0
गोल्डेन न्यूज संवाददाता
एन.आर.एन. अध्यक्ष शेष घलेले तमू सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालन गर्दै आएको गरिब तथा जेहेन्दार तमू विद्यार्थी छात्रवृत्तिका लागि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन्। लामो समयदेखि प्रतिष्ठानबारे चासो राख्दै आएका घलेले यस पटक सहयोग नै घोषणा गरेको तमू धीं यू.के.का संस्थापक अध्यक्ष मिन तमूले जानकारी दिए । प्रतिष्ठानले संञ्चालन गरेको उक्त छात्रवृत्ति कार्यक्रममा ग्रामिण भेगका विपन्न तमू विद्यार्थीहरुलाई छनौटको आधारमा छात्रवृत्ति प्रदान गर्ने गरिन्छ । हालसम्म कुल ११ जिल्लाका ४३ जना तमू बालबालिका यसबाट लाभान्वित भैरहेका छन् भने आगामी वर्ष देखि ४७ जनाले प्राप्त गर्ने छन् । 

त्यसै गरी ३६ जनाले एसएलसी. उत्तीर्ण गरिसकेका छन् । यसरी छात्रवृत्ति पाउने विद्यार्थीहरुले  निरन्तर रुपमा कक्षा ८,९ र १० मा वार्षिक ८ हजार रुपैयाँ छात्रवृत्ति रकम पाउने गर्दछ । देश विदेशमा रहेका संघ संस्था र ब्यक्तिहरुबाट स्थापित अक्षयकोषबाट यो कार्यक्रम सफलतापूर्वक संचालन भैरहेको प्रतिष्ठानका अध्यक्ष चिजकाजी तमूले जानकारी दिए ।

वि.सं. २०६५ सालदेखि संञ्चालित छात्रवृत्ति कार्यक्रममा तमू धीं यू.के.को संलग्नता सोही वर्षदेखि रहदै आएको छ । जसमा धींको उल्लेखनीय सहयोग रहँदै आएको छ । धींले आफ्नो वार्षिक क्यालेण्डरमा नै तमू सांस्कृतिक प्रतिष्ठान च्यारेटी डिनर कार्यक्रम राखेर हरेक वर्ष उल्लेखनीय रकम जम्मा गर्दै आइरहेको तमु धींका सल्लाहकार मे. डम्वर घलले बताए । 

अध्यक्ष घले बाहेक यस वर्षको च्यारेटी डिनरबाट अक्षयकोषमा सहयोग गर्नेहरुमा जुम काजी तमू ,आस बाहादुर तमू, कमल तमू, प्रितम्बर तमू, सोम बहादुर तमू, प्रकास तमू, देउकाजी तमू र तमू धीं यू.के. रहेका छन् । जसबाट यस वर्ष १८ लाख रुपैयाँको अक्षयकोष संकलन गर्न तमू धीं यू.के. सफलल भएको छ । आगामी बुधबार हुने प्रतिष्ठानको १५औं वार्षिकोत्सव कार्यक्रममा तमू धीं यू.केंका प्रतिनिधिद्वारा रकम हस्तान्तरण गरिने बताएन्छ ।





Post a Comment

 
Top