पटक सेमिफाइनलको यात्रा तय गदै आर्मीले आयोजक सहारासंगको भेट पक्का गर्दा लिग च्याम्पियन थ्रि स्टारको यात्रा भने क्वाटरफाइनल बाटै समाप्त भयो ।
खेलको म्यान अफ दी म्याच समेत घोषित लामा टंक बस्नेतको स्थानमा २५ औं मिनेटमा मैदान छिरेका थिए । लामाले खेलको ३० औ मिनेटमा गरेको एकमात्र गोलनै आर्मीलाई सेमिफाइनल प्रवेशका लागी पर्याप्त भयो । प्रतियोगिताको पहिलो चरणमा जावलाखेललाई २–० गोल अन्तरले हराएर आर्मी क्लब दोस्रो चरणमा आइपुगेको हो भने गत वर्षको उपाधि विजेता भएकाले थ्रीस्टारले सोझै क्वार्टर–फाइनलमा खेल्न पाएको हो । सेमिफाइनलमा अब आर्मीको सामना आयोजक सहारा क्लबसँग हुने भएको छ । खेल अवधिभर थ्रीस्टारलाई दवावमा राखेको आर्मीले खेलको ३२औं मिनेटमा डिएरिया नजिकैबाट दिएको क्रस बललाई दीप लामाले नै सदुपयोग गर्न सकेनन् भने ४४औं मिनेटमा सुशिल श्रीवास्तवले डिएरिया नजिकैबाट पाएको राम्रो अवसरलाई खेर फाले । त्यस्तै ४५औ. मिनेटमा भरत खवासले डिएरिया भन्दा केही माथिबाट हानेको सशक्त प्रहारलाई थ्रीस्टारका गोल रक्षक विशाल श्रेष्ठले मुस्किलले विफल पारे । खेलको ६७ औँ मिनेटमा आर्मीका अमृत बस्नेतले हानेको हेड बललाई थ्रि–स्टारका किपरले क्लियर गरे भने ६९औं मिनेटमा बस्नेतले नै वान बाई वानमा डि–एरिया भित्रबाट गरेको प्रहारले गोलपोष्टको दिशा लिन सकेन । ७२औं मिनेटमा भरत खवास र ७७औं मिनेटमा शेषराज महतो पनि डिबक्समा पाएको सुन्दर अवसरलाई सदुपयोग गर्न चुके । 
यता, खेल अवधिभर आर्मी भन्दा केही कमजोर देखिएको तर टेक्निकल गम खेलेको थ्रीस्टारले पनि पाउका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताको पहिलो चरणबाटै बाहिरियो । खेलको १८औं मिनेटमा कर्नर एरियाबाट अनिल ओझाले लिएको आकर्षक पासलाई अफ्रिकन सेगुनले गोल गर्न सकेनन् ।    २८ओं मिनेटमा  दिपक राईले डी एरिया नजिकबाट हानेको प्रहारल पनि गोलपोष्टको दिशा लिन सकेन भने ३२औं मिनेटमा डिबक्स नजिकैबाट पाएको सुन्दर अवसरलाई गोलमा परिणत गर्न सेगुन नै चुके । खेलको ६४औं मिनेटमा डिएरिया नजिकैबाट अनिल ओझाले हानेको सशक्त प्रहारलाई आर्मीका गोलरक्षक सुशिल श्रीवास्तव बाधक बने । यस्तै खेलको ७०औं मिनेटमा आर्मीका गोलरक्षक श्रीवास्तव बिट भैसकेको अवस्थामा पनि गोल गर्न सेगुन चुके । डिएरियाको मध्यभागबाट उनले प्रहार बल गोलपोष्टको माथिल्लो बारमा लागेर पुनः मैदानमै फर्किएको थियो । खेलको ९३औं मिनेटमा पनि कर्नर प्रहारको बललाई डिएरियामा सरोज दाहालले सदुपयोग गर्न नसक्दा थ्रीस्टार पराजित बन्न पुग्यो  ।
थ्रीस्टारका टिम कोच राजेन्द्र तामाङले सेट टिम नभएका कारण सोचेअनुसारको प्रदर्शन हुन नसकेको बताए । उनले भने, ‘हाम्रा पुराना चार खेलाडी छैनन् र, एक गोलको हारजितलाई त्यस्तो ठूलो कुरा मान्नु पनि हुँदैन ।’ आर्मीका कोच मेघराज केसीले यसअघि थ्रीस्टारसँग आफ्नो टीमले खेलेका ६ वटा खेलमा चारवटा जितेको र दुइवटामा ड्र भएको बताए । उनले भने–‘थ्रीस्टार बलियो टीम हो, यो सजिलो जीत होइन ।’ प्रतियोगितामा मंगलबार  बंगलादेशको गजीरचट् स्पोर्टिब क्लव र झापा–११ बीच खेल हुँदैछ । 



Post a Comment

 
Top