0
भूकम्प र नाकाबन्दीले पर्यटन गतिविधि सुस्ताएको बेला लमजुङको गिलुङ गाउँ भने फुटबलबाट पर्यटक भित्र्याउन लागि परेको छ । गिलुङको चिसापानीस्थित मिलन युवा क्लवले आन्तरिक पर्यटक भित्र्याउन बर्षेनी फुटवल प्रतियोगिताको आयोजना गर्दै आएको छ । सोही फुटवल प्रतियोगिता आज शनिबारदेखि पर्यटकीय गाउँ गिलुङमा सुरु हुँदैछ । क्वोइ च्हों देवी खुल्ला पुरुष तथा महिला नकआउट फुटवल प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा कास्की, लमजुङ र तनहुँबाट आउने दर्शकको भिड हुने गरेको क्लवका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘दर्शकहरु फुटवलको फाईनलसम्मै बस्ने भएकोले गिलुङको पर्यटनमा सहयोग पुगेको छ’, उनले भने ।
 क्लवले स्थानीय बुद्धोदय उच्च माविको ४१ औं बार्षिकोत्सवका अवसरमा प्रतियोगिताको आयोजना गर्दै आएको हो । गाउँस्तरमा हुने फुटवल प्रतियोगितामा आकर्षक पुरस्कार रहेकोले पनि करिब २० टिमको सहभागिता रहने अध्यक्ष गुरुङ बताए । पुरुष फुटवलतर्फ प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला फुटवल प्रतियोगितातर्फ प्रथम हुने टिमलाई नगद १५ हजार रुपैयाँ र द्वितीय हुने टिमलाई नगद ७ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता रहने प्रतियोगितामा गतवर्ष सहभागि १७ टिमलाई हराउँदै लमजुङको करापुटारस्थित रामबजार क्लवले उपाधि जितेको थियो । विद्यालयको वार्षिकोत्सव समारोहमा माघ ६ गते विजयी टिमलाई पुरस्कार वितरण गरिने क्लवका अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगिताका अवसरमा क्लवले विविध साँस्कृति कार्यक्रम पनि आयोजना गर्ने उनले बताए ।
गिलुङको पर्यटन प्रवद्र्धनमा फुटवल प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको लायन्स क्लव अफ अन्नपूर्णका पूर्वअध्यक्ष आशिष गुरुङले बताए । ‘गिलुङमा विगत दुई वर्षदेखि ३० घरमा होमस्टे समेत सञ्चालन गरिएको छ’, उनले भने, ‘फुटवल हेर्न आउने पाहुँनालाई बसोबासको लागि कुनै समस्या हुँदैन ।’ प्रतियोगिताकै अवसरमा गुरुङ संस्कृतिमा आधारित घाटु नाँच र कृष्णचरित्रको पनि प्रदर्शन गरिने गुरुङले जानकारी दिए ।
२०४२ सालमा स्थापित मिलन युवा क्लवले २०५४ सालदेखि खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लवले यहि वर्षदेखि महिला फुटवल प्रतियोगिता पनि समावेश गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक गिलुङ समाज, यूके रहेको छ । प्रतियोगिताका अन्य प्रायोजकहरुमा गिलुङ समाज, हङकङ, गिलुङ गाउँ सुधार सहयोग समिति, पोखरा र गिलुङ गाविस कार्यालय रहेका छन् ।











Post a Comment

 
Top